धरान /२०३० मा निर्माण भएको कर्भड हल । हलसँगै जोडिएको पूर्व–पश्चिमको सडक । सडकको उत्तर तर्फ टीनले छाएको एकतले काठको घर । कर्भड हल र त्यो घरबीच यति सन्निकटता छ कि जसले उनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनायो । tt gita1 २०३० साल असोज १२ गते जन्मिएकी टेबलटेनिस स्वयमसेवक प्रशिक्षक गीता थापा मगरको सम्बन्ध पनि हलसँगै उत्तिकै निकट छ । हल नै उनको आगन थियो । त्यही आगनमा रमाउँदा रमाउँदै दाजूभाइले उनलाई हलसँग जोडिदिए टेवलटेनिस मार्फत् । दाजुभाइले पिङपङ (टिटीको बल) हान्दा उनलाई पनि त्यो पिङपङले तान्थ्यो । ८–१० को गुडिया, माटोको भाडा खेलाउने उमेरदेखि नै उनको लत बस्न थाल्यो । अग्रज दाईहरु विनोद शाक्य, विजय शाक्य, किरण श्रेष्ठको हौसलाले थप टिटीसँग उनको गहिरो प्रेम बस्यो । तर, त्यो बेला बुबाको खप्की खाइने डरले खेल्न हच्किन्थिन् । घर अघि नै भएकाले लुकिचोरी एकदुईपटक खेलि नै हाल्थिन् । शिक्षा निकेतन माविबाट २०४८ सालमा एसएलसी दिएपछि टिटीसँगको प्रेम बाक्लियो । बुबाको खप्की खाएरै भए नी २०४९ सालदेखि टिटी मोहले यति गाज्यो कि उनी त्यसबाट छुटकारा पाउँनै सकिनन् । र, त उनले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा टिटी खेलाडीले चिनिइन् । २०५१ सालमा प्रथमपटक धनगडीमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा भिडेपछि लेजिड जुनियरमा गोल्डमेडल र सिनियरमा कास्य पदक जितेर घर फर्किएपछि बुबाको खप्की प्रेममा बदलियो । २१ वर्षकी उनी निरन्तर टिटीबाट आफूलाई स्थापित गराइरहिन । २०५३ सालमा जनकपुरमा सम्पन्न सिनियर सिंगलमा रजत पदक र वुमन टिम इभेन्ट्समा कास्य जितेपछि थप हौसला मिलेको उनी बताउँछिन् । आमा नरमायाको प्रेरणाले उनी टिटीमा टिक्न सकिन् । ‘बुबाले टिटी खेलेको पनि मनपराउनु हुन्नथ्यो । तर, आमाले खेलोस् न त भनेपछि केही छुट पाइन्थ्यो ।’ उनी भन्छिन् ‘पछि नेसनल खेल जितेपछि बुबा निक्कै खुसी हुनुभयो । त्यसपछि रोकटोक गर्नुभएन् ।’ तत्कालीन समयकी उम्दा टिटी खेलाडी गीता २०५५ मा नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा सिनियर तर्फ सन्ध्या शाक्यलाई पछारिन् । शाक्य त्यो बेला अर्की उम्दा खेलाडी थिइन । जसलाई जित्नु फलामको चिउरा चपाउनु जतिकै थियो । केटाहरु जतिकै सर्ट प्रहार गर्ने भएकाले पनि उनलाई निक्कै आक्रामक खेलाडीको रुपमा चिनिथ्यो । ‘त्यही बेला मैले उनलाई हराउँदै गोल्डमेडल जितेँ ।’ उनी विगत सम्झिन्छिन् । २०५८ सालमा काठमाडौंमा भएको ३१ औं राष्ट्रिय टेवलटेनिस प्रतियोगितामा पनि शाक्यलाई पछार्दै गोल्डमेडलिष्ट बनिन् । तर, त्यो जित २०६२ मा पीडादायी खेल बनिदियो । सेमिफाइलनमा भक्तपुरकी मुना बासुकलासँगको प्रतिस्पर्धामा नराम्रो पराजय भोगिन् । ‘त्यो हार मेरो लागि निक्कै पीडादायी बन्यो ।’ उनी भन्छिन् ‘नम्बर वान भइरहँदा आफ्नो शाख जोगाउन निक्कै हम्मे हुदो रहेछ । त्यो हारको पीडालाई भुलाउनकै लागि गरेको मेहनत २०६५ को पाँचौं राष्ट्रिय खेलकुदमा प्राप्त भयो । उनले २०६५ मा अर्का गोलमेडलिष्ट रीता प्रजापतिलाई हराउँदै गोल्डमेडल हात पारिन । ... . . .. . . . .. .. ....... . . . . . उनी यही बीचमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि छाइरहिन् । खेलमा अब्बलता प्रस्तुत गर्दै सन् १९९५ सालमा सम्पन्न ७ औं साफ खेलकुदमा वुमन टिम इभेन्टमा चौथो हुँदै घर फर्किइन् । तर, त्यतिमै यात्रा रोकिएन् । सन् १९९९ काठमाडौंमा सम्पन्न ८ औं साफमा भने लेडिज टिम इभेन्टमा कास्य र मिक्स डबल्समा पनि कास्य पदक जित्दै टिटीको पर्याय बनिन् । सन् १९९६ मा बंगलादेशको राजधानी ढाँकामा भएको सिल्भर जुब्ली इनडिपेन्डेन्टस टुनामेन्टको वुमन टिम इभेन्ट र वुमन डब्बल्स दुबैमा गोल्डमेडल हात पारिन् । यसले उचाई थप बढाइदियो । सन् १९९७ मा सिंगापुरमा सम्पन्न एसियन च्याम्पियनसीप, १९९८ थाइल्याण्डमा सम्पन्न एसियन गेम्स र सन् २००० मा चीन र २००२ मा भारतको लखनउमा भएको एसियन च्याम्प्निसीपमा उनी सहभागी बनिन् । तर, उपाधिविहीन बनिन् । यही क्रममा २०५७ सालमा अन्तर्राष्ट्रिय प्रतियोगितामा छनौट भएर पनि बेलायतको म्यानचेष्टरमा सम्पन्न वल्र्ड च्याम्यिसनसीपमा सहभागी हुन पाइनन् । भन्छिन् ‘हामी सेलेक्ट भयौं । तर, राष्ट्रिय खेलकुद परिषद्को आन्तरिक झगडा र विदेशमा नेपाली खेलाडीहरु भगिदिने कारणले भिषा नदिने भयो । अहिले पनि त्यहाँ जान नपाएकोमा दुःख लाग्छ ।’ अन्तर्राष्ट्रिय खेलमा सहभागी बन्ने ठूलो सौभाग्य गुमाउनु पर्दाको पीडा यतिखेर पनि उनको अनुहारमा झल्किन्छ । एउटासम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने उनको ठूलो अभिलाषा थियो । तर, विविध कारणले गुमाइन् । ........ . . . . .. गोरखा दक्षिणबाहु पाँचौं र त्रिशक्तिपट्ट पाँचौं पाउने धरानको एक्ली भाग्यमानी खेलाडीमा उनी पर्छिन् । त्यस्ता प्रतिभा गीता अहिले गुमनाम छिन् । श्री ५ विरेन्द्र बीरविक्रम साहबाट २०५६ सालमा गोरखा दक्षिणबाहु पाउँदाको क्षण उनी बयान गर्न सक्दिनन् । ‘डर थियो, निक्कै नर्भस थिएँ । फेस टु फेस राजालाई देख्दा मुटु नै ढकढक गरेको थियो ।’ उनी त्यो दिन सम्झिन्छिन्, ‘तर, पाएको क्षण आफूलाई निक्कै भाग्यमानी ठानेँ ।’ त्रिशक्ति पट्ट राजा ज्ञानेन्द्रको हातबाट २०६३ सालमा प्राप्त गरिन् । सन्ध्याको रेकर्ड ब्रेक गर्दै राष्ट्रिय टिटीमा छाउने उनी मोफसलकी एक्ला खेलाडी थिइन् । त्यत्रा खेलमार्फत् राज्यलाई योगदान दिने गीता अहिले टिटीमा हुनु पर्ने हो तर, आफ्नो आमाले सञ्चालनमा ल्याएको नास्ता पसल र दाजूसँगको पार्टनरमा चलाएको फेन्सीमा खुम्चिएकी छन् । राष्ट्रिय नम्बर वान गीता चीन, थाइल्याण्ड, भुटान, सिंगापुर, बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत खेल्ने क्रममै घुमिन् । उनी नेदरल्याण्डको अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि छनौट भएकी थिइन् । तर, दुभाग्र्य खेलमा राजनीतिक घुसेपछि अन्तर्राष्ट्रिय खेलमा जाने सपना सपनै रहेको बताउँछिन् । . . .. . . . . .   उनको जीवनको पहिलो कमाई घरपरिवार मै खर्च गरेको बताउँछिन् । धनगडीमा पहिलो पटक क्षेत्रीय प्रथम भएर पुग्दा त्यहाँ प्राप्त गरेको भत्ता, तालिम खर्चबाट पाएको रकम घरमा आमालाई दिएको बताउँछिन् । ‘मैले पहिलोचोटी कमाएको रकम सबै घरमै दिन्थे ।’ उनी भन्छिन् । उनले साफ खेलबाट एक लाख रुपैयासम्म प्राप्त गरिन् । त्यो रकम पनि उनले आफ्नो घरपरिवारमै खर्च गरिन् । खेलकुदमा लागेर उनी खुसी छिन् । तर, खेलकुदमा गरेको लगानीलाई राज्यले नसम्झिदा भने राज्यप्रति उनका गुनासोका चाङ बनेर बसेका छन् । भन्छिन् ‘खेलेर लाइफ बिग्रियो भन्ने लाग्दैन । तर, योगदानको कदर भएन् भन्ने गुनासो लाग्छ । राज्य विरुद्ध विरोध गर्दैै हिड्नु जस्तै लाग्छ ।’ राजनीतिक भागबण्डाको शिकारबाट उनी ग्रसित छिन् । जीवनराम श्रेष्ठ खेलकुद परिषद्को सदस्य सचिव हुँदा स्वयमसेवक प्रशिक्षकमा नियुक्त पत्र हात त पारिन् । तर, त्यही रात राजनीतिक दवावपछि श्रेष्ठले राजिनामा दिनु परेपछि उनको नियुक्ती पत्र पनि श्रेष्ठसँगै सहिद भएको बताउँछिन् । ‘नियुक्ती पत्र पाएको भोलीपल्टै राजिनामा दिएपछि मैले जागिर खाने सपना पनि चकनाचुर भयो ।’ उनी भन्छिन् । उनीका स्पर्धी सन्ध्या भने अहिले करारमा जागिर खादैछिन् । राजनीतिले खेल क्षेत्रलाई बिगारेको दाबी गर्ने उनी ‘खेलमा राजनीतिक हावी हुनुहुदैन’ भन्ने तर्क गर्छिन् । २०६७ सालमा मिक मार्फत् बिहे गरेकी उनको हाल २ जना छोरीहरु छन् । श्रीमान चितवनको भए पनि उनी अहिले धरानमै बसिरहेकी छन् । उनी अहिले फुर्सदिली छन् । अहिले त्यही कभर्ड हल अघि उनको दिनचर्या बित्छ । तर, दुईदशक अघिको त्यो गीतामा उति जोस छैन् । जति दुईदशक अघि थियो ।   उनलाई टिटीको प्रशिक्षण गराउने शौख छ । तर, यहाँ त्यो अवसर कसैले प्रदान नर्गदा दुःखी हुन्छिन् । तीनवर्ष अघिसम्म पोखरामा श्रीमानसँग रहेकी उनले त्यहाँ भने स्वयमसेवक प्रशिक्षकको रुपमा कार्यरत थिइन् । तर, आफ्नै जन्मभूमिमा टिटीमा उनी विरानो झै छिन् । अव उनको एउटै धोको छ आफ्नो कान्छी छोरीलाई टिटीको खेलाडी बनाउने । गोरखा दक्षिणबाहु र त्रिशक्तिपट्टबाट सम्मानित यी खेलाडीको योगदानलाई राज्यले कहिले सम्झेला ?