धरान/ माध्यमिक विद्यालयहरूमा दिइने दरबन्दी व्यवस्थापनमा सुनसरी जिल्ला शिक्षा कार्यालयबाट गम्भीर लापरवाही भएको खुलासा भएको छ ।
जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कलाई आधार मान्दा धरान–२७ को ज्वालामुखी माविले २०६६ सालमा मावि तहको शिक्षकका लागि शिक्षा कार्यालयबाट अनुमति पाए पनि विद्यालयले मावि शिक्षकको दरबन्दी अहिलेसम्म पाएको छैन । राहतमा एकजना शिक्षक छन् । त्यसैबाट माविको पठनपाठन चलिरहेको छ ।
त्यहाँ प्रावि र निमाविका नौजना शिक्षक छन् । यीमध्ये स्थायी दुईजना र बाँकी सातजना राहतमा छन् ।
सुनसरीमा यस्तो समस्या ज्वालामुखीको मात्र होइन, जिल्लाका २२ वटा माविमा मावि तहका शिक्षक एक जना मात्र छन् । शिक्षा नियमावली २०५९ का आधारमा माध्यमिक तहको अनुमति प्राप्त विद्यालयले कम्तीमा चारवटा दरबन्दी पाउनुपर्दछ ।
सुनसरीमै यस्ता माविहरू पनि छन्, जहाँ मावि शिक्षक एकजना पनि छैन । हालसम्म एकजना पनि मावि शिक्षक नभएका विद्यालयहरूमा पूर्वकुसाहाको हिमालय आदर्श मावि, हरिपुरको कौशी जनता मावि, मध्यहर्साहीको जनता मावि र कप्तानगञ्जको पञ्चोसिमर माविहरू हुन् । ‘कतिपय स्कुलहरूमा त मावि शिक्षक नै छैनन् ।’ जिल्ला शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदी आपैंm स्वीकार गर्छन् ।
कसैलाई काखा, कसैलाई पाखा
शिक्षा कार्यालयकै दरबन्दीको विवरण हेर्ने हो भने २० वटा मावि तथा उच्च माविहरूमा चाहिनेभन्दा बढी दरबन्दी दिइएको छ । इनरुवाको भगवती माविलाई लिन सकिन्छ, जहाँ नौजना मावि स्तरका स्थायी शिक्षक छन् । त्यस्तै, धरानको शिक्षा सदनमा आठजना स्थायी र एक अस्थायी गरेर नौजना, पब्लिक उच्च माविमा आठ स्थायी र दुई अस्थायी गरेर १० जना, चन्द्र संस्कृत उच्च माविमा सात स्थायी र दुई राहत गरी नौजना, शारदा बालिका नमूना उच्च माविमा आठ स्थायी र एक अस्थायी गरी नौजना र उच्च माविका लागि अलग्गै दुईजनाको दरबन्दी दिइएको छ ।
‘दरबन्दी मिलान गर्ने अधिकार हामीलाई हुँदैन । यो त स्थानीय विकास अधिकारीको संयोजकत्वमा रहेको शिक्षा समितिले गर्दछ ।’ जिशिअ सुवेदी सहजै उत्तर दिन्छन् । तर, कतिपय माविमा पनि दरबन्दी नहुँदा प्रावि र निमाविका शिक्षकहरू तथा कर्मचारीहरूबाट काम चलाइरहनु परिरहेको छ ।
‘प्रावि शिक्षकहरूको भरमा यो स्कुल चलेको छ । मावि दरबन्दीका लागि पहल गर्दा सुनुवाइ नै भएको छैन’, ज्वालामुखी माविका प्रधानाध्यापक भरत खत्री भन्छन्, ‘कर्मचारीको काम पनि आपैंm गर्नु परिरहेको छ । दोहोरो भार खेप्न बाध्य छौँं ।’
असमान दरबन्दी प्रणाली
दरबन्दीमा यति धेरै असमानता भए पनि हालसम्म जिशिकाले ध्यान दिएको पाइँदैन । कतिपय माध्यमिक विद्यालयमा मावि शिक्षक छँदै छैनन् । शिक्षा समितिका संयोजक रहेका स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले जिशिकाले जानकारी नदिएसम्म आपूmहरूले कुन विद्यालयमा दरबन्दी छ, कुनमा छैन भन्ने कुराको ज्ञान नहुने बताउँछन् ।
कुनमा कति दरबन्दी
धरान–२२ देउरालीको हिमाली मावि, पञ्चकन्या मावि, किराँतेश्वर मावि, वराहक्षेत्रको औलिया मावि, भरौलका जनता मावि र सरस्वती मावि, महेन्द्रनगरको कोशी मावि, महेन्द्रनगरको महेन्द्र मावि, मधुवनको मोहन मावि, प्रकाशपुरको सरस्वती मावि, चाँदबेलाको नेपाल राष्ट्रिय हरि मावि, डुम्राहाको शनिश्चरे मावि, बकलौरीको पञ्चायत मावि कुमारखत, भासिको पञ्चायत मावि, एकम्बाको शम्भुनाथ मावि, अमडुवाको जनकल्याण मावि, अमडुवाको नेपाल राष्ट्रिय शिव मावि, गौतमपुरको जनता मावि, लौकहीको राष्ट्रिय मावि भन्सार, पूर्वकुसाहाको राष्ट्रिय मावि र श्रीपुरजब्दीको राष्ट्रिय माविमा हरेकमा एकजना मात्र मावि शिक्षक छन् । कुनै विद्यालयमा स्थायी छन् भने कुनैमा अस्थायी र कुनैमा राहत शिक्षक छन् ।
पूर्वकुसाहाको कोशी मावि, राजगञ्ज बेलगछियाको नवदुर्गा मावि, पूर्वकुसाहाको साल्पा मावि, इटहरीको कबिर मावि, हाँसपोसाको जब्दी मावि, भासिको शिवनगर मावि, भरौलको महेन्द्र मावि, भानुस्मृति माविमा दुई–दुईजना मावि शिक्षकहरूले काम चलाइरहेका छन् ।
यता धरानका ल्याबरेटरी उच्च मावि, फुस्रेको पब्लिक मावि, वराहक्षेत्रको आदर्श उच्च मावि, महेन्द्रनगरको उच्च मावि, मधुवनको जनता उच्च मावि, बलाहाको शारदा बालिका, झुम्काको भासि उच्च मावि, मधेसाको जनता उच्च मावि, इटहरीको जनता उच्च मावि, खनारको शारदा उच्च मावि, सोनापुरको विष्णु उच्च मावि, भीमनगरको रामसीता उच्च मावि, हरिनगराको हरिनगरा उच्च माविमा शिक्षा ऐनले तोकेभन्दा बढी दरबन्दी छन् । उच्च माविहरूमा छुट्टै दरबन्दीसमेत दिइएको छ ।