धरान/ धिमे बाजाको नाम मात्रै सुनेकी धरान–३ की १६ वर्षीया सविना तुलाधरले अहिले यो बाजा मज्जाले बजाउन थालेकी छन् । दुई महिना अघिसम्म उनलाई कस्तो होला, कसरी बजाइन्छ होला भन्ने लाग्थ्यो तर अहिले उनी धिमे बाजासँग परिचित मात्र भएकी छैनन्, नेवार जातिको सांस्कृतिक बाजा धिमेमा भिज्नसमेत थालेकी छन् । ‘तालिम लिनुपूर्वसम्म धिमे बाजा हुन्छ अरे भनेर सुनेकी मात्रै थिएँ’, उनी अनुभव सुनाउँछिन्, ‘तर दुई महिना सिकेपछि अहिले बाजा नै मज्जाले बजाउन थालेकी छु ।’ यो बाजाको नाम सुने तापनि नेवार समुदायका धेरै तन्नेरीहरुलाई बजाउने ज्ञान छैन । ‘सुनेको थिएँ तर बजाएको चाहिँ पहिलोपटक हो ।’ धरान–७ का १८ वर्षीय दीपेश तुलाधर भन्छन् । नेवारी कला–संस्कृतिप्रति ज्ञान बढ्दा अहिले उनीहरु खुसी छन् । यसअघि धिमे सामान्य बजाउन सिकेका धरान–४ की साक्षी ताम्राकार र धरान–३ का ओमप्रकाश शाही अहिले धिमेमा निपुण बनेका छन् । उनीहरुमा रहेको बाजा बजाउने छट्पटी अब पूरा भएको छ । दुई महिनाको सिकाइले उनीहरु पोख्त मात्रै बनेका छैनन्, अब जुनसुकै ठाउँमा पनि बजाउन सक्नेमा ढुक्क छन् । ‘पहिला सिक्यौँ तर बजाउन राम्रोसँग आउँदैनथ्यो’, ताम्राकार भन्छिन्, ‘अब त जहाँसुकै पनि बजाउन सक्छु ।’ yuba pusta नेवारी चाडपर्वहरुमा यो बाजालाई अनिवार्य मानिन्छ । यसलाई संसारकै सबैभन्दा पुरानो बाजा मानिन्छ । हिन्दू धर्मशास्त्रअनुसार यो बाजा भगवान् शिवले बजाउने गर्दथे । हरेकजसो चाडपर्वमा बजाइए पनि यस अघिसम्म धरानमा यो बजाउन जान्ने १५ जनासम्म मात्र रहेको आयोजक नेवाः देय दबूका नगर अध्यक्ष अनिल मास्के बताउँछन् । विशेष गरी तन्नेरी पुस्ताले यो बाजा बजाउन सिकेमा आउने पिढीका लागि पनि राम्रो हुने उनको तर्क छ । ‘युवाहरुले सिकेमा भावी पिढीका लागि पनि राम्रो हुन्छ भनेर नै यो तालिम प्रदान गरेका हौँ ।’ दुई महिनासम्म दिइएको तालिममा धिमेसँगै बाँसुरी बजाउने र नेवारी सांस्कृतिक नृत्यको तालिमसमेत दिइएको थियो । नयाँ पुस्तामा भएको नेवारी संस्कृति मोह उनीहरुको भनाइबाटै खुल्थ्यो । धरान–१० का उज्ज्वल हलवाईले भने, ‘आप्mनो भाषा, संस्कृति बिर्सियौँ भने हामी नै रहँदैनौँ । त्यसैले पनि आप्mनो भाषा–संस्कृतिको बचाउमा युवाहरुले लाग्नुपर्छ ।’ संस्कृति अस्तित्वमा रहे मात्रै समुदाय रहने धरान–३ की श्वेता शाक्य बताउँछिन् । उनी पनि अहिले धिमे बजाउन निपुण भएकी छन् । ‘सिक्दा सबै चीज आउने रहेछ’, उनी भन्छिन्, ‘कलाको जगेर्नाका लागि पनि बाजा सिकेको हो ।’ अधिकांश भर्खरै एसएलसी गरेका र केही प्लस टु अध्ययन गरिरहेका युवायुवतीले पनि यो ज्ञान लिएका थिए । झण्डै ५० जना प्रशिक्षार्थी तालिममा सहभागी थिए । २०६८ को जनगणनाअनुसार नेवारहरुको जनसङ्ख्या झण्डै साढे १३ लाख छ । यो कुल जनसङ्ख्याको चार प्रतिशत हो । नेवार बाहुल्य क्षेत्रहरुमा यो बाजा बजाउने प्रचलन छ ।