राजनीतिक अस्थिरता र देशको विकास
- असार ३१, २०७३
- ब्लाष्ट खबर
देशमा फेरि सत्ता समीकरणको खेल शुरु भएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले नौबुँदे लिखित सहमति र तीनबुँदे ‘भद्र सहमति’ कार्यान्वयन नगरेको भन्दै नेकपा माओवादी केन्द्रले सरकारबाट आप्mनो समर्थन फिर्ता लिएपछि यो खेल शुरु भएको हो । त्यसो त माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्री केपी ओलीविरुद्ध संसद् सचिवालयमा बुधबार नै अविश्वासको प्रस्ताव पनि दर्ता गराइसकेको छ ।
यो प्रस्ताव परिपक्व हुन सात दिन लाग्ने छ र त्यसपछि संसद्मा यसमाथि छलफल शुरु हुने छ ।
यसअघि पनि काङ्ग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले ‘भद्र सहमति’ कार्यान्वयन गर्न नचाहेको भन्दै काङ्ग्रेस र एमालेबीच अविश्वास सिर्जना भएको थियो । नैतिकता र इमानदारिताको अभाव नेपाली राजनीतिको सबैभन्दा कमजोर पक्ष हो । यसैकारण दलहरुबीच अविश्वासको खाडल गहिरिँदै जाँदा बारम्बार राजनीतिक अस्थिरता निम्तिने गरेको छ । देश एकपटक फेरि यसैको शिकार भएको छ । देशलाई विकास र समृद्धिको बाटोमा डो¥याउन संविधान कार्यान्वयन गर्दै असन्तुष्ट समुदायलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बेलामा फेरि राजनीतिक अस्थिरता सिर्जना भएको छ । यसले देशको गतिमा अवरोध सिर्जना गरेको छ ।
सरकार परिवर्तन नै समस्याको समाधान होइन । नयाँ सरकार गठन हुँदैमा देशका सबै समस्या समाधान नहुने निश्चित छ । प्रदेश सीमाङ्कनलगायतका माग राख्दै आदिवासी जनजाति, मधेशी, थारुलगायत अहिले पनि आन्दोलनरत् छन् । संविधानमा गरिएको व्यवस्थाअनुसार आगामी २०७४ माघ ४ गतेसम्म स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन गरिसक्नुपर्ने छ । अब जुनसुकै सरकार आए पनि उसका अगाडि यिनै चुनौती यथावत् रहने छन् ।
असन्तुष्ट समुदायलाई विश्वासमा लिएर देशलाई संविधान कार्यान्वयनको दिशामा लैजानु त्यति सहज छैन । आन्दोलनरत् आदिवासी जनजाति, मधेशी, थारुलगायत समुदायका माग सम्बोधन गर्न संविधान संशोधन गर्न एमालेको सहयोग आवश्यक पर्छ । एमालेको सहयोगविना देशका समस्या समाधान नहुने निश्चित छ । धोका र अविश्वासको यस्तो वातावरणमा दलहरुबीच सहमति र सहकार्यको सम्भावना देखिँदैन ।
आगामी माघ ४ गतेसम्म सबै निर्वाचन सम्पन्न गर्न पनि राष्ट्रिय सहमति आवश्यक पर्छ । त्यसो हुन नसकेमा देशमा फेरि संवैधानिक सङ्कट सिर्जना हुने छ । त्यसकारण हरेक दल र तिनका नेताले व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर देश र देशवासीलाई केन्द्रमा राख्नु आवश्यक छ । देशलाई लामो समयसम्म सङ्क्रमणकालमा अल्झाइराख्नु कसैको हितमा हुने छैन । यस विषयमा एकपटक सबैले गम्भीर हुनु अपेक्षित छ ।