धरान /‘रक्तदान, जीवनदान’ यो भनाइलाई थप सिद्ध गर्न झापा कनकाई नगरपालिका–४ का युवराज मैनाली रगतदान अभियानका सम्बाहक बन्न प्रयत्नरत छन् । उनी जहाँ जहाँ पुग्छन् । मान्छेलाई रगत दिनुपर्छ भन्ने सचेतना फैलाउँछन् । जव नेपालले २०७२ बैसाख १२ र २९ को विनासकारी भूकम्पको सामाना ग¥यो । त्यसपछि यि मैनालीलाई लाग्यो, यस्तो परिस्थितिमा आफ्नो तर्फबाट केही गर्ने ? तर, के गर्ने ? केही सुझेन झट्टै । त्यही बेला रगत अभावको कुराहरु समाचारमा पढ्न थालेपछि भने उनलाई लाग्यो, रगतदान गर्दै विश्वको नम्बर वान हुने र अन्यलाई पनि सचेतना गराउने । त्यो योजनालाई सार्थकता दिन पनि सुरु गरिहाले । १४ महिना अघिको भूकम्पका कारण ‘रक्तदान, जीवनदान’ को नारा थप चोटिलो लाग्यो । त्यस अघि पनि मैनालीले छिटफुट रगत दान नगरेको होइनन् । तर, भूकम्पपछि मात्रै उनको मस्तिस्कमा यो चेतना विश्वभरी नै फैलाउनु पर्छ भन्ने लागेको उनी बताउँछन् । त्यही भएर अहिले उनी विश्वभर पुग्ने यतारीमा साइकलमा निस्किएका छन् । हालसम्म उनले १६ पटक रक्तदान गरिसकेँ । विश्वको एकनम्बर रक्तदातामा बन्ने योजना बुनेका उनले साइकलमार्फत् यो अभियान थालेका छन् । उनले अभियानलाई आफ्नै नारा दिएका छन् ‘डोनेट ब्लड सेभ लाइफ’ । उनी यही नारा लिएर साइकलमा विश्वका देशहरु पुग्दैछन् । हाल उनी भारत, भुटान, बंगलादेश, बर्मा, थाइल्याण्ड, सिंगापुर र मलेसिया पुगिसकेका छन् । उनी जहाँ जहाँ पुग्छन् । त्यहाँ त्यहा नै रगत दिने गरेका छन् । ‘हरेक तीन महिना कटेपछि रक्तदान गर्ने गरेको छु ।’ उनी भन्छन् ‘कुनै ठाउँ संयोगले रक्तदान भइरहेको छ र समय पुगेको छ भने पनि दिन्छु ।’ त्यही क्रममा अखिल नेपाल महिला संघ धरान नगरले गरेको रक्तदान कार्यक्रममा एक युनिट रगत दान गरे । उनले भने ‘संयोग मिलेकाले रक्तदान गरेको हँु ।’ उनले साइकलको अघिल्लो भागमै ‘विश्व रक्तदान जागरण साइकल यात्रा’ नामक नारा लेखेका छन् । उनी नेपालको तराई क्षेत्रको अधिकांस जिल्लामा पुगिसेकको बताउँछन् । ‘साइकल पुग्ने ठाउँहरुमा पुगिसकेको छु । तर, पहाडी जिल्ला जान सकेको छैन् ।’ उनी भन्छन् । जति देशमा पुगे उनलाई रक्तदान गर्न असहज मुस्लिम देशहरुमा भएको अनुभूति बाड्छन् । ‘त्यहाँ त रगत दान गर्नुपर्छ भन्ने मानसिकता नै नभएको पाइयो ।’ उनी भन्छन्, ‘र, कतिपयमा बिरामी परिन्छ कि भन्ने त्रास देखियो ।’ मुस्लिम देशहरुमा रक्तदानको अभियान चलाउन निक्कै सकस भएको उनी बताउँछन् । ति देशहरुमा रक्तदान गर्ने परम्पराको विकास नै नभएको उनले अनुभूती साटेँ । नेपालले भूकम्पको बेला भोगेको पीडाकै कारण उनले यो साहसिक कार्यको थालनी गरेको हुन् । उनी रगत दिँदा कमजोर भइन्छ भन्ने र बिरामी परिन्छ भन्ने त्रास बोकेकाहरुलाई सचेतना गराउने योजना बोकेका छन् । ‘उनीहरुलाई सन्देश दिन पनि मैलै यो अभियानलाई केही वर्ष भित्र पूरा गर्छु ।’ उनी भन्छन् ‘रगतको बनोट प्रक्रिया बारे आम सर्वसाधारण मान्छेहरुलाई ज्ञान नहुँदा पनि यस्तो डर देखिएको पाइयो ।’ तर, जव आफूलाई रगत अभावका कारण केही समस्या हुन्छ तव भने त्यस्ता मान्छेहरुमा रगत दान गर्नु पर्ने रहेछ भन्ने ज्ञान पाएको उनी बताउँछन् । चिकित्सकहरुले हरेक ६ महिनामा रगत पुनः बन्ने भएकाले पनि यो ज्ञान सबैको लागि रहेछ भन्ने लागेरै उनी यो ज्ञान बाड्न निस्किएको बताउँछन् । उनले यो अभियान ५ देखि ६ वर्ष भित्रमा पूरा गर्ने योजना बुनेका छन् । विश्व रक्तदान जागरण साइकल यात्राका लागि पोखराका व्यवसायी सनतकुमार श्रेष्ठले साइकल दिएर सहयोग गरेको बताउँछन् । ‘पोखरा पुगेकै बेला साइकल बिग्रियो । मेरो अभियान मन परेर होला उहाँले मलाई साइकल उपहार दिनुभयो । यसले पनि मलाई थप हौसला मिलेको छ ।’ उनी भन्छन् । साइकलमा स्वास्थ्य हुने भएकाले पनि अभियानको सारथी उनले साइकललाई रोजेको बताउँछन् । उनी यो अभियानकै लागि निस्किएको १४ महिना भन्दा बढी बितिसकेको बताउँछन् । भूकम्पले खुलेको उनको चेतना विश्वभर फैलाउन कहिले सम्भव होला त्यो उनैलाई थाहा होला । blood donet अनेम संघ धरानले गरेको रक्तदानमा रगत दिँदै युवराज मैनाली । तस्बिरः उनको फेसबुक