सन् १९१५ मा युरोपका लडाकूहरुमा देखिएको ‘स्क्रब टाइफस’ को सङ्क्रमण यति बेला नेपालमा देखिएको छ । पूर्वमा दुईजनाको मृत्यु भइसकेको छ । ९ जना बिरामी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् छन् । ०७२ असोज १८ गतेसम्ममा इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले मुख्यतया सङ्खुवासभा, भोजपुर, खोटाङ, धादिङ, धनगढी, कैलाली, डोटी, अछामलगायत देशभरबाट ७५ जनामा यो रोग देखिएको जानकारी दिएको थियो । विश्व स्वास्थ्य सङ्गठनको अध्ययन टोलीले पश्चिम नेपालमा भूकम्पप्रभावित क्षेत्रबाट ‘स्क्रब टाइफस’ शुरु भएको बताएको छ । पछिल्लो समय डरलाग्दो रुप लि“दै आएको स्क्रब टाइफसबाट बच्न सजगता अपनाउन जरुरी भएको छ । व्यक्तिगत सरसफाइ, खाद्य स्वच्छता तथा मुसाको प्रत्यक्ष तथा अप्रत्यक्ष सङ्क्रमणबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । पूर्वको बीपी प्रतिष्ठान धरानमा उपचार हुँदै आएको छ तर परीक्षणका लागि काठमाडौँस्थित इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा मात्र हुने भएकाले उपचारमा समस्या देखिएको छ । चिकित्सकहरुका अनुसार पाँच वर्षमुनिका बालबालिकामा यस्तो रोग देखा परेको हप्ता दिनसम्ममा उपचार नपाउँदा मृत्यु हुने सम्भावना अत्यधिक हुन्छ तर यो रोगको परीक्षण गरी काठमाडौँबाट रिपोर्ट आउन नै एक हप्ताभन्दा बढी समय लाग्छ । यस्तो समस्याले कतिपय बालबालिकालाई बचाउन जटिलता देखिएको चिकित्सकहरु बताउँछन् । समयमा रोगको पहिचान गर्न नसक्नु वा पहिचान गर्ने साधन उपलब्ध नहुनु बिरामीको उपचार नहुनुसरह हो । रोग लागेको हप्ता दिनमा बिरामीको मृत्यु हुनसक्ने यस्ता गम्भीर रोगको परीक्षणको सुविधा स्वास्थ्य संस्थाहरुमा उपलब्ध नहुनु विडम्बनाको विषय हो । राज्यले यस्ता जटिलताप्रति बेलैमा ध्यान पु¥याउनुपर्छ । दक्षिण एशियाकै उत्कृष्टमध्येमा पर्ने बीपी प्रतिष्ठानजस्तो अस्पतालमा यो रोगको परीक्षण गर्ने प्रयोगशाला नहुनु उज्यालो नेपालको सङ्केत होइन । बाच्न सक्ने मान्छेको मृत्यु यस्तै जटिलताका कारण भइरहेको खबर सार्वजनिक भइरहने गर्छन् । कुन अस्पतालमा कुन प्रकृतिको बिरामीको उपचार हुन्छ भन्ने जानकारीको अभावमा पनि बिरामीको मृत्यु हुने गर्छ । यस्तो अवस्थामा स्थानीय पनि अस्पतालबारे जानकार हुनु जरुरी छ । रोग आएपछि उपचार खोज्नुभन्दा पनि रोग आउनुअगि नै सतर्क हुनु बुद्धिमानी हो । बेलाबेलामा आउने यस्ता स्वास्थ्य समस्याप्रति स्थानीय पनि सचेत हुनु जरुरी छ । स्क्रब टाइफसजस्ता गम्भीर प्रकृतिका रोगको परीक्षण प्रतिष्ठानमै गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण हुनुपर्छ । स्रोत–साधनबाट सम्पन्न अस्पतालबाट सानातिना परीक्षण गर्न राजधानी नै नमूना पठाउनुपर्ने अवस्था आउनुलाई राम्रो मान्न सकिँदैन ।