सङ्खुवासभा/विद्युतीय उपकरणको प्रयोग नगर्दा मालपोत कार्यालयले प्रयोग गर्ने कागजात अव्यवस्थित हुने गरेको पाइएको छ । नीति, विधि, औजार र तौरतरिकाको प्रयोग नगर्दा सेवाग्राही र कार्यालयले सास्ती खेपिरहेका छन् । मालपोत कार्यालयमा प्रयोग हुने अधिकांश कागजातलाई फाइल गरेर राख्न गाह्रो हुने मालपोत कार्यालयका कर्मचारीहरु बताउँछन् । आकार ठूलो हुने भएकोले व्यक्ति–व्यक्तिका कागजातलाई दुरुस्त राख्न धेरै कठिनाइ हुने गरेको चैनपुर मालपोत कार्यालयकी प्रमुख राजकुमारी खत्रीले बताइन् । विनासाइजका कागजातलाई विस्थापन गरी विद्युतीय कागजात बनाउनुपर्ने र विधि–औजार प्रयोग गर्नुपर्ने उनको माग छ । समयअनुसार कार्यालयलाई व्यवस्थापन गर्न विभागदेखि नै पहल शुरु गर्नुपर्ने माग उनी गर्छन् । offअंशबण्डाको कागज लेख्न सबै अंशियारको लेखिनुपर्ने र नेपाली कागज नै प्रयोग गरेर सबै अदालती प्रक्रिया एकै कागजमा हुनुपर्ने व्यवस्थाले पाँच मिटर लामोसम्म जोडेर काम गर्नु परेको अनुभव कर्मचारीहरुले सुनाए । अंश भर्पाई एउटै अक्षर हुनुपर्ने, उल्टो–सुल्टो समेत मिल्नुपर्ने, बैङ्क धितो दृष्टिबन्धकजस्ता कागजातमा समस्या भएको हो । कागजात एउटै नभए जरिवानासमेत गर्न सक्ने प्रावधान भएकाले गम लगाएर टाँस्दै भए पनि लामो बनाउने गरेको अनुभव लेखापढी व्यवसायी रामप्रसाद भट्टराईले सुनाए । यो अंशबण्डको एउटा उदाहरण मात्र हो । मालपोतमा प्रयोग गरिने शतप्रतिशत कागजातमा समस्या हुने गरेको र वर्षौंदेखिका कागजात जोगाउन समस्या भएको कार्यालयको भनाइ छ । अंशियार एउटैमा हुनुपर्ने व्यवस्था भएको हुनाले कागज जोडेर भए पनि काम गर्नुपर्ने व्यवस्थाले समस्या भएको पाइएको छ । हातले लेख्दा धेरै गलत हुने र दुई प्रति सक्कलै लेख्नुपर्ने भएकाले फरक–फरक लेखाइ हुने गरेको र यसमा राज्यले कम्प्युटर प्रणालीको व्यवस्था गर्नुपर्ने लेखापढी व्यवसायी गोपाल पौडेलले माग गरे । मालपोतका अधिकांश सामग्रीका लागि नेपाली कागजको प्रयोग र गाँसेर प्रयोग गर्नुपर्ने भएकाले फाइलिङ गर्न र जोगाएर राख्न समस्या भएको कर्मचारीहरुको दुखेसो छ । सुशासन विधिमा मात्र प्रयोग भएकाले व्यवहारमा लागू गर्नुपर्ने प्रमुख खत्रीको भनाइ छ । खाँदबारीका नागरिक अगुवा टीकाराम गुरुङ कम्प्युटरले संसारलाई साँघुरो बनाएको समयमा प्रविधिलाई प्रयोग गर्न नचाहेको आरोप लगाए ।