बिर्तामोड/भद्रपुरस्थित मेची अञ्चलकै ठूलो सरकारी अस्पताल मेची अञ्चल अस्पतालमा केही वर्ष अघिसम्म बिरामीहरु उपचारका लागि जान मान्दैनथे । त्यहाँ राम्रो उपचार हँुदैन भन्ने आम नागरिकको बुझाइ थियो । तर, पछिल्लो समय मेची अञ्चल अस्पतालमा जटिल रोगको सफल उपचार हुन थालेपछि सेवाग्राहीको बुझाइमा परिवर्तन आएको छ ।मेची अञ्चल अस्पतालले अहिले निजी अस्पतालको जस्तै सेवा प्रदान गर्न थालेको छ ।
सरकारी अस्पतालमै आधुनिक र भरपर्दाे सेवा पाउन थालेपछि सेवाग्राहीको भीड पनि बढ्न थालेको हो ।
अञ्चल अस्पतालमा अत्याधुनिक मेसिन भित्रिएसँगै सस्तो शुल्कमा बिरामीको सफल उपचार हुन थालेपछि उपचारमा विश्वसनीयता बढेको छ । अधिकाङ्श जटिल प्रकृतिका रोगको उपचार अहिले मेची अञ्चल अस्पतालमै सफल भइरहेको छ । एक वर्षको अवधिमा सो स्पतालबाट लगभग ६५ हजारभन्दा बढी बिरामीले उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०७२÷०७३ मा ओपीडीमा ४७ हजार ५ सय ६३, इमर्जेन्सीमा ११ हजार ८ सय ४३ र अन्तरङ्ग विभागबाट ५८ सय ५४ जनाको सफल उपचार भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।विभिन्न विभागमा राखेर उनीहरुको उपचार भएको अस्पतालका सूचना अधिकृत मनोज पोखरेलले बताए । गत वर्ष ओपीडीमा ४५ हजार १ सय १९, इमर्जेन्सीमा १० हजार ७ सय ८५ र अन्तरङ्गमा ५ हजार ८ सय ११ जना बिरामी भर्ना भएका थिए । गत वर्षको तुलनामा यो वर्ष धेरै बिरामी भर्ना भएर उपचार पाएका छन् ।
अस्पतालको उपचार सेवा भरपर्दाे हुन थालेपछि बिरामी आउने क्रम बढेको पोखरेलको भनाइ छ । हाल अस्पतालमा दैनिक ५ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको उनले बताए ।यस्तै २०७२÷०७३ मा १० हजार १९ जना महिलाले अस्पतालबाट प्रसुती सेवा लिएका छन् । अघिल्लो वर्ष ११ हजार २० जनाले प्रसुती सेवा लिएको अस्पतालले जनाएको छ । सोही अवधिमा ४ सय ८ वटा प्रसुती सम्बन्धी जटिल अप्रेसन सफल भएको छ । त्यसमध्ये ५ सय ६८ वटा नर्मल डेलिभरी भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । ४३ वटा प्रसुतीको जटिल उपचार सफल भएको तथ्याङ्कमा छ ।अस्पतालबाट बढीजसो जटिल प्रकृतिका बिरामीलाई रेफर गरिँदै आएको थियो । तर, अहिले अस्पतालमै त्यस्ताखाले अप्रेसन सफल हुन थालेपछि रेफर गरिएका बिरामीको सङ्ख्यापनि घटेको छ । २०७२÷०७३ मा ३ सय ९१ जना बिरामीलाई अस्पतालले अन्यत्र रेफर गरेको छ । जसमा २ सय ३५ महिला र १ सय ५६ पुरुष छन् । सोही अवधिमा उपचारका क्रममा ४२ जनाको अस्पतालमा मृत्यु भएको तथ्याङ्क छ ।बेहोस पारेर गरिने अप्रेसन अस्पतालमा हालैमात्र सफलरुपमा गरिएको छ । यसअघि यस्तो प्रकृतिको अप्रेसन अस्पतालमा भएको थिएन ।
झापा भद्रपुरकी एक महिलाको पित्तथैलीको अप्रेसन बेहोस पारेर गरिएको हो । अस्पतालमा बेहोस पारेर अप्रेसन गर्ने दुईजना डाक्टर छन् । एकजना दरबन्दीकै डाक्टर दिवस मानन्धर हुन् भने अर्का एक डाक्टरलाई अस्पतालले बाहिरबाट बोलाउने गरेको छ ।अत्याधुनिक मेसिन ल्याएसँगै उपचारमा गुणस्तरीयता बढेको अस्पतालका सुपरिटेन्डेन्ट पिताम्बर ठाकुर बताउँछन् । उनका अनुसार अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ डाक्टरहरु कम भएपनि उपचार सेवा भरपर्दाेनै रहेको छ । ‘हामी सेवामा प्रतिबद्व छौं’, उनले भने, ‘यसले पनि बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् ।’
थाइराइड जाँच्ने मेसिन आएपछि यसको उपचार पनि शुरु गरिएको उनले बताए । ‘अहिले हामीसँग दक्ष जनशक्तिको अभाव छ’, ठाकुरले भने, ‘यसका लागि सम्बन्धित निकायसँग पहल गर्ने काम भइरहेको छ ।’अप्रेसन थिएटर र आइसियु कक्षको निर्माण कार्य पनि अघि बढाइएको उनले बताए । अप्रेसन थिएटरको सेवा शुरु भइसकेको छ भने आइसियू दशैँपछि सञ्चालनमा आउने छ । आइसीयू र सिसियू सेवा नहुँदा जटिल रोगका बिरामीलाई रेफर गर्नु परेको ठाकुरले बताए । तर, यो सञ्चालनमा आएपछि बिरामी रेफर गर्नुपर्ने बाध्यता हट्ने उनको भनाइ छ । यी सेवा शुरु गर्न दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले स्वास्थ्य मन्त्रालयसँग लबिङ भइरहेको उनी बताउँछन् ।अञ्चल अस्पतालमा १९ जना विशेषज्ञको दरबन्दी छ ।
तर, छ जना विशेषज्ञ मात्र कार्यरत् छन् । बालरोग विशेषज्ञमा तीनजनाको दरबन्दीमा एकजना छन् । गाइनोमा तीनजना हुनुपर्नेमा एक जना, फिजिसियनमा पनि तीनजनाको दरबन्दीमा दुईजना विशेषज्ञ डाक्टर छन् । सरकारले दरबन्दी अनुसारको डाक्टर नपठाउँदा अञ्चल अस्पतालमा उपचारमा समस्या भएको छ । विशेषज्ञ डाक्टर ल्याउनका लागि अस्पताल सञ्चालक समितिले प्रक्रिया अघि बढाएको सुपरिटेन्डेन्ट ठाकुरले बताए ।