धनकुटा/ जिल्ला अस्पताल धनकुटा सहित जिल्लाका विभिन्न ग्रामिण भेगमा रहेका स्वास्थ्य चौकीहरुमा भाईरल ज्वरोका विरामीको चाप वढेको पाइएको छ । साउन महिनाको पहिलो साता देखि जिल्ला अस्पताल धनकुटा तथा जिल्लाका अन्य ग्रामीण स्वास्थ्य केन्द्रहरुमा बिरामीको चाँप बढेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । सामान्य अवस्थामा दैनिक ८० देखि १ सय जना सम्म अस्पतालमा उपचार गर्न आउने गरेकोमा अहिले दैनिक १ सय १० जना देखि १ सय ८० जनासम्म विरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख डा.मदनकुमार उपाध्यायले बताएका छन् ।
जिल्ला अस्पताल धनकुटाको ओपीडीमा उपचार गर्न आउने बिरामीहरुमा विशेष गरेर टाउको दुख्ने, रुघाखोकी, ज्वरो आउने, झाडापखाला, टाइफाइट, निमोनिया भएका बिरामीहरु आउने गरेका छन् । बिरामीहरुलाई खान मन नहुने र शरीर शिथिल हुने गरेको छ । १५ शैया रहेको जिल्ला अस्पताल धनकुटामा अहिले बिरामी चाँप बढेसँगै बिरामी राख्न समस्या देखिन थालेको छ ।
नेपाल सरकारले १५ शैयाको मात्र अनुमति दिएपनि ३५ बेडसम्म अस्पतालले संचालन गर्दै आएकाले बिरामीलाई बेड भर्ना गरेर उपचार गर्न केही सहज रहेको डा.उपाध्यायले बताए । अस्पतालमा उपचार गर्न आउनेको बिरामीको संख्या ओपीडीमा मात्र नभएर आकस्मिक कक्षमा पनि बढेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या वृद्धि हुनुमा मौसम परिवर्तन, दुषित पिउने पानी, सडेगलेका खानेकुरा, सरसरफाईमा ध्यान नदिनु मुख्य कारण भएको स्वास्थकर्मीहरुले वताएका छन् ।
साउन महिनाको सुरुवाती देखि नै भाइरल ज्वरो, झाडापखाला, रुघाखोकी, दम लगायतका बिरामीको संख्या बढी रहेको छ । त्यसैले पानी उमालेर पिउने, बासी सडेगलेका खानेकुरा नखाने, साबुन पानीले राम्ररी हात धोएर मात्र खानेकुरा खाने र आफुलाई सामान्य अवस्था भन्दा फरक रहेको महसुस भएमा वा असहज जस्तो भएमा तत्काल नजिकैको स्वास्थ्य चौकीमा गएर स्वास्थ्यकर्मीको सल्लाह लिएर उपचार गर्न जिल्ला स्वास्थ्य कार्यालय धनकुटामा प्रमुख डा. मदन कुमार.उपाध्यायले सुझाव दिएका छन् ।