विजयपुर/नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति र शिक्षाध्यक्षले पदीय जिम्मेवारी र मर्यादालाई ख्याल नगरी राजनीति गर्न थालेपछि धरानस्थित पिण्डेश्वर विद्यापीठ लथालिङ्ग भएको छ । विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीहरु संस्थागत हित र विकासभन्दा पनि राजनैतिक र व्यक्तिगत स्वार्थ सिद्ध गर्न लागेपछि पिण्डेश्वर विद्यापीठ लथालिङ्ग भएको हो ।
विद्यापीठ प्रमुखविहीन भएको छ महिनापछि सोमबार तीन महिनाका लागि सहप्राध्यापक चन्द्रमणि नेपाललाई प्रमुखमा नियुक्त गरिएको छ । राजनैतिक स्वार्थकै कारण क्याम्पसमा पूर्ण कार्यकालका लागि प्रमुखको नियुक्ति हुन सकेको छैन । गत चैत मसान्तमा तत्कालीन प्रमुख प्राडा भीम खतिवडाको पदावधि सकिएदेखि नै प्रमुखको नियुक्ति भएको थिएन । सोमबार दिउँसोसम्म क्याम्पसका सहप्राध्यापक घनश्याम दाहाललाई निमित्त प्रमुख तोकिएको थियो । नेपाल संस्कृत विश्वविद्यायको नियमावलीको परिच्छेद २१ मा क्याम्पस प्रमुख (प्राचार्य) नियुक्त गर्दा ‘विशेष परिस्थितिबाहेक अन्य अवस्थामा पदगत ज्येष्ठताका आधारमा सम्बद्ध विद्यापीठको प्रशासनिक दक्षता भएका शिक्षकहरुमध्ये शिक्षाध्यक्ष (रेक्टर) को सिफारिसमा कार्यकारी परिषद्बाट हुने’ व्यवस्था गरिएको छ ।
शिक्षाध्यक्षले कार्यकारी परिषद्मा तीनजनाको नाम सिफारिस गर्नुपर्ने नियमावलीमा उल्लेख गरिएको छ तर शिक्षाध्यक्षले अहिलेसम्म सिफारिस नगरेको स्रोतले जनाएको छ । उपकुलपति र शिक्षाध्यक्ष नियमावलीप्रति वफादार हुने हुन् भने गत वैशाखमै क्याम्पसमा पूर्ण कार्यकालका लागि प्राचार्य नियुक्त भइसक्ने थिए । प्राचार्यको कार्यकाल चार वर्षको हुने ऐनमा व्यवस्था छ । ऐनले उपकुलपतिलाई एकल अधिकार प्रयोग गरेर तीन महिनाका लागि प्राचार्य नियुक्त गर्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गरेर सोमबार उपकुलपति प्राध्यापक कुलप्रसाद कोइरालाले प्राचार्य नियुक्त गरेका हुन् । यसअघि राजैतिक पूर्वाग्रहकै कारण प्राचार्य नियुक्तिको प्रयास नै नगरिएको दाङस्थित विश्वविद्यालयका एक उच्च अधिकारीले जनाए । उपकुलपति नेपाली काङ्ग्रेसनिकट छन् भने शिक्षाध्यक्ष प्राध्यापक रमेश ढकाल एमालेनिकट हुन् ।
विश्वविद्यालय स्रोतका अनुसार शिक्षाध्यक्ष ढकालले पिण्डेश्वर विद्यापीठका निमित्त प्रमुख तोकिएका दाहालको नाम मात्र सिफारिस गरेका थिए । दाहाललाई एमालेनिकट नेपाल प्रगतिशील प्राध्यापक सङ्घको पिण्डेश्वर इकाइले सिफारिस गरेको थियो भने काङ्ग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घको इकाइले विद्यापीठकै सहप्राध्यापक डा चन्द्रमणि नेपालको नाम सिफारिस गरेको थियो । तर शिक्षाध्यक्ष ढकालले एमालेनिकट दाहालको नाम मात्र सिफारिस गरेको उपकुलपति निकट स्रोतले जनाएको छ । ज्येष्ठताका आधारमा प्रमुख नियुक्त गर्ने हो भने विद्यापीठका प्राध्यापक तोयाराज कोइराला, प्राडा भरत भट्टराई र प्राध्यापक वंशधर कट्टेलको नाम अग्रपङ्क्तिमा आउने विद्यापीठनिकट स्रोतले बताएको छ ।
उपकुलपति र शिक्षाध्यक्षको यो फोहोरी राजनीतिको असर भने विद्यार्थीहरुमा परेको छ । विद्यापीठका उपप्रशासक सुरज लामाले समयमा प्राचार्य नियुक्त नहुँदा विद्यापीठका प्रशासनिक तथा निर्माणसम्बन्धी कार्यहरु ठप्प भएको बताए । ‘निमित्त प्रमुखलाई कुनै पनि आर्थिक अधिकार दिइएको थिएन जसले गर्दा विद्यापीठका ९० प्रतिशत काम–कारवाही हुन सकेका थिएनन्’, लामाले भने, ‘सोमबार तीन महिनाका लागि प्राचार्य नियुक्त हुनुभएको छ, अब केही काम अगाडि बढ्ला ।’ विद्यापीठमा प्रशासन चुस्त नहुँदा कर्मचारीहरुले कार्यकक्षमै सुतेर दिन काट्ने गरेको समाचार सोमबारको ब्लाष्टमा प्रकाशित भएको थियो ।