हुम्ला / नेपालका दुर्गम क्षेत्रमा कार्यरत डाक्टरले बिरामीको जीवन रक्षाका लागि आफ्नो सीपको मात्रै प्रयोग गरेर पुग्दैन, अन्य विभिन्न भूमिका पनि निर्वाह गर्नुपर्छ ।
कर्णाली अञ्चलमा रहेको हुम्ला जिल्ला अस्पतालमा कार्यरत डाक्टर केशव भट्टराईले शल्यक्रियपछि आवश्यक हुनसक्ने रगत आफैंले दान गरे, एनेस्थेसिया दिए र जटिल शल्यक्रिया गरे ।
अत्याधिक रक्तश्राव भएकी एक गर्भवती महिलाको जीवन जोगाउन उनले गरेको यो प्रयत्नको धेरैले प्रशंसा गरेका छन् । इमर्जेन्सी रुपमा रगत चाहिने भन्दै रगत दान गरे र अस्पतालमा सहायक एनेस्थेसियोलोजिष्ट नभएका कारण डा। भट्टराई आफैँले एनेस्थेसिया दिए ।
बच्चा भन्दा पहिला साल बाहिर आउने समस्या (प्लासान्ट प्रिभिया) का कारण अत्याधिक रक्तश्राव भएकी हुम्लाकी ३३ वर्षिया धनशोभा सुनारको सफल शल्यक्रिया भएको हो । शल्यक्रियापछि आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो रहेको डा। भट्टराईले जानकारी दिए ।
स्वास्थ्य खबरपत्रिकामा समाचार छ ।
शुक्रबार राती ११ बजे अस्पतालमा आएकी सुनारको बिहान ४ बजेपछि रक्तश्राव शुरु भएको थियो । समस्या जटिल देखिएका कारण अस्पतालले सुनारलाई पहिला नेपालगन्ज पठाउने तयारी गरेको थियो । तर, पानी परेका कारण हेलीकोप्टर समेत आउन नसकेको र प्लेन पनि आउने सम्भावना नभएपछि डा भट्टराईको टोलीलले स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार स्वास्थ्य महाशाखा प्रमुख डा। आरपी बिच्छा र क्षेत्रिय स्वास्थ्य कार्यलयको सुझाब बमोजिम परिवारसँगको सहमतीमा आफैँ रगत दान गरेर शल्यक्रिया गरेका हुन् ।
डा. भट्टराईसँगै सुनारलाई रगतको आवश्यकता पर्न सक्ने भन्दै नेपाली सेनाका थप तीनजनाले समेत रक्तदान गरेका छन् । शल्यक्रिया बिहान ८ बजेर ५६ मिनेट जाँदा शुरु भएको थियो । शल्यक्रियापछि ३२ सय ग्रामको शिशुको जन्म भएको छ । शल्यक्रियापछि रक्तश्राव रोकिएका कारण सुनारलाई अहिलेसम्म रगत चढाउनु पर्ने अवस्था नआएको डा। भट्टराईले बताए ।
‘चार पोका रगत तयारी अवस्थामा राखेका छौँ,’ उनले भने, ‘अहिले आमा र बच्चा दुबैको अवस्था राम्रो रहेकाले रगत चढाइहाल्नु पर्ने अवस्था देखिएको छैन ।’ उनले भोली रगतको मात्रा अध्ययन गरेर आवश्यक परेमा रगत चढाउने जानकारी दिए ।
हुम्लामा शल्यक्रिया मार्फत सुत्केरी गराइएको यो दोस्रो पटक हो । यसअघि डा। भट्टराईकै नेतृत्वमा गत फागुनमा १८ वर्षीया महिलाको शल्यक्रिया मार्फत बच्चा निकालिएको थियो ।