teej2-1469932184दिनभरको व्रत सकिएपछि पनि तिजको दिन बेलुका अन्न नखाने धार्मिक मान्यता छ । व्रतको दिन बेलुका फलफूल र झोलयुक्त पदार्थ भने खान धार्मिक छुट छ । दिनभरको भोकपछि थकित शरीरमा समन्वय हुने गरी खान जानिएन भने तत्काल जटिल समस्या पनि निम्तिन सक्छ । डा. सवीर खााले व्रतपछि खाने विषयमा सुझाब दिएका छन् :

दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन सक्दैन । तर, तत्काल इनर्जी दिने खालका चिज खानु राम्रो हुन्छ । रसयुक्त फलफुल उत्तम खाना हुन्छ । केरा, खरबुजा, आँप, गाँजर, क्राँक्रालगायत फलफूल लिनु सबैभन्दा राम्रो हुन्छ । यस्ता फलफूलले शरीरमा छिटो–छिटो पानी सञ्चार गर्छ र तागत दिलाउँछ । सीधै पानी पिउनुभन्दा सलादबाट पाइने पानीले धपेडीमा फाइदा गर्छ । यस्ता सलादको पानी शरीरले लामो समयसम्म सञ्चय पनि गर्छ ।

यो गर्मीको मौसम भएकाले दिनभरको यात्रा, नाचगान र भोकले थकित शरीरले बेलुका पानी कम भएको महसुस गर्छ । यस्तो अवस्थामा अधिकांशले कोल्ड ड्रिंक्स पिउने गरेको पाइन्छ । फ्रिजमा राखिएको चिसोले केही बेर राहत दिए पनि रक्तसञ्चारमा असर गरेर मुटुमा खतरा निम्तिन सक्छ । तातिरहेको शरीरमा एक्कासि चिसो प्रवेश हुनु राम्रो हुँदैन । धपडीमा धेरै चिसो पेय पदार्थ पिउनु ठीक हुँदैन, चाहे फ्रिजमा राखेको पानी नै किन नहोस् ।

दिनभर व्रत बस्दा भोक निकै लाग्छ । अनि व्रत सकिएपछि भोक मेट्न एकैपटक धेरै खाने अधिकांशको बानी हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन । लामो व्रतपछि जुनकुनै चिज पनि एकैपटक धेरै खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्छ । ठोस खाना मात्रै होइन, पानी पनि एक्कासि धेरै पिउनुहुँदैन । पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त हुन्छ ।

लामो समय खाली पेट बसेपछि गलित शरीरमा ऊर्जा ल्याउन भन्दै व्रतपछि गुलियो चियामा पनि धेरैले चासो दिन्छन् । तर, खाली पेटमा तत्काल चिया पिउनु पनि ठीक होइन । यसले पेटमा असर गर्छ ।

त्यसो त दिनभर व्रत बसेपछि बेलुका सबैले अन्न नखाने भन्ने पनि हुँदैन । इच्छाअनुसार व्रतको दिन बेलुका अन्न खाने पनि धेरै हुन्छन् । तर, यो अवस्थामा पनि विशेष ख्याल पुर्‍याउनुपर्छ । मसलेदार खाना खानु राम्रो हुँदैन । रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ । यसमा कार्बोहाइड्रेट हुने भएकाले शरीरमा तागत पनि दिन्छ । खानासँग सलादको मात्रा धेरै खानुपर्छ ।

 डा. सवीर खाँ

होमियोचिकित्सक पशुपति होमियोप्याथी, पुल्चोक