विजयपुर/ ‘स्क्रब टाइफस’ को सङ्क्रमण बढ्न थालेपछि चिकित्सकहरुले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । घरबाहिर र घरभित्रको सरसफाइमा ध्यान दिन तथा पैदल हिँड्दा खाली खुट्टा नहिँड्न चिकित्सकको आग्रह छ । सन् १९१५ मा युरोपका लडाकूहरुमा देखिएको ‘स्क्रब टाइफस’ को सङ्क्रमण नेपालमा पनि देखिएको छ । ‘स्क्रब टाइफस’ का कारण गत वर्ष पूर्वी नेपालमा चारजना बालबालिकाको मृत्यु भएको थियो ।
यो वर्ष यसै रोगबाट पूर्वी पहाडी जिल्लाका दुई बच्चाको मृत्यु भएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका बालरोग विशेषज्ञ डा दिनेश धरेलका अनुसार ‘स्क्रब टाइफस’ बाट सङ्क्रमित ९ जना बच्चाको उपचार अहिले प्रतिष्ठानमै भइरहेको छ । चिकित्सकहरुले यसको सङ्क्रमण पैmलन सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
अहिले धनकुटा, भोजपुर, सङ्खुवासभा, इलाम र खोटाङमा यसका बिरामी भेटिएका छन् । गत असोज १८ गतेसम्ममा इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले मुख्यतया सङ्खुवासभा, भोजपुर, खोटाङ, धादिङ, धनगढी, कैलाली, डोटी, अछामलगायत देशभरबाट ७५ जनामा यो रोग देखिएको जानकारी दिएको थियो । यो वर्ष पश्चिम नेपालमा पनि यो रोग देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनको अध्ययन टोलीले पश्चिम नेपालमा भूकम्पप्रभावित क्षेत्रबाट ‘स्क्रब टाइफस’ शुरु भएको बताएको छ । यो वर्ष नेपालमा यसबाट कति सङ्क्रमित छन् भन्ने तथ्याङ्क सार्वजनिक हुन बाँकी छ ।
व्यक्तिगत सरसफाइ, खाद्य स्वच्छता तथा मुसाको प्रत्यक्ष तथा अप्रत्यक्ष सङ्क्रमणबाट जोगिनु नै अहिलेका लागि महत्वपूर्ण हुने डाक्टरहरुको भनाइ छ । यसैबीच, धनकुटाको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले मातहतका सबै जिल्लालाई सतर्कता अपनाउन निर्देशन दिएको छ । निर्देशनालयले गत बुधबार पूर्वका १६ वटै जिल्लाका जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिँदै ‘स्क्रब टाइफस’ को लक्षण देखिनासाथ बिरामीको उपचारको व्यवस्था मिलाउन र थप उपचार गर्नुपर्ने भए धरानको बीपी प्रतिष्ठानमा रेफर गर्न निर्देशन दिएको थियो । यसको उपचारका लागि आवश्यक पर्ने डोक्सिक्लीन, क्लोरमफेनिकोल, सिप्रोप्mलोक्सिन, टेट्रासाइक्लिन, अजिथ्रोमाइसिनजस्ता एन्टिबायोटिकहरु सबै जिल्ला स्वास्थ्य कार्यालय र अस्पतालहरुमा व्यवस्था गर्न निर्देशनालयले निर्देशनसमेत दिएको छ । यसको उपचारका लागि ‘पेडिएट्रिक विभाग’ लाई सतर्क अवस्थामा राखिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा नारायण भट्टराईले ‘स्क्रब टाइफस’ को उपचारका लागि प्रतिष्ठान तयारी अवस्थामा रहे पनि त्यसको पहिचानका लागि ल्याब नभएको बताए । ‘यसको उपचार हुन सक्छ तर पहिचान गर्न हामीलाई समस्या भएको छ ।’ उनले भने ।
स्क्रब टाइफस जनावरबाट सर्ने सरुवा रोग हो । यो एक प्रकारको किर्ना (त्रोम्बिक्युलिड माइट) को टोकाइबाट मान्छेमा सर्ने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा दिनेश धरेलले बताए । ‘यो रोग गराउने रिकेट्सिया जातको किटाणु (ओरिएनसिया सुसुगुमुसी) उक्त किर्नामा हुर्किन्छन् र आफ्नो जीवन चक्र चलाइरहन्छन्’, डा धरेलले भने, ‘नाङ्गो आँखाले देख्न नसकिने उक्त माइटको लार्भा (जसलाई सिगर भनिन्छ) ले मुसाजस्ता साना स्तनधारी जनावर वा मानिसलाई टोक्छ, यो रोग लाग्छ ।’ उनका अनुसार प्रायःजसो वर्षात्को बेलामा घाँसपात र झाडीहरु बढ्ने हुँदा सो किराका लागि हावापानी मिल्न जान्छ र यो रोग पैmलिने गर्छ । यो रोगका कारण दक्षिण अमेरिकाको मेक्सिको, अस्ट्रेलिया, भारतजस्ता देशहरुमा समेत ठूलो मानवीय क्षति भएको पाइएको छ ।