साउन महिना शुरु भएदेखि नै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वी पहाडी भेगबाट ज्वरो आएर औषधि खाँदाखाँदै पनि निको हुनुको सट्टा झन् जटिल भएर रिफर गरिएका बच्चाहरुको सङ्ख्या बढ्न थालेको छ । गत वर्ष पनि यही बेलातिर सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङलगायतका जिल्लाबाट यस्तै प्रकृतिका समस्या लिएर बच्चाहरु प्रतिष्ठानमा भर्ना भएका थिए । साधारणतया प्रयोग गरिने एन्टीबायोटिक तथा औषधिहरु प्रयोग गर्दा र बाल सघन उपचार कक्षमा राखेर उपचार गर्दासमेत उस्तै लक्षण तथा जटिलताहरु देखाउँदै केही बच्चाको ज्यान गएपछि कुनै नयाँ रोग पैmलिएको हो कि भनेर थप परीक्षणहरु गर्दै जाँदा एकैपटक छजना बच्चामा स्क्रब टाइफस रोग भएको प्रमाणित भयो ।
धरानबाट पूर्वी पहाडी भेगमा स्क्रब टाइफस रोग देखिएको समाचारसँगै इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्पmत् अन्तरिम उपचार निर्देशिका जारी भएपछि देशभरि अन्य ठाउँबाट पनि ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सुन्निने, डाबर आउनेजस्ता लक्षण भएका बिरामीहरुको रगत परीक्षणका लागि काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुग्न थाल्यो । २०७२ असोज १८ गतेसम्ममा इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले मुख्यतया सङ्खुवासभा, भोजपुर, खोटाङ, धादिङ, धनगढी, कैलाली, डोटी, अछामलगायत देशभरबाट ७५ जनामा यो रोग देखिएको जानकारी दिएको थियो । विश्व स्वास्थ्य सङ्गठनको विज्ञ टोलीमार्पmत् महाशाखाले गरेको अध्ययनबाट धादिङ जिल्लामा मुसा र मानिसमा एकसाथ स्क्रब टाइफस गराउने किटाणु फेला पारेको थियो र भूकम्पपश्चात् भत्केका घरहरुबाट निस्केका मुसाहरु सङ्क्रमित भएर वर्षात्को बेला मानिसमा पनि रोग पैmलिएको निष्कर्ष निकालेको थियो ।
यो साउन महिनामा बीपी प्रतिष्ठानमा भर्ना भएका स्क्रब टाइफस शङ्का गरेर रगत परीक्षणका लागि पठाइएका ११ बच्चामध्ये सबैमा यो रोग भएको प्रमाणित भयो । गत वर्षको अनुभवअनुसार रोग शङ्का लाग्नेबित्तिकै उपयुक्त औषधि शुरु गरिएको थियो र सिकिस्त बिरामी ११ मध्ये सातजनालाई पीआईसीयुमा राखेर सघन उपचार प्रदान गरिएको थियो । दुर्भाग्यवश धेरै नै गम्भीर अवस्थामा पीआईसीयु आइपुगेका कारण दुईजना बच्चालाई बचाउन सकिएन । बाँकी नौजना सकुशल छन् ।
प्रतिष्ठानमा भर्ना भएका बच्चामध्ये छजना सङ्खुवासभाका थिए भने दुईजना धनकुटा र भोजपुर, मोरङ र इलामबाट एक–एकजना आएका थिए । ११ मध्ये आठजना बालक र तीनजना बालिका थिए र उनीहरुको उमेर सात महिनादेखि १४ वर्षका थिए । सबै बच्चा किसान परिबारबाट थिए र घरनजिकै खेतीपाती, झाडी वा जङ्गल भएको बताएका थिए । धेरैजसोमा किर्नाले टोकेर हुने घाउ पनि देखिएको थियो । यसरी हेर्दा कतिपय ठाउँमा यसले मौसमी खालको महामारीको रुप लिएको देखिएको छ र अभैm एक–दुई महिना यो बढ्न सक्ने सम्भावना छ ।
हालसालै पैmलिरहेको रोग ‘स्क्रब टाइफस’ नितान्त नयाँ रोग भने होइन । दोस्रो विश्वयुद्धताका यो सङ्क्रामक रोगले लगभग ३६ हजार सैनिकको ज्यान लिएको वा सिकिस्त बिरामी पारेको अनुमान गरिएको छ । नेपालमै पनि २०५८ सालमा पाटन अस्पतालमा गरिएको एक अध्ययनमा ज्वरो आएका ८७६ जना १४ वर्षमाथिका बिरामीमध्ये २८ जनामा स्क्रब टाइफस देखिएको थियो । त्यसपछि हामीले ज्वरो आएका बिरामीहरुमा किटानीका साथ रोग पत्ता लगाउन नसकेकाले मात्र यो रोगको चर्चा नभएको हुन सक्छ । हाम्रोजस्तो कृषिप्रधान तथा वन–बुट्यानहरु प्रशस्त भएको एशियाको ‘स्क्रब त्रिकोण’ भित्र पर्ने देशमा यो पहिला पनि थियो र भविष्यमा पनि रहिरहने छ । स्क्रब टाइफस जनावरबाट सर्ने सरुवा रोग हो जुन एउटा जातको किर्ना (त्रोम्बिक्युलिड माइट) को टोकाइबाट मान्छेमा सर्छ, तर मान्छेबाट मान्छेमा भने सर्दैन । यो रोग गराउने रिकेट्सिया जातको किटाणु (ओरिएनसिया सुसुगुमुसी) उक्त किर्नामा हुर्किन्छन् र आफ्नो जीवन चक्र चलाइरहन्छन् । जब नाङ्गो आँखाले देख्न नसकिने उक्त माइटको लार्भा (जसलाई सिगर भनिन्छ) ले मुसाजस्ता साना स्तनधारी जनावर वा मानिसलाई टोक्छ, यो रोग लाग्छ । प्रायःजसो वर्षात्को बेलामा घाँसपात र झाडीहरु बढ्ने हुँदा उक्त किराका लागि हावापानी मिल्न जान्छ र यो रोग पैmलिने गर्छ । तर विभिन्न ठाउँमा अरु मौसम र जङ्गल फँडानी भएको ठाउँ, नदी किनार आदिबाट पनि स्क्रब टाइफस देखिएको छ ।
किर्नाले टोकेको ५ देखि २० दिनपछि अकस्मात् चर्को कामज्वरो आउँछ र ज्वरोसँगै टाउको दुख्ने, वान्ता हुने, पखाला लाग्ने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, आँखा रातो हुनेजस्ता लक्षण देखिन्छ, जुन धेरै खाले सङ्क्रामक रोगमा पनि देखिन्छ । किराले टोकेको ठाउँमा दुख्दैन र शुरुमा अलिअलि चिलाउँछ । बिस्तारै चुरोटको ठुटोले पोलेको जस्तो घाउ बन्छ जुन धेरैजसो घाँटी–कानको पछाडि, काखीमुनि वा कासनिर देखिन्छ । धेरैजसोमा ‘इस्चार’ भनेर चिनिने यस्तो घाउ देखिने भए पनि केही बिरामीमा नदेखिन सक्छ र उनीहरुमा यो रोग झन् घातक हुने गरेको देखिएको छ ।
सही औषधि प्रयोग गरेर रोग नियन्त्रण गर्न नसक्ने हो भने दोस्रो हप्तातिर शरीरका प्रायःजसो अङ्गमा गम्भीर असर गर्न थाल्छ । विशेष गरी मस्तिष्क, मुटु, छाती, रगत र बिस्तारै मृगौलामा असर गर्न थाल्छ । त्यति बेला उपचार जटिल हुने मात्र हैन, बिरामीलाई बचाउन नसकिने पनि हुन सक्छ । बिरामीको शारीरिक जाँच, रगतमा गरिने केही जाँचहरु, छातीको एक्स–रे आदिबाट लामो समयदेखि ज्वरो आएका वा छालामा दाग देखिएका बिरामीहरुमा स्क्रब टाइफस हो कि भनेर अनुमान गर्न सकिन्छ । रिकेट्सियाको सङ्क्रमणको एउटा प्रकार हो– स्क्रब टाइफस । बजारमा उपलब्ध किटको प्रयोग गरेर ल्याब सुविधा भएका धेरैजसो अस्पतालमा यो पत्ता लगाउन सकिनुपर्ने हो । तर हालसम्म रगतको उक्त परीक्षण नियमित रुपमा उपलब्ध छैन । तत्कालका लागि रगतको जाँच गरेर स्क्रब टाइफस निदान गर्न राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा मात्र सम्भव छ । त्यसैले रोग पैmलिएका दुर्गम जिल्लाहरु वा तिनीहरुको नजिक पर्ने ठूला अस्पतालमा समेत समयमै रोग पत्ता लाग्न सकिरहेको छैन । अझ उपयुक्त रिअजेन्ट उपलब्ध हुन सके बीपी प्रतिष्ठानमा रगतको पीसीआर जाँच गरेर यो रोग गराउने किटाणुको प्रजाति नै यकिन गर्न सकिने प्राविधिक तथा जनशक्ति रहेको छ । हालका लागि रगतको जाँचबाट तुरुन्त रोग पत्ता लगाउने सुविधा भए पनि ठूलो राहत मिल्ने थियो ।
स्क्रब टाइफसमा प्रयोग गरिने सबैभन्दा भरपर्दो औषधि डक्सीसाइक्लिन वा क्लोरामफेनिकोल हुन् जुन हामीले धेरैजसो सङ्क्रमणमा प्रयोग गर्न औषधिभित्र पर्दैन । यी दुईले काम नगरेको अवस्थामा वा बच्चाहरुमा अजिथ्रोमाइसिन प्रयोग गर्न सिफारिस गरिएको छ । जटिलता उत्पन्न भयो भने गरिने उपचार भनेको सघन कक्षमा राखेर गरिने अवस्थाअनुसारको सहयोगी उपचार मात्र हो । उपचार नगर्दा स्क्रब टाइफसले गर्दा ३० प्रतिशतसम्म बिरामीको ज्यान गएको तथ्याङ्कले देखाउँछ । बच्चाहरुमा ६० प्रतिशतसम्मको ज्यान जान सक्छ तर समयमै उपयुक्त उपचार गर्दा धेरैजसो बिरामीको जीवन रक्षा गर्न सकिन्छ । दुर्भाग्यको कुरा, आजसम्म स्क्रब टाइफसविरुद्ध प्रभावकारी खोप बन्न सकेको छैन र वैज्ञानिकहरुका लागि यो निकै चुनौतीपूर्ण पनि देखिएको छ । खास–खास अवस्थामा यो रोगबाट बचाउन केही समयका लागि पाँच दिनको फरकमा एक डोजको दरले खाने औषधि भए पनि सङ्क्रमण हुनसक्ने ठाउँमा सबैका लागि यो तरिका प्रयोग गर्न सिफारिस गरिएको छैन ।
अतः स्क्रब टाइफस रोग लाग्नबाट बचाउने एक मात्र विकल्प भनेको यो रोग सार्ने किर्ना (माइट) को नियन्त्रण गर्नु र त्यसको टोकाइबाट बच्नु नै हो । जुन ठाउँमा रोग पैmलिएको छ, त्यहाँका बासिन्दा वा त्यहाँ जाने यात्रुले पूरा शरीर छोप्ने कपडा लगाउन र सम्भव भए कपडा वा छालामा किरा भगाउने औषधि प्रयोग गर्न सक्छन् । त्यस्तै खुला भूइँ वा झारहरु उम्रेको चौरमा केही नओच्छ्याई सुत्नु वा बस्नु हुँदैन । घरवरपर, खेल्ने चौर वा पार्कहरुमा वर्षाको बेलामा उम्रने झारपात र बिरुवाहरु हटाउनुपर्छ । विशेष गरी बच्चाहरुलाई किर्नाको टोकाइबाट बचाउन अभिभावक नै चनाखो हुनु जरुरी छ ।
स्क्रब टाइफस रोग नियन्त्रण गर्न यसको एउटा भण्डार मुसाको नियन्त्रण पनि महत्वपूर्ण उपाय हो । भूइँचालोले भत्काएका र खण्डहर भएर बसेका पहाडी बस्तीहरुमा वर्षात्को बेला मुसा नियन्त्रण पनि कम चुनौतीपूर्ण नहोला । त्यै पनि विष वा मुसादानी प्रयोग गरेर, मुसा खाने जनावर प्रयोग गरेर, सरसफाइ गरेर वा झाडी फाँडेर मुसाको वासस्थान नै हटाइदिएर केही हदसम्म मुसा कम गर्न सकिन्छ । बिरामी, अभिभावक र स्थानीय स्वास्थ्यकर्मीहरुले स्क्रब टाइफसका लक्षणहरु चिनेर उपयुक्त ठाउँमा गई र पठाई समयमै निदान र उपचार गर्न सके बिरामीलाई बचाउन मात्र हैन, रोग नियन्त्रणमा समेत सहयोग पुग्छ । स्कुलमा विद्यार्थी र शिक्षकहरु, महिला समूह र स्थानीय संस्थाहरुमार्पmत् यो रोगबारे सचेतना जगाउन सके रोग नियन्त्रण र सामयिक उपचारमा ठूलो टेवा पुग्छ । स्क्रब टाइफसबारे हामीले गर्न सक्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो रोगबारे सचेतना नै हो । समयमै रोग चिनेर सही किसिमको एन्टीबायोटिक औषधि (जुन सामान्यतया प्रयोग गरिनेभन्दा अलि फरक हुन्छ) प्रयोग गर्दा यो रोग निको पार्न सकिन्छ । तर एक हप्ताभन्दा बढी समय ज्वरो ठीक नभई अन्य जटिलता देखिन थालेपछि यसले ज्यान पनि लिन सक्छ भन्ने कुरा बिरामी र सबै तहका स्वास्थ्यकर्मीले थाहा पाउनुपर्छ । यो रोग एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सिधै सम्पर्क वा रगतबाट सर्दैन । बिरामीको स्याहार वा उपचारका बेला सर्वव्यापी सावधानीबाहेक विशेष सावधानी आवश्यक पर्दैन । अर्को महत्वपूर्ण विषय भनेको यसका शुरुआती लक्षण ज्वरो टाइफाइड, डेँगी, मलेरिया, भाइरल ज्वरोजस्ता अन्य कारणहरुमा जस्तै हुन्छ जसले गर्दा ज्वरोको कारण स्क्रब टाइफस हो कि भनेर शङ्का गर्न समय लाग्ने गर्छ । स्थानीय स्वास्थ्यकर्मीहरुलाई शङ्कास्पद स्क्रब टाइफसमा रगत परीक्षणका लागि पठाएर सही औषधि समयमै उपचार शुरु गर्ने र जटिलता आएमा तुरुन्त रिफर गर्न बेबास्ता गर्न सके यो रोगका कारण ज्यान जानबाट बचाउन सकिन्छ । (बालरोग विशेषज्ञ डा धरेल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपप्राध्यापक छन् ।)