धरान/ हिँडाइ, लवाइ, खुवाइ र बोलाइले भाषाशास्त्री जस्ता लाग्दैनन् प्रा.डा. टङ्कप्रसाद न्यौपाने । धरानका गल्लीहरुमा डुल्दा होस् वा देश–विदेशका, काँधमा एउटा कालो झोला सधैँ झुण्डिएको हुन्छ । सेतो कपाल, सेतै फुलेका दाह्रीमा छोटा कदका डा. न्यौपानेलाई त्यो झोलाले प्रविधिसँग जोडिदिएको छ । त्यसमा उनी ल्यापटप बोक्छन् ।संस्कृतबाट शास्त्री र नेपालीबाट एमए सकेका डा. न्यौपानेले आठपरिया राई भाषामा विद्यावारिधि सके । भाषा नै यस्तो चिज हो, जसले संस्कृति, कला र भ्रातृत्वलाई जोड्ने काम गर्छ । एकले अर्काका भाषा र संस्कृतिलाई जोड्न सके मात्रै भाषा, जाति र संस्कृतिप्रतिको सद्भाव कायम हुन्छ भन्ने ठान्छन् डा. न्यौपाने । त्यसैले त नेपालमा बोलिने सबै भाषालाई उनी ‘नेपालेली’ भन्न रुचाउँछन् । भाषा जातिलाई जोड्ने कडी हो ।

tanka

यही मान्यताका कारण २०६९ मा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीमा उनले नेपालका सबै आदिकविहरुको जन्मजयन्ती मनाए । जसमा मैथिलीका आदिकवि विद्यापति, नेवारका आदिकवि सिद्धिदास, लिम्बूका श्रीजङ्गा आदिलाई स्मरण गरियो । भाषा जोडिएर मात्रै बृहत् र शक्तिशाली हुने उनको तर्क छ । २०५५ सालताका भाषा विज्ञान विभागको थालनी हुँदा नेपाली भाषामा स्नातकोत्तर सिध्याएका उनले करीब ६ हजार वक्ता मात्र भएको आठपरिया भाषामा विद्यावारिधि गर्ने हिम्मत देखाए । विभागमा सङ्घर्ष गरे, तर्क गरे अनि मात्रै यो भाषामा विद्यावारिधि गर्ने ढोका खुल्यो । २०६० सालमा उनको अध्ययन पूरा भयो । उनका लोहोरुङ भाषा पुस्तक, लिम्बू नेपाली भाषाको तुलनात्मक अध्ययनलगायतका १८ वटा पुस्तक बजारमा पाइन्छन् ।

उनले विद्यालय तहका सहयोगी पुस्तक २२ वटा लेखेका छन् । भाषाशास्त्री डा. न्यौपानेले ‘कखरा’ को प्रारम्भ संस्कृतबाट गरे २०१३ सालमा । धरान–१४ स्थित पिण्डेश्वर विद्यापीठबाट २०२३ सालमा शास्त्री (बीए) सिध्याए । पढ्न सजिलो थिएन उनको लागि । उनी एक वर्षको हुँदा आमा बित्नुभयो । अर्को वर्ष बुबालाई पक्षाघात भयो । एक वर्षमै दुईवटा खड्गो काटेका उनी मावलीपट्टिकी नाता पर्ने मायादेवी दाहाल र बाख्राको दूध खाएर अशक्त बुबाको सहारामा हुर्किए ।त्यस बेला सरकारले पिण्डेश्वर मन्दिरमा ७५ जनालाई निःशुल्क भोजन गराउँथ्यो । त्यही निःशुल्क भोजनले उनका बुबाको दैनिकी चल्थ्यो तर उनी त्यसको पनि हकदार थिएनन् । शिवजीको वाहन बसाहालाई चढाइएको भोग (भात) ले नै उनी बाँच्थे । पिण्डेश्वर विद्यापीठमा भर्ना भएपछि मात्रै उनको मुखमा माड लाग्न थाल्यो । ‘निक्कै दुःख गरेर पढेका हुन् बिचरोले, बुबा अशक्त भएर पनि उनले जीवनमा हिम्मत हारेनन् ।’ पूर्वअञ्चलाधीश धरान–१४ कै सूर्यप्रसाद उपाध्याय बताउँछन् ।धनकुटाको चुङबाङ–३ उनको जन्मथलो हो तर सानैमा बुबाको फेरो समातेर उनी धरान झरे । पिण्डेश्वरबाट शास्त्री सकेपछि उनले त्रिभुवन विश्वविद्यालयमा आचार्य गर्ने छात्रवृत्ति पाए ।

त्यस बेला त्रिविमा मासिक सय रुपैयाँ पढाइ खर्च दिइन्थ्यो । आचार्य पढ्दापढ्दै धरानको शारदा बालिकाबाट पढाउनको लागि मासिक २५० रुपैयाँ तलबको प्रस्ताव आयो । उनले स्वीकार गरे किनकि त्यस बेला यो तलब सरकारी उच्चपदस्थ कर्मचारीसरह थियो । धरानमा उनले २०२७ सालमा प्राइभेटबाटै एमएको पहिलो वर्ष सिध्याए । त्यसै बेला बीपी कोइरालाले सशस्त्र सङ्घर्षको उद्घोष गरे । त्यसको पर्चा छाप्ने जिम्मा उनी र अर्का एकजनालाई दिइयो । दुवैको पर्चा देखाउँदा उनको पर्चा स्वीकृत भयो । छापियो पनि तर दुर्भाग्य, त्यही पर्चाको कारण १५ दिन डेरामै लुके । जब बाहिर निस्किए, उनलाई दुई वर्ष जेल र २ हजार जरिवाना तोकियो । जेलबाटै उनले एमएको दोस्रो वर्ष पनि सिध्याए २०३० सालमा । जेल जानुभन्दा एक वर्षअघि नै २०२८ सालमा पण्डित छविलाल पोखरेलका नातिनीसँग उनले बिहे गरे । दुई वर्षको जेल बसाइको क्रममा उनले काङ्ग्रेसका थुप्रै नेताहरुलाई भेटे ।

जेलबाट छुटेपछि शारदा बालिका स्कुलमै उनको जागिरले निरन्तरता पायो । स्कुल प्रशासनले त्यो दुई वर्ष बेतलबी बिदा भनेर वातावरणलाई सहज बनाइदियो तर तत्कालै लागू भएको नयाँ शिक्षाका कारण उनले जागिरबाट हात धुनु प¥यो । राजद्रोह गरेको आरोपमा उनको जागिर खोसियो । त्यही समयमा खुलेको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा उनी प्रशासन सम्हाल्न पुगे तर एउटा समाचारको कारण डिनसँग उनको सम्बन्ध बिग्रियो । त्यही कारण राजीनामा दिएर उनी काठमाडौँ हुइँकिए । त्रिविले शिक्षा शास्त्र सङ्कायमा निकालेको अस्थायी प्राध्यापकमा पहिलो नम्बरमा नाम त निस्कियो तर नियुक्तिमा आनाकानी भइरह्यो । त्यसपछि २०३२ सालमा भैरहवामा पहिलोपटक उनी नियुक्त भए । तीन वर्ष त्यहाँ अध्यापन गरेपछि २०३५ मा उनी भोजपुर पुगे । २०३९ मा धनकुटा र त्यसपछि धरानमा आएर अध्यापन गरे । त्यसैबीचमा २०४२ सालमा उनले आठपरिया भाषामा ‘लघु अनुसन्धान’ गरे । त्यही अनुसन्धानले नै उनको विद्यावारिधिको ढोका खोलिदियो । राई भाषामाथि बुबाको दख्खलकै कारण आप्mनो अचेतन मनमा आठपरिया भाषामा शोध गर्ने सोच पलाएको हुनसक्ने उनी तर्क गर्छन् । भन्छन्, ‘बुबाले धनकुटाबाट आउने राईहरुसँग उनीहरुकै भाषामा बोल्नुहुन्थ्यो । त्यसो हुँदा उनीहरु निक्कै खुसी हुन्थे । म सोच्थेँ, भाषाले मान्छेलाई नजिक ल्याउने रहेछ । सद्भाव कायम गर्ने रहेछ । त्यही भएर नै यो भाषामा विद्यावारिधि गर्न सकेँ ।’ २०२३ पछिका खाँट्टी काङ्ग्रेसी उनमा २०४२ पछि भने पार्टीप्रतिको लगाव हराउँदै गयो ।

उनी भन्छन्, ‘विद्यार्थीहरुलाई राजनीतिक ज्ञान दिनुपर्छ तर राजनीति गराउनु हुँदैन भन्ने कुरामा सचेत थिएँ ।’ त्यसैले उनले विद्यार्थीलाई कहिल्यै राजनीति गराएनन् । र त उनीसँग विद्यार्थीहरु पनि उत्तिकै निकट छन् । यही निकटताको कारण भाषाविद् डा. न्यौपाने धरान र इटहरीमा अभिनन्दित हुँदैछन् । यो अभिनन्दनले भ्रातृत्वको विकास गर्दै छ । एकले अर्को संस्कृतिलाई जोड्दै छ । एकले अर्को संस्कृतिलाई जोडे मात्रै नेपाली संस्कृतिको विकास हुन्छ र स्वदेशदेखि विदेशसम्म पैmलिन्छ । गरिमा बढ्छ ।