नेपालमा सडक दुर्घटना र यात्रुहरूको मृत्यु प्रत्येक दिन सुनिन थालेको छ । यो वर्ष त झनै ठूलठूला दुर्घटना भएका छन् । पछिल्लो समय आइतबार अर्घाखाँचीमा भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । फाट्टफुट्ट भएको दुर्घटनाको हिसाब छैन । ठूलो सङ्ख्यामा सडक दुर्घटनाबाट मान्छेको ज्यान गएपनि सरकारमा कुनै गम्भीर चासो र संवेदनशीलता देखिएको पाइँदैन । सामान्य हवाई दुर्घटना हुँदा सरकारले तत्काल छानविन समिति बनाउँछ तर सडक दुर्घटना दिनदिनै बढ्दै गएपनि सरकारले गम्भीररुपमा लिएको छैन ।विगत ४ दिनयता ठूला दुर्घटना भएका छन् ।

अर्घाखाँचीमा १० जनाको ज्यान गयो । बैतडीमा चारजनाको ज्यान गएको छ र करीब ७० जना घाइते भए । काठमाडौंबाट काभ्रेको मदनकुँडारी जान लागेको बस करीब तीन सय मिटर तल खस्दा झण्डै तीन दर्जन यात्रुको ज्यान गयो । यस बीचमा एकादुई मृत्यु भएको घटना ओझेलमा परेको तथ्याङ्कलाई हेर्दा नेपालमा सडक दुर्घटना भयाभह अवस्थामा पुगेको छ ।हवाई यात्रा धनाढ्यहरुले गर्छन् । हवाई दुर्घटना हँुदा तत्काल सरकारले छानविन समिति बनाएर कारण खोजी गर्छ । विपन्न वर्ग जो थोत्रा गाडीमा झुण्डिएर यात्रा गर्दा दुर्घटनामा पर्छन््, उनीहरुको खोजी राज्यले गर्दैन । यहाँ प्रश्न आउँछ के गरीब जनता राज्यका नागरिक होइनन् ? राज्यले सडकबाट यात्रा गर्ने यात्रीलाई निम्न श्रेणीमा वर्गीकरण गरेर उपेक्षा गर्नु किमार्थ राम्रो मान्न सकिँदैन । दुर्घटनाका कारणहरु पत्ता लागिसकेका छन् । क्षमताभन्दा बढी लोड, असजिलो सडक, चालकको लापारवाही र सिण्डीकेट प्रथानै सामान्य कारणहरु भन्ने सरकारी निकायले पनि निष्कर्ष निकालीसकेको छ । कारणहरु पत्ता लागेपनि पोको पारेर सिरानी लगाइ सरकार सुतिरहनु कुनै अर्थ हुँदैन । ठूला दुर्घटनापछि एउटा साझा कारण ‘सिन्डिकेट’ लाई दोष दिएर सबै उम्किन खोजिनु सरोकारवाला निकायको जवाफदेहिता मान्न सकिँदैन ।

राजनीतिमा सिन्डिकेट, दलीय भागवन्डा या प्रशासनमा सिन्डिकेट रहिरहँदा बस व्यवसायमा ‘सिन्डिकेट’ प्रथा रहेको यथार्थ हो । यसले राजनीति, प्रशासन र यातायात व्यवसायीबीचको स्वार्थ र अन्य हितमा जेलिएको सम्बन्धलाई पनि उजागर गर्छ । प्रवृत्ति र सडकको हालत र सचेत गराउने सरोकारवाला निकायको अनुपस्थितिनै प्रमुख कारण हुन् । यी कारणको निराकरण गर्न राज्य जिम्मेवार हुनुपर्छ । यो वा त्यो कारण देखाएर निर्धा नागरिकको ज्यानमाथिको जोखिममा रमिते बन्नु जवाफदेहीता होइन । सडक दुर्घटनाप्रति सरोकारवाला निकाय गम्भीर र जिम्मेवार हुनैपर्छ । सम्भावित दुर्घटनालाई रोक्न सडक स्तरोन्नति, क्षमताभन्दा बढी लोड नियन्त्रण, बसको अवस्थामा सुधार ल्याउनु वाञ्छनीय हुनेछ ।