इटहरी / काठमाडौंमा वाग्मती सफाई हुँदा सरकारको ध्यान पूर्णरुपमा खिचियो । मुख्य सचिवदेखि सामाजिक अभियन्ताहरु वाग्मती सफाईमा जुटे । जसको प्रचार पनि राम्रै भयो । तर, इटहरीमा पनि त्यो भन्दा अघिदेखि किप इटहरी क्लिनका अभियन्ताहरु बाग्मती सफाईलाई चुनौति दिने गरी इटहरी सफाई गर्दै आएका छन् । हरेक शनिबार उनीहरु सडक बढार्न व्यस्त हुन्छन् । जसको कारण इटहरी सफा क्षेत्र पनि घोषणा भयो । तर, यो अभियानलाई निरन्तरता दिन यहाँको उपमहानगरपालिकालेनै चासो दियो । नत यहाँका राजनीतिक दल र व्यवसायीले । नयाँ वर्ष २०७३ सालको शुभ विहानीमा इटहरी चौकका सडकमा यहाँका राजनीतिक दलका देखि विभिन्न संघ संस्थाका मानिसहरु कुटो र खरेटो लिएर निस्किएका थिए । उनीहरुले इटहरी चौक सफा पनि गरे । त्यस पछि पनि सफाइ अभियान चलिरहयो । उनीहरुको फाटफुट सहभागिता बाहेक नीतिगत तहमा तीन वर्षदेखि चलेको इटहरी सफाइ अभियानले निकास पाउन सकेको छैन । यिनै किप इटहरी क्लिन (केआइसी)का अभियन्ताहरुको अगुवाईमा खोर्सानेखापमा होमस्टेको योजना बनाइयो । अहिले श्रोतमै फोहोर व्यवस्थापनको पहल पनि भयो । तर, नगरपालिकाले ध्यान नदिदा योजना अभियन्ताहरुमै सिमित भएझै भएको छ । नगरपालिकाबाट चासो नदिँदा फोहोर व्यवस्थापनमा अझै समस्या हुने देखिएको छ । ‘स्रोतमै फोहोर व्यवस्थापन गर्नसके बजारमा फोहोर व्यवस्थापनका समस्या आधा घट्छ’ किप इटहरी क्लिनका अभियन्ता दिव्य गुरुङले भने ‘हामीले त्यही अभियानलाई तालिम मार्फत प्रचार गर्दैछौं ।’ घरबाट निस्कने फोहोरबाट कम्पोष्ट मल बनाउने र त्यसको आम्दानी इटहरीबासीले नै पाउने भएकाले यो अभियान सञ्चालन गर्न सके पूर्वमै राम्रो प्रयास हुने अभियन्ताहरुले बताएका छन् । वातावरण मैत्री स्थानीय शासन प्रारुप २०७० को कार्यदिशाअनुसार कार्यक्रम गर्न नगरपलिका छँदा काम थालिए पनि उपमहानगरपालिका भएपछि काम अघि बढ्न सकेको छैन । केआइसीको अगुवाईमा इटहरीलाई वातावरण मैत्री नगरका रुपमा विकास गर्न इटहरीमा बिरुवा वितरण गरिए पनि अनुगमन भएको छैन । इटहरीलाई हरियाली बनाउने अभियानमा इटहरी नगरपालिका, उद्योग वाणिज्य संघ र किप इटहरी क्लिनको सहकार्यमा आयुर्वेदिक औषधीका रुपमा पनि उपयोग हुने अमला, निम, कपुर, समी र बेलजस्ता बिरुवा रोपिएको भए पनि संरक्षण भएको छैन । यता, इटहरीमा शहरीकरणसँगै फोहोर व्यवस्थापनका ठूलो समस्या हुन थालेको छ । थालिएको ल्याण्डफिल्ड साइडको काम सक्न अझै समय लाग्ने हुँदा इटहरीको फोहोर व्यवस्थापन हुन सकेको छैन । नियमित रुपमा फोहोर उठ्न नसक्दा बजार दुर्गन्धित बन्न थालेको छ । यतिबेला इटहरी उपमहानगरपालिका र फोहोर व्यवस्थापनको जिम्मा लिएको इन्भारो केयर कन्र्सनले उचित फोहोर व्यवस्थापनका लागि दैनिक पहल गर्नुपर्ने अवस्था आएको छ । ल्याण्डफिल साइडको व्यवस्थापन नहनुसम्मका लागि फोहोर व्यवस्थापनको लागि उचित स्थान नपाउँदा इटहरी उपमहानगरपालिका नगरबासीमाझ लाचार झैं बनेको छ । चार महिनादेखि इटहरी–२ आयुर्वेदिक टोलमा पर्ने सुवेदी कल्याण प्रतिष्ठान आसपासको जग्गामा फोहोर व्यवस्थापन गर्न थालिएको छ । फोहोर व्यवस्थापनको काम गर्नु पर्नेमा कीप इटहरी क्लिनका अभियन्ता निराजन खड्का बताउँछन् । साबिकको खनार गाविस हाल इटहरी उपमहानगरपालिका–१० मा पर्ने ऐलानी जग्गालाई उपयोग गरी डम्पिङ साइट निर्माण गर्न उपमहानगरपालिकाले काम सुरु पनि पूरा हुन अझै एक÷डेढ वर्ष लाग्ने उपमहानगरपालिकाका इन्जिनियर एवम् वातावरण शाखा प्रमुख जीवन घिमिरेले बताए । इटहरी उपमहानगरपालिका क्षेत्रमा दैनिक २० टन फोहोर जम्मा हुने भएपनि दैनिक १५ टन फोहोर मात्र सो कन्सर्नले उठाउने गरेको छ । इटहरी क्षेत्रका हरेक घरका पm्लाटसँग मासिक ६० रुपैयाँका दरले रकम उठाउने गरेको छ । त्यस बाहेक ठूला होटल तथा रेष्टुराँहरुको २ सय ५०, साना होटहरुको १ सय, किराना पसलहरुको ६० रुपैया, क्लिनिक र ल्याबका लागि ५ सय, डाक्टर सहितको अस्पातलको २ हजार, फर्निचर पसलको १ सय रुपैयाँका दरले रकम उठाउँदै आएको छ ।