काठमाडौँ / पटक पटक मिति तोकिँदै स्थगित हुँदै आएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन नौ वर्षपछि यस पटक हुने निश्चित भएको छ ।
मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको प्रभावशाली भ्रातृ संस्था नेविसङ्घको आगामी महाधिवेशन यही साउन २३ देखि २५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुँदैछ । विसं २०६४ पछि हुन नसकेको महाधिवेशन हुने निश्चित भएपछि नेविसङ्घका नेता कार्यकर्ताहरू उत्साहित देखिएका छन् ।
मिति नजिकिँदै गर्दा महाधिवेशनमा भाग लिन मुलुकभरबाट विद्यार्थी नेता कार्यकर्ता काठमाडौँ आउने क्रम सुरु भएको छ । अर्काेतिर महाधिवेशनमा आ–आफ्नो स्थान सुनिश्चित गर्न नेता कार्यकर्ता आफू निकट पार्टीका नेताका घर धाउन थालेका छन् ।
पार्टीले निर्धारित समयमै नेविसङ्घको महाधिवेशन सम्पन्न गर्न नेता डा प्रकाशशरण महतको संयोजकत्वमा निर्देशन समिति गठन गरेको छ । समितिमा गोविन्दराज भट्टराई, गुरुराज घिमिरे, प्रदीप पौडेल र किशोरसिंह राठौर रहेका छन् ।
महाधिवेशन खर्च पौने दुई करोड

नेविसङ्घ महाधिवेशनको जम्मा खर्च रु एक करोड ७८ लाख ८० हजार खर्च लाग्ने अनुमान गरिएको छ । ब्यानर, प्रचारप्रसार, होटल, खाना, खाजा, यातायात मसलन्दलगायतमा खर्च हुने प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
महाधिवेशनस्थल भृकुटीमण्डपको हल दैनिक रु दुई लाख १० हजारका दरले तीन दिनका लागि बुकिङ गरिसकेको उनले बताए । उद्घाटन २३ गते दिउँसो १ बजे सभापति देउवाले गर्ने छन् । उद्घाटनसत्रका लागि पार्टीका सबै पदाधिकारी सदस्य अन्य भ्रातृसंस्था र शुभेच्छुक संस्थालाई निमन्त्रणा पठाइसकिएको छ । महाधिवेशनमा लाग्ने सबै खर्च पार्टीले दिने भएको छ । नेविसङ्घले कहीँ कतै चन्दा नलिएको र लिने नीति पनि नरहेकोे जनाएको छ ।
करिब तीन हजार प्रतिनिधि बस्नका लागि सुन्धरालगायतका स्थानमा होटल बुकिङ भइसकेको छ । पार्टीले डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए)का पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वको निर्वाचन समिति गठन गरिसकेको छ । मतदानलाई व्यवस्थित बनाउन प्रतिनिधिका लागि परिचयपत्रको अनिवार्य व्यवस्था गरिएको छ । आठ जिल्लामा विवाद कायमै तत्कालीन महामन्त्री प्रकाशमान सिंह नेतृत्वको निर्देशन समितिले नै ६४ जिल्लाका प्रतिनिधिको टुङ्गो लगाइसकेको थियो । वर्तमान निर्देशन समितिले पनि त्यही सूचिलाई निरन्तरता दिएको छ । अन्य विवादित ११ जिल्लामध्ये पनि सुर्खेत, रौतहट र भक्तपुरको विवाद मिलिसकेको छ भने अब सिराहा, धनुषा, रुपन्देही, पर्सा, कञ्चनपुर, मुस्ताङ, सोलुखुम्बु र कास्कीमा महाधिवेशन प्रतिनिधिको विवाद मिलाउन बाँकी रहेको र त्यो पनि छिट्टै मिल्ने बताइएको छ । विधिवत् महाधिवेशनको माग गर्दै नेविसङ्घका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र नेविसङ्घ रामेछापका पूर्व उपाध्यक्ष रत्नहरि ढुङ्गेल यही साउन १५ गतेदेखि काँँग्रेस पार्टी कार्यालय सानेपामा आमरण अनशन बस्दै आएका छन् । उम्मेदवारको ताँती लामो समयको अन्तरालपछि हुन लागेको महाधिवेशनमा विभिन्न गुट उपगुटबाट नेताहरूले आ–आफ्नो उम्मेदवारी घोषणा गर्न सुरु गरेका छन् । अध्यक्षमा हालसम्म जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, नैनसिंह महर, क्षीतिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य केही नेताहरू घोषणा गर्ने क्रममा छन् । त्यस्तै महामन्त्री पदमा नेविसङ्घ नेताहरू मनोज वैद्य, उर्मिला थपलिया, डिल्लीराज सुवेदी, मोतिलाल भण्डारी, विनयराम भट्ट, रमेश रिजाल, प्रचण्डविक्रम न्यौपाने, हिमालदत्त श्रेष्ठ, युवराज पाण्डे, मित्र भट्टराईलगायतले उम्मेदवारी दिने घोषणा गरेका हुन् । दुवै काँग्रेस एकीकरणपछि लामो समयपछि हुन लागेकाले यस महाधिवेशनमा पदाधिकारी र सदस्यमा करिब ५०० उम्मेदवारी पर्ने देखिन्छ ।
कार्यसमिति १६१ हुने
नेविसङ्घ केन्द्रीय समितिले ११औँ महाधिवेशनमा १६१ सदस्यीय कार्यसमिति बनाउन प्रस्ताव गरिएको छ । हाल १२१ सदस्यीय समिति छ । केन्द्रीय समितिको प्रस्ताव गरेको विधानको मस्यौदाअनुसार अध्यक्ष एक, सात प्रदेशबाट एक÷एक जनाका दरले जम्मा सात जना, समावेशी चार र मनोनीत तीन गरी जम्मा १४ उपाध्यक्ष, महामन्त्री चार (दुई निर्वाचित र दुई मनोनीत) रहनेछन् ।
त्यस्तै सात प्रदेशबाट एक /एक जनाका दरले सात, समावेशी चार, उपत्यकाबाट एक र मनोनीत तीन गरी जम्मा १५ जना सहमहामन्त्री, कोषाध्यक्ष एक तथा अन्य सदस्य गरी जम्मा १६१ सदस्यीय कार्य समिति प्रस्ताव गरिएको छ । समिति ठूलो सङ्ख्याको भएको गुनासो आएको र त्यसलाई निर्देशन समितिले अन्तिम छलफल गरी आजै अन्तिम रुप दिने बताइएको छ । पार्टीले हालको कार्यसमिति बनाउँदा नै यस समितिमा रहेकाले ११औँ महाधिवेशनमा उठ्न नपाउने सहमति गरेकाले धेरै नेता कार्यकर्ता अन्योलमा छन् । कतिपय वर्तमान समितिमा रहेका विद्यार्थी नेताले राजीनामा गरी निर्वाचनमा उठ्ने तयारी गरेका छन् । तर त्यसबारेमा निर्देशन समितिले कुनै निर्णय नगरेको अझै त्यसबारेमा निर्णय निश्चित नभएको प्रवक्ता लामिछाने बताउछन् ।
को को भए नेवि संघका अध्यक्ष हालसम्म विसं २०२७ मा स्थापना भएको नेविसङ्घमा हालसम्म अध्यक्ष हुने नेताहरु
१ विपिन कोइराला,
२ शेरबहादुर देउवा,
३ विमलेन्द्र निधि,
४ ज्ञानेन्द्रबहादुर कार्की,
५ बलबहादुर केसी,
६ बालकृष्ण खाण,
७ एनपी साउद,
८ धनराज गुरुङ,
९ गोविन्द भट्टराई,
१० विश्वप्रकाश शर्मा,
११ गुरुराज घिमिरे,
१२ किशोरसिंह राठौर,
१३ केशव सिंह,
१४ महेन्द्र शर्मा,
१५ प्रदीप पौडेल,
१६ कल्याण गुरुङ र
१७ रञ्जीत कर्ण अध्यक्ष
रासस