धरान/साउनको तेस्रो सोमबार गेरु वस्त्रधारीको भीडमा भेटिएकी पथरी शनिश्चरे–१४ की रमा परियार यो पटकसम्म गरेर तीनपटक धरानको पिण्डेश्वरमा जल चढाउन आएकी हुन् । हरेकपटक बोलबम आउनुअघि उनी गाउँघरमा खाली खुट्टा हिँड्ने अभ्यास गर्थिन् । पहिलोपटक एक महिनाजति खाली खुट्टा हिँड्न अभ्यास गरेकी परियारले आप्mनो कष्ट भुलेर यसपटक पनि जल चढाइन् । इच्छाएको पुग्ने सोचेरै हरेक वर्ष उनले चतराबाट पानी ल्याएर पिण्डेश्वर मन्दिरमा चढाउने गरेकी छन् । ‘खुट्टा औधी दुखे पनि, पोले पनि त्यो दुःख जल चढाइसकेपछि लगभग भुलिन्छ’, भन्छिन्, ‘दुख्नु त कति हो कति । तर, यहाँ आइपुगेपछि भुलिन्छ ।’ साउनको सोमबार धरानको पिण्डेश्वर मन्दिरमा गेरु वस्त्रधारीको भीडभाड हुने गर्छ । जल चढाइसकेपछि मन्दिर परिसरमा भेटिएकी परियारले आमाको इच्छा पनि गएको दुई वर्षदेखि पूरा गर्दै आइरहेकी छन् । bolbam धुलाबारी नगरपालिका–१ मा बस्दैआएकी आमा ८० वर्षीया धनमाया दर्जीलाई धाममा पु¥याउने उहिलेदेखिको इच्छाले पनि रमा कष्ट मोल्न तयारभैंm थिइन् । ‘दुःख त हुन्छ नै बाबु’, जल चढाइवरी थकाइ मार्न बसेकी धनमायाले मुख खोलिन्, ‘तर, भगवानले चाहेको पु¥याइदेला नै भनेर दुःख गरी आइपुगेका छौं ।’ मन्दिर तथा धामहरुमा खाली खुट्टा गएमात्रै भगवानले इच्छा पूरा गरिदिने विश्वास लिएर पथरी शनिश्चरे–११ की निसमाया तामाङ पनि पहिलोपटक पिण्डेश्वरमा जल चढाउँदै थिइन् । खाली खुट्टा हिँड्दा कतिको कष्ट हुन्छ भन्ने जिज्ञासामा उनले मुख खोलिन्, ‘कष्ट मात्रै हैन, रुनमात्रै सकिँदैन ।’ सोचेको कुरा पुग्छ रे भन्ने सुनेकी तामाङले आप्mनो दुःख भुलाउँदै पानी चढाइन् । यस्तै लाइनमा उभिनेमध्येका इटहरी–२ बरगाछीका नवराज पोखरेल खुट्टामा चोट लागेपनि पानी चढाउनमा व्यस्त देखिए । चोट कसरी भयो भन्ने जिज्ञासा राख्न नपाउँदै उनले भने, ‘पानी भर्ने बेला चतरामै ढुङ्गाले काट्यो ।’ त्यो कष्टलाई भुल्दै उनी बिहानै जल चढाउनको लागि पिण्डेश्वर आइपुगेका थिए । चतरादेखि धरानसम्म आउँदा कष्ट भएपनि मन्दिरमा आइसकेपछि त्यो कष्ट भुलेको उनले बताए । ‘अहिले सन्तुष्ट छु । धाममा आउँदा–जाँदा अलिअलि कष्ट सहनु पनि पर्छ’, उनी भन्दै थिए । पोखरेल पहिले पहिले साता–दश दिनसम्म खाली खुट्टा हिँड्ने अभ्यास गरी आउने गरेका थिए । अभ्यास हुनेगरेकै कारण उति कष्ट हुँदैन थियो । तर, यो पटक खाली खुट्टा हिँड्ने अभ्यास नगरी आएको बताउँछन् । जसको कारणले खुट्टासमेत काट्यो । ब्याण्डेज लगाएपनि उनले त्यो दुःखलाई भुलिरहेका थिए । सोचेको जस्तो भएकाले पथरी शनिश्चरे–११ की मीना माझी चौथोपटक पिण्डेश्वरमा जल चढाउन आइपुगिन् । उनी पनि शुरुशुरुमा केही दिन खाली खुट्टा हिँड्ने अभ्यास गरेपनि यसपटक भने त्यो अभ्यास नगरी जल चढाउन आइपुगिन् । जसका कारण विगतभन्दा यो वर्ष केही गाह्रो भएजस्तो महसूस भएको बताउँछिन् । दुःख भएपनि सोचेको पूरा भएकैले उनी पनि खुशी छिन् । पिण्डेश्वर धाममा २०३९ सालदेखि निरन्तर जल चढाउन थालिएको हो । तर, व्यवस्थित भने भर्खरै हुन थालेको छ । गएको डेढ दशकदेखि पिण्डेश्वरमा समेत बोलबमको महत्व बढेर गएको छ । हरेक वर्ष भक्तालुहरु बढिरहेको अनुमान पिण्डेश्वर बाबाधाम समितिका सदस्य विकासकुमार बनेपाली गर्छन् । ‘यसपटक पाँचवटा सोमबार पनि परेको छ । र, भीडसमेत बढेको छ’, उनले भने, ‘आज राति १२ बजेदेखि नै ढोका खोलेका थियौं ।’ पिण्डेश्वर रुद्राक्षरण्य क्षेत्रसमेत हो । जहाँ समुन्द्र मन्थनबाट निस्किएको निस्किएको अमृतको छोक्राले पिण्ड बनेको विश्वास गरिन्छ । साउनमा महादेवलाई जल चढाउँदा उनी खुशी हुने विश्वास रहिआएको छ ।