‘नमस्कार ! यहाँलाई हाम्रो रिसोर्टमा स्वागत छ ।’ इटहरी बजार नजिकैको एउटा रिसोर्टका वेटर अमर लिम्बू आफ्ना अतिथिहरूलाई अभिवादन गर्छन् । ग्राहकको आँखाको चालमा केही अर्डर आयो, आएन बुझ्ने अमर ग्राहकलाई पुनः सोध्छन्, ‘हजुरलाई केही थपौं कि ?’
तेह्रथुम मूल घर भई हाल मोरङको सुन्दरदुलारी नगरपालिकामा बसेर त्यहीको गोकुलम रिसोर्टमा काम गर्ने लिम्बूले ग्राहकलाई बोलेर होइन, इसारा तथा हाउभाउमा सोध्छन् । जन्मजात आवाजविहीन लिम्बूले विगत यसरी नै ग्राहकबाट अर्डर तथा प्रतिक्रिया लिने गरेका छन् । अमर मात्रै हैन उनीजस्तै आवाज निकाल्न नसक्ने कालुराम चौधरी पनि सँगै काम गर्छन् ।
ग्राहकको मागअनुसारको खाना, नास्ता र अन्य परिकार टेवल टेवल पु¥याउने गछिया ३ मोरङका चौधरीको काम कुनै बोल्ने मानिसभन्दा कम छैन । सामान्य लेखापढी गर्ने चौधरीले छोटो समयमा राम्रोसँग सिकेर काम गरिरहेको रिसोर्टका म्यानेजर सतिस पोखरेल सुनाउँछन् । भन्छन्, ‘केटाको नयाँ काम हो । कमजोरी पाइएको छैन ।’ आवाज नभए पनि उनीहरुमा रहेको राम्रो कार्यशैली, सुझबुझको सबैले प्रशंसा गरेका छन् । ‘केटाहरू के, कहाँ, कहिले, कसरी पु¥याउने सबै कुरा इसाराबाटै बुझ्छन्,’ पोखरेल भन्छन्, ‘सुरुमा काम बुझ्न समय लगाए तर अहिले सबै राम्रो छ ।’ म्यानेजर पोखरेल कतिपय ग्राहकहरू आवाजविहिन वेटरहरू हेर्नैको लागि समेत रिसोर्ट आएको अनुभव सुनाउँछन् ।
लिम्बू र चौधरी जस्ता वेटरमात्र होइन, गोकुलम रिसोर्टले मार्केटिङमासमेत आवाजविहीन मार्केटर राखेको छ । सुनिल मगर रिसोर्टका मार्केटर हुन् । रिसोर्ट सञ्चालक राधेश्याम पौडेल मगरको कार्यबाट प्रभावित छन् । उनका अनुसार यस्ता फरक क्षमताका व्यक्तिहरुलाई सहयोग गर्न र प्रबद्र्धन गर्न उनीहरुलाई जिम्मेवारीका साथ राखेका हुन् । ‘एकातिर यस्तो फरक क्षमताका साथीको जागिर सुरक्षित हुन्छ,’ उनी भन्छन्, ‘अर्कोतिर रिसोर्टको प्रस्तुति शैली फरक हुन्छ र ग्राहकलाई नयाँ अनुभव हुन्छ, यी रिसोर्ट र मार्केटर दुवैको विन विन अवस्था हो ।’ यो रिसोर्ट आवाजहिन वेटर र मार्केटर भएको पौडेलको दावी छ ।
उनले सबै व्यापारिक घरानालाई फरक क्षमता भएकाहरूलाई जागिर दिन आग्रह समेत गरेका छन् । एउटा अंग कमजोर हँुदैमा आम जीन्दगी दुर्वल र अनुत्पादक नहुने तर्क गर्दै पौडेल भन्छन्, ‘फरक क्षमता भएकाहरूले झन् फरक र सुन्दर दृष्टिले काम गर्छन् ।’
भिडियो र च्याटमा टाढा–टाढाका मित्रहरूसँग संवाद गर्छन् । होचो कद र आकर्षण बान्की र हाउभाउका मगर आफूलाई मार्केटिङ पेशा राम्रो लागेको सुनाउँछन् । ‘सिसा काट्ने काम भन्दा यो पेशा सहज र आनन्द छ,’ उनी भन्छन् । अविवाहित मगरलाई विवाह कहिले गरेर घरजम गरौला भन्ने त्यस्तो सौख छैन । तर, मज्जाले पैसा कमाएर देशविदेश सयर गर्ने सपना छ ।
बोल्ने पेशाका व्यवधानहरू
परिस्थिति छ आवाज नआउने । पेशा छ आवाज चाहिने । पक्कै सहज छैन दैनिकी । स्वीकार्छन् यी आवाजविहीन जवानहरू । तर, अमर लिम्बू उल्टै सोध्छन्, ‘काम त के नै सहज होला र गाह्रो मानेर सोच्दा ?’ बजारबजार विज्ञापन गर्दै हिँड्दा केही झमेला भोगे मगरले । ‘कतिपय नपढेका मान्छेहरूले आफूले देखाएको अक्षर नबुझेर पनि समस्या भयो,’ मगर अनुभव व्यक्त गर्छन् । सहरमा थुप्रै मान्छे पढेलेखेका भएकोले सबै ठाउँमा भने विज्ञापन गर्न असहज नहुने उनको अनुभव । कालुराम चौधरीसँग पनि केही अफ्ठ्यारा भोगाइहरू छन् । सुरुसुरुमा ग्राहकहरूको मेन्यू नहेरी यो त्यो ल्याइदिन भन्दा कालुरामलाई ठूलो धर्म संकट पथ्र्यो । अनुमानको भरमा ल्याउँ, भनेको चिज नआउला, अनि नल्याउँ त ग्राहक रिसाउलान् । दुई तर्फी संवाद गर्न बोली आउँदैन, न त बोलेको नै सुनिँदैन ।
आगन्तुक ग्राहकसँग डील गर्न असहज हँुदा पटक–पटक व्यवस्थापनका सदस्य विराज दंगालसँग सहयोग लिनुपरेका चौधरी अहिले ग्राहकको अर्डर टिप्छन् । मागेको सामान दिन्छन् । कतिपयले त आफू नबोल्ने भन्दा नपत्याएको सुनाउँछन् चौधरी । ‘सुरुमा म बोल्न सक्दीनँ भनेर मान्छेले पत्याउँदैनन्, पछि पक्का भएपछि माया गरेर टिप्स दिन्छन्,’ चौधरीलाई अब भने काममा आनन्द आउन थालेको छ । विभिन्न स्टाइलमा चुरोट सल्काउने तान्ने कला समेत देखाएका चौधरी अब भने आफू वेटर काममा जान्ने भएको भन्छन् । सामान्य अडर र संवाद आफैले गर्छन् । कुरा नबुझ्ने अवस्थामा रिसोर्टका अन्य बोल्ने सदस्यहरूसँग मद्दत माग्छन् ।
अबको आशा
चक बनाउने अमर लिम्बू, गिटी बालुवा लोड–अनलोड गरेका कालुराम चौधरी र सिसा काट्ने सुनिल मगरहरू वेटर र मार्केटिङ पेशामा खुसी छन् । सफा लुगा लगाएर कम शारीरिक परिश्रम पर्ने काममा सहभागी भई धेरै व्यक्तिसँग भेटघाट गर्न पाइने भएकोले आफ्नो पेशामा रमाएका छन् उनीहरु । सरकारले शिक्षा र जागिर दुवै दिने हो भने नेपालका थुप्रै बहिराहरू (फरक क्षमता भएका) ले जागिर पाइने उनीहरूको साझा तर्क छ । अमरका थुप्रै उनीजस्ता साथीहरू पनि सफा काममा आउन चाहान्छन्, केही बोलेका कुरा आवाजमै बुझ्ने लिम्बु भन्छन् । दैनिक रुपमा ग्राहकलाई खुसी पार्ने उद्देश्य राखेर जागिर गर्ने यी आवाजविहीनका आ–आफ्नै जिन्दगीका उद्देश्यहरू पनि छन् । चौधरी र मगर थप पैसा कमाएर परिवारलाई पाल्न र सुखी राख्न चाहन्छन् । लिम्बू भने आफ्नी श्रीमतीलाई सुखी राख्न तथा दुई सन्तानको शिक्षादीक्षा सुरक्षित गर्न चाहन्छन् । सादा पानामा लेख्छन्, ‘म जागिर गरेर आफै छोराहरू पढाउन चाहन्छु, पछि पढाउँदा पैसा नपुगे अरुबाट सहयोग चाहन्छु ।’
अलग पृष्ठभूमीः एउटै पेशा
एउटा कृषक परिवारको सामान्य आर्थिक पृष्ठभूमिका अमर लिम्बूले जम्मा तीन कक्षासम्मको औपचारिक अध्ययन सकेका छन् । हालसम्म श्रीमती र दुई सन्तानका पिता अमर परिवारका एक्ला आर्थिक नेता हुन् । शिक्षा थोरै भएर सरकारी जागिरमा छिर्न नसक्ने बुझेका लिम्बूलाई कुनै पनि संस्थाहरूले भरपर्दो कमाइको बाटो देखाएका छैनन् । सन्तान जन्मेपछि चक बनाउने पेशा थाले उनले । पछिल्लो समयमा चक बिक्री पातलिएसँगै उनको आम्दानी पनि पातलियो । जागीरको खोजीमा रहेका उनले वेटर पेशा भेट्टाए । लिम्बूलाई सुरुमा काम गाह्रो लाग्यो, तर पछि काम सिक्दै गएपछि सजिलो लाग्यो । काम जानेकोमा आफ्ूखुसी भएको लिम्बूले हातले लेखेरै बताए । लिम्बू आफ्ना दुई छोरालाई पढाएर ठूलो मान्छे बनाउन चाहन्छन् । भन्छन्, ‘म बोल्न सक्दिनँ तर छोराहरू त सक्छन्, बोल्न सक्नेले त झन् मजाले जागिर गर्न सक्छ,’ सेतो सर्टमा टाई र कालो पाइन्ट लगाएका लिम्बूले उत्साहपूर्वक लेखे, ‘चक बनाउँदा तलब मात्रै पाइन्थ्यो, तर अहिले त टिप्स पनि पाइन्छ ।’
उता लिम्बूसँगै काम गर्ने कालुराम चौधरीले पहिले ट्याक्टरमा गिटी, बालुवा लोड अनलोडको काम गरे । त्यहाँ काम गर्दा उनका हातमा ठेला उठे, फुटे । ‘यो काममा त ठेला पनि आउँदैन, लुगा पनि मैला हुन्न,’ फुटेका पुराना ठेला देखाउँदै चौधरीले लेखेर नयाँ कामको अनुभव सुनाए । एक श्रीमती र सात वर्षे छोराका पिता चौधरीसँग बन्द–हड्ताल हुँदा काम नपाएर खाली पेट सुतेका समेत थुप्रै अनुभवहरू छन् । अहिले भने बन्द, हड्तालले असर नगरेकोमा खुसी छन् । तीस वर्षे यी तन्नेरीले दुई कक्षासम्म पढेका छन् । त्यसैले आफ्नो छोरालाई भने धेरै पढाउने उनको सपना छ । वेटरहरू अमर र कालुराम जस्तै बोलि नआउने सुनिल मगर मार्केटिङमा छन् । यो उनको पहिलो जागिर हो । दमक–१२, झापाको पारुहाङ सिसा पसलमा सिसा काट्ने काम गरेका मगर अहिले नयाँ जिम्मेवारीमा होटलमा छन् । कक्षा ६ सम्म मात्रै पढेका मगर इमेल, इन्टरनेट र सामाजिक सञ्जालमा अभ्यस्त छन् ।
सरकारको वेवास्ता
इटहरी/नेपालमा बहिराहरुलाई स्पष्ट सरकारी सेवा सुविधाहरु दिएको पाइँदैन । स्थानीय निकायहरुलाई दिएको अपूरो लक्षित वर्गको बजेटमा समग्रमा अपाङ्गता भएकाहरुलाइ दिने तर क्षेत्रगत नदिने दिखिएको छ ।
सुनसरीका तीन वटा नगरपालिकाहरु दुहबी। भलुवा, रामधुनी भाषी र इनरुवा नगरपालिकासँग बहिराहरुको सेवामा गरेका कुनैपनि कामका रेकर्ड छैनन् । साथै धरान उपमहानगरपालिका तथा इटहरी उपमहानगरपालिकाको समेत वार्षिक कार्यक्रमहरुमा बहिराहरु लक्षित दिगो विकासका कार्यक्रहरुको लेखाजोखा पाइँदैन । केही टालटुले लक्षित वर्गका कार्यक्रमहरु बाहेक बहिराहरुलाई लक्षित कुनै सहयोग देखिँदैन । ती पनि केही पहुँचवालाहरुले मात्र पाउने गरेका छन् । नेपाल अपाङ्गता सर्भे २०११ ले नेपालमा ७९ हजार आंशिक र पूर्ण बहिराहरु रहेका छन् । यस्तै, ९ हजार संख्यामा बहिरा र दृष्टिविहीनहरुको संख्या रहेको छ । यस्तो तथ्याङ्क आएपनि सार्वजनिकस्थलहरु, विद्यालय, पुस्तकालयमा र सञ्चारमाध्यहरुमा साक्षर बहिराहरुले समेत बुज्ने सङ्केत र भाषाहरु राखिएको छैन ।
नेपाल टेलिभिजनले शनिबार हप्तामा एकदिन मात्रै दिने समाचारको कारण पनि अधिकांश बहिराहरु सूचनाहरुबाट बञ्चित रहने बहिरा विद्यालय धरानकी शिक्षिका रेनुका बुढाथोकी बताउँछिन् । डेढ दशक बढी बहिरा विद्यार्थीहरुलाई अध्यापन गरिसकेकी शिक्षिका बुढाथोकी भन्छिन्, ‘हाम्रा विद्याथीहरुलाई सामान्य कोर्षका विषय बुझाउन त यस्तो हम्मेहम्मे छ झन असाक्षरहरुलाई कस्तो होला ?’ उनका अनुसार नेपालमा साङ्केतिक भाषा अभिभावकले समेत सिक्न जरुरी छ । साङ्केतिक भाषा नसिकी आफ्ना बहिरा बालबच्चा पढाउन समस्या हुने उनको तर्क छ । उनी सरकार र स्थानीय निकायले पनि बहिराहरलाई साङ्केतिक भाषा सिकाउन र शिक्षा दिन आवश्यक देख्छिन् ।