नेपालमा राम्रा योजनाहरु बन्छन् । दीर्घकालीन वा अल्पकालीन जुनसुकै योजना भए पनि आकर्षक हुन्छन् तर ती योजनाहरु कार्यान्वयनको तहमा पुगेपछि असफल हुन्छन् । योजना कार्यान्वयन संयन्त्रको फितलो कार्य क्षमताका कारण पटक–पटक यस्ता समस्या दोहोरिने गरेका छन् । नेपालमा तोकिएकै अवधिमा योजना पूरा भएका उदाहरण कमै छन् । सरकारी निकायहरुमा गम्भीरताको अभाव, भ्रष्टाचार र कार्यान्वयन संयन्त्रको फितलो कार्य क्षमताका कारण यस्तो समस्या देखिएको हो ।
यिनै कारणले गर्दा बजेट फ्रिज हुने समस्या पनि देखिने गरेका छन् । बेला छँदै प्रक्रिया शुरु नगर्ने र समय घर्किसकेपछि प्रक्रियामा जाँदा समयमा काम गर्न नसकेर बजेट फ्रिज हुने गरेका छन् । त्यसो त जसोतसो बजेट सक्नकै लागि आर्थिक वर्षको अन्त्यमा हतार–हतार काम गर्ने प्रवृत्ति पनि सरकारी निकायका लागि नौलो होइन । हरेक आर्थिक वर्षको अन्त्यमा सरकारी कर्मचारीहरु व्यस्त देखिन्छन् । जसरी भए पनि बजेट सिध्याउनका लागि विभिन्न कार्यक्रम गर्दा सरकारी कर्मचारीहरुमा त्यस बेला कामको चाप बढेको देखिन्छ । तर यस्ता काम उपलब्धिमूलक भने हुँदैनन् । कार्यशाला, छलफल, सेमिनार आदि विभिन्न नाममा बजेट सक्ने काम गरिन्छन् । यसबाट कर्मचारीहरुका गोजी राम्रै गरी तात्तिने गर्छन् ।
त्यसो त आर्थिक वर्षको अन्त्यमा वर्षायाममा विकास निर्माणका काम पनि धमाधम गरिन्छन् । यस्ता कामहरु गुणस्तरयुक्त हुँदैनन् । यस्ता कामहरु सरकारी ढुकुटी रित्याउन मात्र उपयोगी हुन्छन् । वर्षभरि कानमा तेल हालेर वर्षको अन्त्यतिर मात्र सक्रिय हुने यो प्रवृत्तिको अन्त्य नभएसम्म योजनाको सफल कार्यान्वयन नहुने निश्चित छ । गुणस्तरयुक्त कामका लागि पनि सरकारी संयन्त्रहरुले बेलैमा सक्रियता देखाउनु आवश्यक छ । अन्यथा योजनाहरु असफल हुने क्रम नरोकिने निश्चित छ । पूर्वी नेपालका शहरहरुमा सौर्यबत्ती जडान गर्ने सरकारी योजना पनि यस्तै ढिलासुस्तीको शिकार भएको छ । यो योजनालाई सरकारले प्राथमिकतामा राखेको भए पनि समयमा काम हुन नसक्दा यसका लागि छुट्याइएको करोडौँ बजेट मन्त्रालयमा फिर्ता गएको छ । अर्थ मन्त्रालयले समयमै बजेट निकासा नगर्दा काम गर्न नसकिएको योजना प्राप्त गरेका नगरका कार्यकारी अधिकृतहरुले बताएका छन् । मन्त्रालयले किन बजेट ढिलो पठाएको हो ? बजेट ढिलो निकासा गर्दा प्रक्रिया पूरा गर्न समय नपुग्नेबारे मन्त्रालयलाई थाहा छैन ? यसलाई गम्भीरतापूर्वक लिइनुपर्छ । योजना बनाउँदा नै वैज्ञानिक हिसाबले समय छुट्याइनुपर्छ र तोकिएको समयमा योजना पूरा गर्नैपर्ने परम्पराको विकास गरिनुपर्छ । यसको शुरुआत माथिल्ले निकायबाटै हुनुपर्छ । त्यसपछि समयमा योजना पूरा नगर्ने निकायलाई कारवाहीको दायरामा ल्याए मात्र योजनाको सफल कार्यान्वयन हुने छ ।