१. विषय प्रवेश एउटा भनाइ छ–“जहाँनेर नाटकको मृत्यु हुन्छ, त्यहाँबाट चलचित्रको जन्म हुन्छ ।” यो भनाइको आधारभूमि नाटकमा जे कुरा वा घटनाहरु देखाउन सकिन्न, ती कुरा र घटनाहरु चलचित्रले देखाउन सकिन्छ भन्ने नै हो । जस्तो कि दृशत्मक रुपमा नाटकमा बाढीपहिरो, प्लेन क्र्यास देखाउन सकिन्न । यसै भएर नाटकभन्दा कान्छो भएर पनि चलचित्र अहिले प्रदर्शनी कलाहरुमा प्रभावकारी रुपमा हावी भएको छ, विश्वभरि ।तर, भारतका प्रसिद्ध रङ्गचिन्तक तथा विचारक डा. एम.के.रैनाले २० वर्षअगाडि नै भनेका थिए–“अहिले प्रविधिको माध्यमबाट चलचित्र र टिवीहरुले जुन रुपमा नाटक (Drama) वा रंगमञ्ञ्च (Theatre) लाई असर पुराइरहेको छ, त्यो स्थायी होइन । चलचित्र र टिभिको कृत्रिम अभिनयबाट वाक्क भएर दर्शकहरु पुनः थियटरमै फर्किनेछन् ।” र, अहिले विश्वभर यही भइरहेको छ, डा. रैनाको भनाइ सही साबित हुँदै गएको छ र नेपालमा पनि रंगमञ्चको पुनरागमन भएको छ । थोरै संख्यामा भए पनि दर्शकहरु थियटरमा फर्किरहेका छन्, थियटर मौलाउने क्रम बढिरहेको छ । वर्तमानमा धरान पनि यस सच्चाइबाट अछूतो रहेन र आरम्भ नाट्य डबलीको पुनरामगन भएको छ । योसँगै रङ्गकमी महासंघ पनि चल्मलाइरहेको छ । यो शुभ सङ्केत हो । अब धरान फेरि रङ्गमञ्च क्षेत्रमा बौरिन थालेको आभास भएको छ । यसै क्रममा धरानमा रङ्गमञ्चको पुनर्जागरण कालको उदय हुने विश्वास गर्न सकिन्छ । प्रसिद्ध नाटककार तथा नाट्यकर्मी शेक्सपियर भनेका छन्–“यो विश्व नै एक रङ्गशाला हो र हामी त्यसका पात्रहरु ।” यो भनाइले दुईवटा कुरालाई इंगित गर्दछ, पहिलो हो–नाटक, नाट्यकर्म र थियटर विश्वजनित शास्वत सत्य हो, यो कहिले मर्दैन । शायद, डा. रैनाले यहीँ सच्चाइलाई टेकेर माथिका कुरा भनेका हुनन् । दोस्रो हो–विश्व नै रंगशाला र हामी त्यसको पात्रहरु हौ भने थियटर झन् मर्ने कुरै आउँदैन । मानव विकासको क्रममा शिकार युगदेखि नै नाट्यकलाको उत्पत्ति विकास भएको देखिन्छ । त्यसबेला कयौ दिनको आखेटपछाडि प्राप्त भएको शिकार देखेर भोका कानव समदायले खुशी व्यक्त गर्ने क्रममा नृत्य गरे र त्यसको विकासको रुप नै नाटक Drama) हुन गयो र पछि त्यसले रङ्गमञ्चको रुप लियो । पछि यो धार्मिक कर्मसँग गाँसिएर अगाडि बढ्यो र अद्यापि मानव इतिहास तथा समाजसँगै हुर्किहेको छ, रङ्गमञ्च । नाट्यको प्रचीन रुप हेर्दा यो पाश्चात्य होस् या पूर्वीय नाट्यमा नृत्य नै यसको आदिरुप मानिन्छ र महादेवलाई नाट्यश्वर । अझ पूर्वीय नाट्यमा अझै नृत्यप्रधान नाटकको प्रयोग भइरहेको छ । दक्षिण भारतमा विभिन्न मुखाकृति बनाई गरिने नृत्य नाटिका र चीनियाँ नाट्य शैली अपेराले यो कुराको पुष्टि गर्दछ । यो कुरा पाश्चात्य र पूर्वीय नाट्यशास्त्रमा पनि अभिव्यक्त भएको छ । पश्चिमा नाट्यक्षेत्रमा प्राचीन युनानका विद्वान अरस्तुले नाटकलाई काव्यशास्त्रको रुपमा व्याख्या गर्दै यसको महत्वलाई प्रष्ट्याएका छन् । उनीहरुले पनि मुखौटा लगाएर नाचिने वा नृत्यको माधयमबाट व्यक्त गरिने सुखान्त र दुःखान्त दुबै रुपहरुलाई प्रयोग गर्दथे । यता पूर्वीय नाट्य क्षेत्रमा भरत मुनिले त लगभग ४५०० वर्षपूर्व नाट्यशास्त्र नै लेखेका छन् । जसमा नाटकका सबै रुपहरु यथा पाश्व सङ्गीत, मञ्च संयोजन, वेश–भूषा, कथ्य आदिको विस्तृत वर्णन गरिएका छन् । तत्पश्चात, यसलाई प्रयोगात्मक रुपमा क्रियान्वित गर्ने काम भारतेंदुले गरे । पाश्चात्य काव्यशास्त्रमा नाटकलाई सर्वोच्च मान्दै देवताहरुको पूजासँगै शुरु भएको नृत्यबाटै अभिनय वा नाट्यकलाको प्रथम रुप जन्मेको बताइएको छ, जसमां नृत्यबाट कथाको भाव अभिव्यक्ति गरिन्थ्यो । यूनानमा प्रारम्भमा धार्मिक वेदीको वरपर नाटकीय नृत्य हुन्थ्यो र त्यसमा सबै मानिसहरु समान रुपमा सहभागी हुन्थे । वाचिक अर्थात् संवादको प्रयोग र विभिन्न भूमिकाअनुसार पात्रहरुको सिर्जना हुँदै गए र ठूल्ठूला थियटरहरु बने र त्यहाँ सुखान्त (Comedy) र दुःखान्त (Tragesy) नाटकहरु प्रस्तुत गरिन थालियो । पश्चिमा नाट्य विकास (१) रुढीवादी या स्थिर रीतिवादी (फार्मनिस्ट), (२) प्रकृतिवादी (नेचुरालिस्ट), (३) अभिव्यञ्जनावादी (एक्स्पेशनिस्ट) (४) घनवादी (क्यूबिस्ट) र (५) प्रतीकवादी (सिबोलिस्ट) हुँदै आज थुप्रै वाद र शैलीहरुको विकास भएको छ । रङ्गसिद्धान्तहरु पनि प्रतिपादन भएका छन् । पूर्वीय नाट्यमा पनि करिब करिब थिनै वाद र शैलीहरु आत्मसात गरिएका छन् ।
२. नाटक, नाट्य र रङ्गमञ्चबीच भेद यो उपशीर्षक यसर्थ यहाँ राखिएको हो कि सामान्य दर्शकहरुमा मात्रै होइन, नाट्यकर्मी वा रङ्गकर्मीहरुमा पनि यी तीन शब्दहरु नाटक, नाट्य र रङ्गमञ्चबीचको भेदलाई बुझ्ने सन्दर्भमा विभ्रम रहेको छ । अक्सर यी तीन शब्दहरुलाई एकै संझिने भुल गरिन्छ । तर नाटक, नाट्य र रङ्गमञ्च आपसमा सम्बन्धित भएर पनि स्वतन्त्र अस्तित्व राख्दछ र आफ्नै अर्थमा ज्यूँदछन् । पहिलो शब्द नाटक त झन् नेपाली र हिन्दी शब्दशास्त्रमा भ्रमोत्पादक छ । नाटकलाई अङ्ग्रेजीमा दुईवटा शब्दले जनाइन्छ–प्ले (Play) र ड्रामा (Drama) । नेपालीमा यो भेदलाई बुझाउने उचित शब्दको अभाव छ । अक्सर नाटक भन्नेबित्तिकै मानिसले अभिनय तत्वलाई बुझ्दछन् र त्यहीँ रुपमा अथ्र्याउँछन् । तर, अङ्ग्रेजीको प्लेले अभिनयात्मक नाटकलाई बुझाउँदैन, यो त Written tex मात्र हो अर्थात् लिखित साहित्य वा पाठ्य काव्य । साहित्यमा जब नाटक अभिनयात्मक रुपमा आउँछ र त्यसको मञ्चन हुन्छ, तब त्यो ड्रामा बन्दछ । प्ले ड्रामा बन्नलाई अभिनयसँग तादाम्य हुनै पर्दछ । यो कुरा बुझिएन भने प्ले र ड्रामाबीचको भेद तथा तत्जन्य उत्पत्ति र विकासलाई सही रुपमा बुझ्न सकिन्न । अर्को शब्द नाट्य त नाटकभन्दा नितान्त फरक कुरा हो । नाटक पाठ्य काव्य (प्ले)मात्रै पनि हुन सक्छ तर नाट्य भन्नाले नाटकको निर्देशकीय पक्षसँग तादात्म्य राख्ने कुरा हो । जब नाटक मञ्चन वा प्रदर्शन गर्ने प्रक्रियामा आउँछ, तब त्यसका लागि निर्देशक, पात्रहरु र विविध खाले प्राविधिक वस्तुहरुको आवश्यक्ता पर्दछ, जसलाई समग्रमा रङ्गमञ्च भनिन्छ । नाटक नाट्य रुपमा आएर निर्देशकीयतासँग अन्वित हुनासाथ यसले रङ्गमञ्चको आवश्यक्तालाई महसूस गराउँदछ । यसरी यी तीन शब्दहरुबीचको भिन्नतालाई बुझिएन भने पनि रङ्गकर्म वा नाट्यकर्मलाई सही रुपमा बुझन र सिर्जनात्मक रुपमा अगाडि लैजान सकिन्न । नाट्य र रङ्गमञ्चको विकास गर्न सकिन्न । नाट्य र रङ्गमञ्चलाई बुझ्न भारतका प्रसिद्ध रङ्गचिन्तक श्यामशरणको भनाइलाई मनन गर्न सकिन्छ । उनी भन्छन्–“हिन्दी रङ्गमञ्च डेढ सय वर्ष पुरानो भैसकेको छ । तथापि अहिलेसम्म रङ्गमञ्चको निश्चित परम्परा बन्न सकेको छैन । परम्पराको नाममा कयौं धाराहरु छन्, जसबाट प्रेरणा ग्रहण गरेर त्यसलाई आत्मसात गर्दै अनेक विरोधाभासी प्रवृत्तिहरुमा समन्वय गर्ने प्रयत्न भइरहेको छ । यी सबै हुँदा हुँदै हिन्दी रङ्गमञ्च भर्खर परम्परा बनाउने प्रक्रियामा छ ।” यो भनाइले नाट्य र रङ्गमञ्चबीचको भेदलाई प्रष्ट पार्ने काम गर्दछ । उनले रङ्गमञ्चलाई परम्पराको रुपमा लिएका छन् । हो, रङ्गमच परम्परा नै हो र वास्तवमा रङ्गमञ्च नाट्यकर्मको समग्रता र संस्कृति निर्माणको काम हो । ३. धरानमा नाट्य विकास र अवरोह धरान शुरुदेखि नै कलाको शहर मानिदै आएको छ । गीत, सङ्गीत, नाट्य–रङ्गमञ्च, चित्रकला, चलचित्र हरेक कलाका मोर्चामा धरान देशमै अग्रणी रहदै आएको छ (थियो ?) । धरानमा नाटक र नाट्यको विकासलाई हेर्ने हो भने धरानका रङ्गचिन्तक र नाट्य इतिहासका अध्ययता कवि तथा साहित्यकार बद्री पलिखेज्यूका अनुसार वि.सं. १९९७ देखि नै शुरुवात भएको पाइन्छ । उहाँले धरानको नाट्य इतिहासलाई विभिन्न कालखण्डमा विभक्त गर्दै रेखांकन गर्नुभएको छ । धरानको रङ्गकर्म वा नाट्य विकासको क्रममा १९९७ सालदेखि, २००७ साल, २००८ देखि २०२० साल, २०२० देखि २०३४ साल र २०३४ सालदेखि २०४४ सम्म र त्यता हालसम्म आइपुगेको छ । त्यस शुरुवाती दिनहरुमा सामाजिक संकुचितताका कारण धराने नाट्य क्षेत्रमा महिला पात्रको भूमिका पुरुषबाट नै अभिनीत हुने गर्दथ्यो । तथापि यसबीच विशेषतः धार्मिक तथा सामाजिक नाटकहरुको पउल प्रदर्शन भएको पाइन्छ । शुरुवाती कालखण्डदेखि २०४४ सम्म शान्ति मास्के, चन्द्रशेखर श्रेष्ठ, सूर्यमान पलिखे, राममोहन पलिखे, यदय उदास, मोटे माइला, विष्णुकुमार ठकुरी, राधा उदास, इश्वर थापा, महेशमोहन पलिखे, शकुन्तला श्रेष्ठ, मनशोभा राई, अनिता गुरुङ, त्यस्तै कालिप्रसाद रिजाल, शिवशंकर थापा, श्री सुब्बा, इन्द्र ब. थापा, दीप श्रेष्ठ, बसन्त थापा, विहार पोख्रेल, बद्री पलिखे, गोविन्द विकल, शेर ब. भुजेललगायत सयौं कलाकारहरुले अभिनय गरेका थिए । महेन्द्र राजालाई नाटक देखाउन काठमाण्डौंसम्म गएका थिए । त्यतिखेर गाउँगाउँमा नाट्य अभियानसमेत लगिएको थियो । रङ्गविद् पलिखेका अनुसार धरानमा वि.सं.१९९७ देखि उठान भएको नाटक नाटक मञ्चको शैशवावस्थाले २००७ सालको जनक्रान्तिको सफलतापछि बामे सर्न थाल्यो र २०२० सालपछि नै धराने नाट्य मञ्चनका पाइलाहरु अघि बढ्न थालेको देखिन्छ । धरान नाटक लेखन, निर्देशन र नाट्य प्रदर्शनमा शुरुदेखि नै उर्वर रहेको कुरा माथिका विवरणले प्रष्ट्याउँछ । आधुनिक कालखण्डको रुपमा लिइने २०४४ सालयताका धराने रंगकर्म वा नाट्यकर्म अझ उर्वर देखिन्छ । यो कालखण्ड २०५६ सम्म लम्बिएको पाइन्छ । त्यसपछि, धराने नाटय क्षेत्रले पटकपटक भोग्दै आएको पुस्ताहस्तान्तारणको समस्या पुनः प्रकटीकरण भएको छ । आधुनिक कालमा प्रेम सुब्बा, राजकुमार मादेन, शारदा शाक्य, शोभा खजुम, शशी थापा सुब्बा, सुरज सुब्बा नाल्बो, अन्जु मोक्तान, मिलन वान्तावा, नवीन सुब्बा, गोपाल देवान, केशल दाहाल, विक्रमश्री, सुवर्ण पलिखे, प्रताप राई, राजेन्द्र रिमाल, विशाल भण्डारी, राजन दाहाल, प्रवीण राई, सुवास थापा, जसकुमार राई, सन्तोष थेबे, विजय सुब्बाविक्रम सिंह, सुवास अधिकारी, राजेश थापा मगरलगायत सयौ रङ्गकर्मी तथा नाट्यकर्मीहरुले धराने रंगकर्मलाई जुरुक्क उचालेका थिए । सबैभन्दा उर्वर कालको रुपमा रहेको २०४४ देखि यताको कालखण्डमा धरानमा रंगकर्मीहरु र नाट्य प्रस्तुतहरुमा तँछाडमछाँड भएको देखिएको थियो । त्यसताका धरानमा समर्पण नाट्य समूह, अनाम नाट्य जमात, आरम्भ नाट्य समूह, सृष्टि नाट्य समूह प्रतिनिधि नाट्य संस्थाका रुपमा स्थापित भएर सृजनात्मक नाट्यकर्मलाई अगाडि बढाएका थिए भने सृजना, छिमेकी, अनुराग, मोकसुरा, शंकर, सरगम, सहारा, नवकलालगायत २ दर्जन बढी नाट्य संस्थाहरुले पनि धराने नाट्यकर्मलाई गतिशीलता प्रदान गरेका थिए । त्यसबेला नाट्य संस्थाहरुबीच एक किसिमको तीव्र तथा सिर्जनात्मक प्रतिस्पर्धा नै थियो । कहाँसम्म भने नाट्य प्रस्तुतीको दिन जुधेर आपसमा सहमति गरेर मिति सार्नुपर्ने स्थितिसमेत सिर्जना हुन्थ्यो । यस कालमा धरानले देशकै रंगकर्म र नाट्यलाई काँधमा बोकेको थियो । अनामले २०४५ को नेपाल प्रज्ञा प्रतिष्ठानबाट आयोजित राष्ट्रिय नाटक महोत्सवमा रमेश के.सी.द्वारा लिखित म, प्रियसी, नानीहरुंमिसाइल.० नाटकमार्फत् सर्वोत्कृष्ट प्रस्तुतीको पुरस्कार हात पारेको थियो भने आरम्भ नाट्य समूहले २०४७ सालको राष्ट्रिय नाटक महोत्सवमा गोपाल देवानद्वारा लिखित सडक बालबालिकाहरुको समस्यामा आधारित नाटक यिनीहरु देश खोजिरहेका छन् नाटकमार्फत् विशेष सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । दुबै पुरस्कारले धरानको नाट्यक्षेत्रलाई राष्ट्रिय रुपमा स्थापित गरेको थियो । यसैबेला नाटककार, रङ्गचिन्तक तथा नाट्यकर्मी, नेपाली नाट्यक्षेत्रमा सडक नाटकका अभियन्ता अशेष मल्लले “रङ्गकर्मी र नाटक हेर्ने हो भने धरान जानु पर्दछ” भनेका थिए । यो कालमा राष्ट्रिय नाटक महोत्सवमा धराने नाट्य संस्थाको विशेष उचाइ थियो र देशका अन्य क्षेत्रबाट सहभागी सबै नाट्य संस्थाहरु धराने नाट्य संस्थाबाट एक किसिमको भय राख्दथे । यो काल साँच्चै धराने नाट्यक्षेत्रमा सबैभन्दा उर्वर काल थियो । तर, दुःखका साथ भन्नुपर्छ कि त्यसपछि व्यावहारिक कारण, अभाव, अव्यावसायीकरण र केही आन्तरिक आपसी मुनमुटावका कारण धरानको नाट्यक्षेत्र एक्कासी खहरे खोलाझैं सुकेर गयो । खडेरीग्रस्त हुन पुग्यो । यसमा चलचित्र र टिभीको प्रभावले पनि केही काम गरेको थियो । नाट्य तथा रंगकर्मप्रति प्रतिबद्धताको कमीले गर्दा धरान नाट्यको क्षेत्रमा एकादेशको कथा हुन पुग्यो । धराने नाट्यक्षेत्रमा जहिले पनि पुस्ताहस्तान्तरणको कमी रह्यो, जुन अद्यापि जारी छ । यसमा साहित्यकार र बुद्धिजीवीहरुका साथै राज्यका स्थानीय निकायले पनि अपेक्षित ध्यान दिएनन् । फलतः अहिले रंगमञ्चको शहर भनेर चिनिने धरान भूतकालको विषय बनेको छ । थियो भन्ने भएको छ । तर, खुशीको कुरा–हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ धराने नाट्यक्षेत्र पुनः जुर्मुराउने तर्खरमा छ, भारतीय प्रसिद्ध रङ्गचिन्तक, निर्देशक तथा विचारक एम.के. रैनाले भनेझैँ धराने नाट्यक्षेत्र फर्किन थालेको छ । तर रङ्मञ्चको अभावमा फेरि कलपल्टिने पो होकि भन्ने आशंका संगसँगै रहेको छ ।
४. धराने नाट्य क्षेत्रमा अवरोहका कारणहरु धरानको नाट्यक्षेत्र २०५६ सालसम्म घिस्रिएर आइपुग्यो तर त्यसपछि स्वात्तै सुक्यो । अवरोहको शिकार भयो । उर्वर धराने नाट्यक्षेत्र अवरोहतर्फ लाग्नुमा निम्न कारणहरु देखिन्छन्ः– १) धरानको सन्दर्भमा रङ्गकर्म वा नाट्यकर्म व्यावसायिक हुन नसक्नु । जसले गर्दा आमाको फ्रि होटलमा खाना खाएर बाउको फ्रि लज सुतेर रंगकर्म गर्ने कलाकारहरुले रंगकर्मलाई थेग्न सकेनन् । २) रङ्गकर्मी कलाकारहरु विस्तारै आफ्ना व्यावहारिक जञ्जालहरुमा फस्दै गएपछि अन्य पेशामा ‘टूयाक चेञ्ज’ गर्न बाध्य भए, फलस्वरुप रंगकर्म अवरोहतर्फ लाग्यो । ३) नयाँ रङ्गकर्मीहरु आउन नमान्नु । रंगकर्म व्यावसायिक वा बाँच्न सक्ने आधारको रुपमा अद्यापि सबल हुन सकेको छैन । त्यतिबेला झन् धेरै अभावमय स्थिति थियो, जसले गर्दा नयाँ कलाकारहरु आउन मानेनन् । ४) केही रङ्गकर्मीहरु चलचित्रमा प्रवेश गरे, चलचित्रको मोहमा फसे, जसले गर्दा पनि रंगकर्म सुस्तायो । ५) धराने रङ्गकर्म वा नाट्यकर्ममा पुस्ताहस्तान्तरणको पूर्णतया अभाव रह्यो । त्यसैले, नाट्यक्षेत्रको रथ हाँक्ने नयाँ सारथीहरु भएनन् । ६) धराने रङ्गकर्मीहरु विभिन्न कालखण्डमा बैंसको वेगजस्तै आए तर सार्थक प्रतिबद्धता कसैमा नभएकाले संघर्ष गरेर टिकिरहन सकेनन् । ७) रङ्गकर्म वा नाट्यकर्मसम्बन्धी प्रशिक्षण संस्था वा स्कुलिङ नहुनुले गर्दा पनि धरान सुस्तायो । ८) राज्य र राज्यका स्थानीय निकायहरुमा रङ्गकर्म, नाट्य तथा रङ्गमञ्चसम्बन्धी कुनै नीति तथा कार्यक्रम नहुनुले पनि रङ्गकर्म वा नाट्यकर्म गतिशील हुन सकेन । ९) माथिका कारणहरुमध्ये रङ्गकर्म वा नाट्यकर्मको विकास तथा स्थायित्वका लागि रङ्गमञ्चको अभाव हुनु सबैभन्दा ठूलो कारकतत्व रह्यो र रहिरहेको छ । रङ्गकर्म वा नाट्यकर्मका लागि रङ्गमञ्च आधारभूत् आवश्यक्ता हो, जुन कुराको अभाव कायमै रहेको हुँदा धराने रङ्गकर्मले दम तोड्यो ।
५. धरानमा रङ्गमञ्चीय समस्याहरु धराने रङ्गकर्म, नाट्यकर्म अवरोह हुनुका माथि वर्णित कारणहरु नै वर्तमान धराने रङ्गकर्म वा नाट्यकर्मका प्रमुख समस्याहरु हुन् । ती समस्याहरुको निराकरण गर्ने हो भने धराने रङ्गकर्म वा नाट्यकर्म जुन रुपमा अहिले पुनरागमन हुन खोजिरहेको छ, त्यसले गतिशीलता प्राप्त गर्न सक्दछ । माथिका कारणहरुलाई नै समस्याका रुपमा आंगिकार गरेर त्यसको समाधानार्थ धरानका बुद्धिजीवी, साहित्यकार, रङ्गकर्मी, स्थानीय निकायहरु एकजूट हुनु जरुरी छ । रङ्गमञ्चको शहर भनेर चिनिने धरानलाई पुन राष्टिय नाट्यक्षेत्रमा सगौरव स्थापित गराउन सकिन्छ । माथि वर्णित समस्याहरुको थुप्रोमध्ये माउ समस्या रंगमञ्चको अभाव हो । रङ्गमञ्चीय संस्कृतिको अभाव हो । जसरी एउटा परिवारमा पारिवारिक संस्कृति निर्माण गर्न एउटा घरको आवश्यक्ता हुन्छ, त्यसरी नै रंगमञ्चीय संस्कृति निर्माणका लागि रङ्गमञ्चीय हल र त्यसका लागि चाहिने विभिन्न प्राविधिक प्रशासनहरुको आवश्यक्ता पर्दछ । त्यसैले, अब धराने रङ्गकर्मलाई बचाउने वा नाट्यकर्मलाई गतिशील बनाराख्ने हो भने रङ्गमञ्चीय हल र त्यहीँ अनुसार प्रकाश व्यवस्था, ध्वनि व्यवस्था, आहार्य व्यवस्था र त्यसलाई जारी राख्ने नीतिगत व्यवस्थाको परिपूर्ति गरिनु पर्दछ । ६. समाधानका उपायहरु धराने रङ्गमञ्चका समस्याहरुलाई समाधान गर्नका लागि निम्न कामहरु गर्न सकिन्छ ः १) सार्थक रङ्गकर्मलाई आत्मसात गर्दै समुचित व्यावसायिकता खोजी गर्ने । २). रङ्गकर्मीहरुबीच एकता, स्वस्थ प्रतिस्पर्धाको प्रवृत्ति विकास गर्दै पुस्ताहस्तान्तरणको संस्कार विकास गर्ने । ३) नयाँ कलाकारलाई रङ्गकर्ममा ल्याएर प्रशिक्षित गर्ने प्रशिक्षण केन्द्र स्थापना गर्ने र चलचित्र कलासँग सहकार्य गर्ने । ४) एनजिओ तथा स्थानीय निकायहरुसँग आपसी सहयोगको सिद्धान्तमा रङ्गकर्मलाई अघि बढाउने । ५) रङ्गकर्मको विकासका लागि राज्यसँग भीख माग्ने होइन, रङ्गकर्मको महत्तालाई सबैमा अनुभूत गराएर आफैले यसको विकास गर्ने र राज्यलाई नीति निर्माणमा दबाव सिर्जना गर्ने । ६) स्थानीय आवासीय विद्यालयहरुले रंगमञ्चीय कलालाई आफ्ना स्कुलहरुमा स्थापित गर्ने । भारत र पश्चिमा देशहरुमा रङ्गकर्म वा नाट्यकर्मलाई विद्यालय र कलेजहरुले आत्मसात गरेर त्यसको संरक्षण र विकास गर्ने काम गर्दै आइरहेका छन् । जस्तो कि भारतीय र पश्चिमा देशका विद्यालय र कलेजमा मायम ९ःष्mभ० नाटकलाई अनिवार्य गरिएका छन् । विद्यार्थीहरुलाई विद्यालय वा कलेजका कार्यक्रमहरुमा मायम नाटक प्रस्ततीकरण गर्न लगाइन्छ र त्यसलाई परीक्षा प्रणालीभित्र समावेश गरिन्छ । यस कार्यमा धरानमा रहेका आवासीय विद्यालयहरुले पनि महत्वपूर्ण भूमिका खेल्न सक्दछन् । विशेष गरी सामुदायिक वा सरकारी विद्यालयहरुभन्दा आवासीय विद्यालयहरु सम्पन्न र सक्षम भएका हुँदा उनीहरुले सार्थक सोचयुक्त र सकारात्मक दिशा अँगाल्दै धरानको नाट्यकर्मलाई टेवा दिएको खण्डमा धराने रंगकर्म फेरि सप्तकोशी हुन सक्दछ । फेरि हरियालीयुक्त बन्न सक्दछ । उनीहरुले पनि अतिरिक्त क्रियाकलापमा नाट्यकर्मलाई विषयगत रुपमा समाविष्ट गर्न सक्छन् । त्यसका लागि नृत्य प्रशिक्षक राखेजस्तै नाट्य प्रशिक्षक राख्न सक्छन् । प्रतियोगिताहरु गराउन सक्छन् । त्यसो गरिएमा रंगकर्ममा नयाँ छिमल अर्थात् पुस्ताको निर्माण भइरहन्छ । ७) मुख्यतः धरानमा एउटा साधनसम्पन्न र आधुनिक रंगमञ्च हल निर्माण गर्न सबै तहतप्का र क्षेत्रहरुले एकताबद्ध भएर पहलकदमी गर्ने । यस कार्यका लागि निम्न विकल्पहरु प्रयोग गर्न सकिन्छ ः क) धरान सभागृहलाई नै साझा रङ्गमञ्च हलको रुपमा रुपान्तरण र पुनर्निर्माण गर्ने ख) धरान–१७ मा बन्दै गरेको सप्तरङ्गी पार्कमा पर्यात जग्गा रहेको हुँदा त्यसको परिधिभित्रै आधुनिक रङ्गमञ्च हल निर्माण गर्ने । ग) धरान नगरपालिकाले अनाम नाट्य जमातलाई दिएको तर हाल बेवारिस रहेको जग्गामा सबै मिलेर साझा रङ्गमञ्च हलको निर्माण गर्न सहमति गर्ने ।
७. उपसंहार हरेक ठूला काम वा सिर्जना गर्दा प्रतिबद्धता र दृढ संकल्पको आवश्यक्ता पर्दछ । धरानको रङ्गमञ्चीय समस्यालाई समाधन गर्न अब सामूहिक प्रतिबद्धता र दृढ संकल्प गर्नु पर्दछ । पुरानो ढाँचा र ढर्रालाई तोडेर नै नयाँ निर्माण हुने हुँदा हामीले नर्याँ सम्भावनाहरु खोज्नै पर्दछ । अनिमात्र रङ्गकर्म वा नाट्यकर्मको नाम लिनेबित्तिकै एक वृहत् आकाशको स्मरण हुनेछ र धराने रङ्गकर्मीहरुका लागि त्यो रङ्गमञ्चको राष्टिय आकाश हो, जहाँ नक्षत्रसरह चम्किरहन सक्नेछन् । एक परिपक्व रङ्गकर्मीको अपेक्षा यही गरेका हुन्छन् कि उसले ’रंगको आकाश’ मा राजहाँस सरह उडान भर्न सकोस्, कल्पनाका पखेटाहरु जडेर रंगमञ्चको दूर क्षितिज अर्थात् अन्तर्राष्ट्रिय सीमासम्म पुग्न सकोस् । हामीले अब यसै लक्षलाई पूरा गर्न कृतसङ्कल्पित भएर लाग्नु पर्दछ । अन्य कुराहरु तपसीलका विषय र प्रसङ्गहरु हुन् । धराने रङ्गकर्मलाई जीवित र गतिशील राख्ने हो भने धरानमा विद्यमान रङ्गमञ्चीय समस्यहरुमो जड एउटा रङ्गमञ्च हल निर्माण गर्न सबैले एकीकृत रुपमा प्रयत्नशील हुुन पर्दछ । लेखक आरम्भ नाट्य डबलीका अध्यक्ष हुनुहुन्छ ।