सङ्खुवासभा / कोशी लोकमार्ग (जोगबनी–किमाथाङ्का ३७६ किलोमिटर) अन्तर्गतका सडकमा कालोपत्रे सम्पन्न भए पनि दुर्घटनाको सङ्ख्या बढ्दै गएको छ । कोशी मार्ग विस्तारको जिम्मा सडक विभागले एशियाली विकास बैङ्क (एडिबी) लाई दिई तेह्रथुमको वसन्तपुरदेखि खाँदबारीसम्म कालोपत्रे सम्पन्न भएको छ । तर लोकमार्ग मापदण्डमा नभई सिङ्गल लेनमा गरेपछि झन् समस्या भएको स्थानीयको गुनासो छ ।
वसन्तपुरदेखि चैनपुरसम्म ५१ किलोमिटर सडकमा बट्टासिल (ग्राभेल) सम्पन्न भएको छ । चैनपुरदेखि सभाखोलासम्मको २५ किलोमिटर र सभाखोलादेखि खाँदबारीसम्म १८ किलोमिटर सडक तीन मिटर चौडाइमा कालोपत्रे सम्पन्न भएको हो । ‘सडकमा गाडी कुदाउन समस्या छ, क्रस हुन सक्दैन’, चालक आङदेण्डी शेर्पाले भने, ‘दैनिकजसो दुर्घटना हुने गर्छ ।’ यसै रुटमा गाडी चलाइरहेका शेर्पाले कोशी लोकमार्ग नामकरण गरिए पनि सडकमा ‘सिङ्गल लेन’ (तीन मिटर) मात्र कालोपत्रे गरिएकाले दुर्घटना बढी हुने र लामो रुटका यातायात दोहोरो गुड्न समस्या भएको बताए ।
सडक कालोपत्रे गर्ने काम सक्न नपाउँदै चैनपुर–खाँदबारी खण्डमा दर्जनभन्दा बढी दुर्घटना भइसकेका छन् । सडकको चौडाइ नपुगेपछि तीव्र गतिमा आएको गाडीले बाटो नपाउँदा बढी दुर्घटना हुने गरेको स्थानीय चिरन राईले बताए । सडकको चौडाइ लोकमार्गको मापदण्डअनुसार नभएको उनको भनाइ छ । ‘बरु त्यही रकमबाट क्रमशः डबल लेनको कालोपत्रे गरिएको भए राम्रो हुने थियो ।’ राईले भने । सडकको स्टिमेट नै गलत भएको यातायात मजदुरको भनाइ छ । नेपाल स्वतन्त्र मजदुर युनियनका केन्द्रीय सदस्य राजेन्द्र लिम्बू सडक जनहितमा नभएको बताए । ‘कम्तीमा स्टिमेट गर्नेले विचार पु¥याउनुपथ्र्यो’, उनले भने, ‘यो त केही दिनका लागि हैन, लोकमार्ग हो । त्यसकै स्तरमा हुनुपर्छ । यो लोकमार्ग नेपालका दुई छिमेकी राष्ट्र भारतको जोगबनी र चीनको स्वशासित क्षेत्र तिब्बतलाई जोड्ने एक मात्र छोटो मार्ग हो ।
सडकमा निगरानी गरिरहेको उत्तर–दक्षिण कोशी सडक आयोजनाका इन्जिनियर विनोदप्रसाद सापकोटा भने सडकको डिजाइन पुरानो भएकोले लोकमार्ग स्तरको नभएकोे बताए । ‘अब विस्तार हुने सडक सबै लोकमार्ग स्तरमै हुनु आवश्यक छ, हामीले पनि पहल शुरु गरेका छौँ ।’ उनले भने । सडक विभागले सडक कालोपत्रेका क्रममा लोकमार्गको स्तर चिन्न नसकेको एमालेका जिल्ला सचिव खड्ग राई बताउँछन् । उनले बाँकी सडक लोकमार्गकै स्तरमा बन्नुपर्ने र निर्माण भइसकेको सडक पुनःनिर्माण गरिनुपर्ने माग राखे । सडक साँघुरो भएका कारण ठूला सवारी साधन नआउनाले जिल्लाको उद्योग–व्यवसायलाई नोक्सान पुगेको उनको भनाइ छ । एडिबीका एक अधिकारले भने सडकको डिजाइन सडक विभागले गरेको भन्दै कुनै प्रतिक्रिया दिन मानेनन् ।
उत्तर–दक्षिण कोशी सडक आयोजनाले खाँदबारीबाट कुवापानीसम्म २७ किलोमिटर सडक चार वर्षअगाडि नै ग्राभेलको जिम्मा दिएको थियो तर सम्पन्न हुन सकेको छैन । उता कुवापानीदेखि एकुवासम्म ३७ किलोमिटर र किमाथाङ्काबाट चेपुवाको छुमसुरसम्म २१ किमि बाटोको ट्रयाक खुल्दैछ । बाँकी ट्रयाक खोल्न एकुवाबाट हटियाको पेजुङ खोलासम्म ४१ किमि सडक निर्माण बाँकी छ । बाँकी सडक लोकमार्गकै स्तरमा निर्माण गरिनुपर्ने माग जिल्लावासीले गरेका छन् ।