masya-pokhari सङ्खुवासभा /  नाम मात्र हैन माछै–माछाले भरिपूर्ण प्राकृतिक मत्स्यपोखरी हेर्न आउनेको घुइँचो लाग्न थालेको छ । देश तथा विदेशबाट समेत पानीको मुहानसँगै सदियौंदेखि जमेको पोखरीमा रहेको माछा हेर्न आउनेको लश्कर लाग्न थालेको हो । गाउँ विकास समितिको नाम समेत यसै पोखरीको नामबाट मत्स्यपोखरी नामाकरण गरिएको हो । सय मिटर लामो र ५० मिटर चौडा पैmलिएर रहेको पोखरीमा माछाको परिणाम यकिन गर्न सकिन्न । एक दर्जन प्रकारका माछा यस पोखरीमा पाइन्छ । विशेषगरी स्थानीय जातका असला माछा बढी पाइन्छ । माछाले हुल हिँडेकै देखेर पर्यटकहरु रमाउने गर्छ । व्यावसायिक रुपमा गरिएको माछापालनभन्दा पनि पत्याउनै गाह्रो हुने गरी यस क्षेत्रमा असङ्ख्यमात्रामा माछा छ । प्रकृति, कूलदेवता रिसाउने र प्रमाणकै रुपमा पनि घटना घटेकाले माछाको संरक्षण गर्ने गरेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक केशरबहादुर विश्वकर्माले बताए । असला रातो सिउर भएको र मौसमनुसार रङ परिवर्तन गर्ने एक दर्जनभन्दा बढी प्रजातिका माछा यस पोखरीमा पाइने गरिन्छ । द्वन्द्वताका २०६० सालमा विद्रोही पक्ष माओवादीले माछा निpokhariकालेर खाएको र माछा निकाल्ने व्यक्ति तत्काल मृत्यु भएको पोखरी संरक्षण समितिका अध्यक्ष टङ्कबहादुर गुरुङले बताए । ‘पत्याउनै गाह्रो छ’, उनले भने, ‘माछा खाएपछि गाउँमा असिनापानी, हावाहुण्डरी आएर प्राकृतिक अनावृष्टि हँुदैआएको छ ।’ प्राकृतिक महत्व पनि उत्तिकै भएको यो पोखरीको संरक्षण गर्न स्थानीयबासी जागरुक भएका छन् । माछाको संरक्षणसँगै माछाले देखाउने खेल र माछापोखरी हेर्न केही वर्ष यतादेखि दैनिक सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचोनै लाग्ने गरेको छ । प्रचारप्रसारको अभावले माछापोखरी ओझेलमा परेको भन्दै पोखरी संरक्षण र यसको महत्वप्रति स्थानीयको सक्रियता बढ्दै गएको छ । मत्स्यपोखरी गाविसको वडा नं. ५ स्थित यो पोखरी एक हजार पाँच सयको उचाइमा छ । शिरमा रहेको चर्चित कप्दाने पोखरी पानी भासिएर यो पोखरीमा आउने गरेको अग्रजहरु बताउँछन् । पोखरीको संरक्षणमा एउटा चरो रहेको र चरोले पातपतिङ्गर टिप्ने गरेको स्थानीयहरु बताउँछन् । पोखरीबाट बगेको पानी कोदाङखोलाहँुदै लङखुवा खोलामा मिसिने गरेको छ । साँस्कृतिक, प्राकृतिक र पर्यटकीय क्षेत्रमा पनि उल्लेख्य सम्भावना रहेको पोखरीको संरक्षण गर्न स्थानीयबासीले माग गर्दैआएका छन् । यस क्षेत्रमा वार्षिक दुईपटक पोखरीमा पूजा र मेला लाग्ने गरेको छ । प्राकृतिक रुपमा पाइने माछा चोरिने त्राससँगै पोखरीको संरक्षण गर्नु प्रत्येक वर्ष गाविसबाट थोरै रकम उपलब्ध गराउने गरेको तर अपुग भएको संरक्षण समितिले जनायो । पोखरीको संरक्षण गरी पर्यटकीय क्षेत्रमा विकास गर्न राज्यसँग समितिले माग गरेको छ । यता मत्स्यपोखरीका गाविस सचिव राजेन्द्र घिमिरेले भने स्थानीयको माग र आवश्यकता अनुसार वार्षिक बजेट उपलब्ध गराउँदै आएको बताए । उनी थप संरक्षणमा सहयोग गर्न जिविस, पर्यटन मन्त्रालयले पनि चासो दिनु आवश्यक रहेको बताउँछन् ।