धरान/नेपाली भाषामा वर्णविन्यासको विनिर्माण सडकदेखि सदनसम्म पेचिलो बन्दै जाँदा पूर्वका भाषाशास्त्रीहरु यसलाई ‘प्राज्ञिक अपराध’ को संज्ञा दिएका छन् ।
२०६७ मा साझा प्रकाशनले प्रकाशित गरेको उच्चमावि तहको ‘सबैको नेपाली’ पुस्तकमा आएको वर्णविन्यास र पदयोग पदवियोगबाटै सांकेतिक विरोध थालेका भाषाशास्त्री प्रा.डा. टङ्क न्यौपाने यसलाई प्राज्ञिक अपराध मान्छन् । दक्षिण एसियामै कहलिने अर्का भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेल त झन यसलाई वैदेशिक शक्तिले ‘डलर’ सँग भाषा साट्न लागेको गम्भिर आरोप लगाउँछन् । देवनागरी लिपीलाई पूर्ण रुपमा ध्वस्त बनाउने रणनीतिमा विदेशीहरु लागेको उनको भनाइ छ ।
यतिबेला परम्परागत वर्णविन्यासलाई मान्यता दिने कि नयाँ वर्णविन्यासलाई मान्यता दिने भन्ने विषय सडकदेखि सदनसम्म पुगेको छ । केही भाषाशास्त्रीहरुले परम्परागत वर्णविन्यास बचाउन सत्याग्रह नै सुरु गरिसकेका छन् । जसमा भाषामै विद्यावारिधी गरेका बलदेव शर्मा ‘मजगैया’ अग्रपंक्तिमा आउँछन् । भाषालाई बिगार्ने एकथरी र पुरानैलाई मान्यता दिनु पर्ने अर्कोथरी प्राध्यापकहरुबीच शीतयुद्ध चलिरहेको छ । काठमाडौंमा बलदेवको नेतृत्वमा ‘भाषा बचाऔं अभियान–२०७२’ नै सुरु भएको छ ।
तर, काठमाडौंले बुझ्नु अघि नै मोफसलका भाषाशास्त्री डा. न्यौपानेले यो युद्धको प्रारम्भ धरानबाट गरेका थिए । उनी २०६७ बाटै भाषा बचाउँको पक्षमा खुलेर लागे । त्यही वर्ष उनी शिक्षक, पत्रकार, साहित्यकारलाई सामेल गराउँदै इलामदेखि नेपालगञ्जसम्म परम्परागत वर्णविन्यासको वकालत गरे । तर, त्यो कुरा काठमाडौंमा रहेका कुलिन भाषाशास्त्रीहरुले खासै महत्व नदिएको दाबी डा. न्यौपानेको छ । ‘काठमाडौैंको विद्वानहरुले बुझेका थिएनन् या गम्भिरतापूर्वक लिएका थिएन ।’ उनले भने ‘त्यसपछि भाषा बचाउनको लागि केही भाषाशास्त्रीहरु सल्बलाए ।’
भाषामाथि बुलडोजर चल्न थालेको २०३२–३३ साल देखि कै हो । त्यो बेलामा संस्कृतबाट आएका तत्सम र अन्य भाषाबाट आएकालाई आगन्तुक भनेर पगरी गुथ्याइयो । त्यहीबाट भाषामाथि प्रहार हुन थालेको भाषाशास्त्री डा. न्यौपोनको स्मरणमा अहिले पनि ताजै छ । भाषाशास्त्री पोखरेलको तर्कमा देवनागरी लिपीलाई रोमनमा बनाउनको लागि ‘विदेशी डलर’ को राम्रैसँग चलखेल भएको दाबी गर्छन् । भाषामाथिको प्रहारमा विदेशी संस्था समय इन्स्टिच्युट लिङ्विष्टिक (सिल) लागिरहेको छ । जसको नेतृत्व अष्टिन हेलले गरिरहेका छन् । यिनीहरुले नै नजानिदो तरिकाले नेपाली भाषा मेटाउन खोजिरहेको जस्तो प्रा.डा. मोहनकुमार तुम्याहाङलाई पनि कताकता लाग्न थालेको छ ।
वर्णविन्यास आक्रमणमा प्रा.डा. चुडामणी बन्धु र त्यस संस्था अन्तर्गत रहेर भाषिक परियोजना सञ्चालन गर्ने विद्वानहरु रहेको डा. न्यौपाने बताउँछन् । भाषाशास्त्री डा. न्यौपाने थप्छन् ‘यो संस्थाको स्वार्थ भनेको नेपाली भाषाप्रति वितृष्णा जगाउनु हो । र, लामो समयपछि रोमनमा लेख्ने परम्परा बसाउनु हो ।’ नेपाली भाषालाई भारतको संविधानलेसमेत स्वीकारिसकेको छ । यस्तो अवस्थामा नयाँ मान्यताका नाममा प्रचलित परम्परा र मानक लेखनलाई भत्काउनु गलत भएको तर्क भाषाशास्त्रीहरुको छ । अंंग्रेजी साहित्यका डा. मोहनकुमार तुम्याहाङ भन्छन्, ‘भाषा परिवर्तन नै हुदैन भन्ने होइन । विस्तारै परिवर्तन हुन्छ । तर, यसरी हठात जर्वजस्ती लाद्नु चाही ठिक भएन् ।’
‘मूल कुरा भाषा याद्रिछिकता या परम्परागत हुन्छ । भाषा कसैले बनाएको होइन् । सभ्यताको कालखण्डमा मावन जातिले प्राप्त गरेको हो भाषा । कुनै समूहले लिपी पनि परिवर्तन गर्न सक्दैन् । जसरी समाजमा भाषा क्रमश परिवर्तन हुँदै जान्छ । त्यसैगरी लिपीमा पनि परिस्थिति अनुसार परिस्कार हुँदै जान्छ ।’ डा. न्यौपाने थप्छन् ।
अहिलको नयाँ मान्यतामा कक्षा १–७ सम्म एउटा, ८–१० सम्म अर्को, ११–१२ मा अर्कै र त्यो भन्दा माथिका तहमा फरक छ । यसले पनि पढ्ने र पढाउनेहरुलाई नै द्विविधा उत्पन्न गराइदिने भाषाशास्त्रीहरु बताउँछन् । कक्षा पिछै फरक–फरक भाषाका कारण विद्यार्थीहरु जति अन्यौलता छाउँछ त्यति नै पढाउने शिक्षक, प्राध्यापकहरुमा पनि । ‘अहिलेको नयाँ मान्यताको सबैभन्दा खराब पक्ष भनेकै यही हो ।’ भाषाशास्त्री पोखरेल बताउँछन् । अंग्रेजी स्पेलिङमा पनि हालसम्म सेक्सपियर पालाको अन्तिममा लाग्ने ‘इ’ हटाउन नसकेको तर्क डा. तुम्याहाङको छ ।
‘अंग्रेजीको स्पेलिङमा हालसम्म त्यस्तो उलेख्य परिवर्तन भएको छैन् । क्रमिक रुपमा परिवर्तन भएका छन् । सेक्सिपियरको पालामा अन्तिममा आउने इ अहिलेसम्म हटाउन सकिएको छैन् ।’ उनी पनि अहिले चलिरहेको वर्णविन्यास विनिर्माणलाई अराजकताको परकाष्टा नै भएको दाबी गर्छन् ।
नयाँ मान्यताप्रति त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरुले गम्भिर आपत्ति जनाएका छन् । सिवाय चुडामणी बन्धु, हेमाङ्गराज अधिकारी, जीवेन्द्रदेव गिरी, बद्रीविशाल भट्टराई, रमेश भट्टराई, ब्रतराज आचार्य, माधवप्रसाद पोखरेल बाहेक । वर्णविन्यासलाई अहिलेको अवस्थामा ल्याइ पु¥याउनुको पछाडी तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्माको पनि हात रहेको भाषाशास्त्रीहरुको दाबी छ । शिक्षामन्त्री शर्माले पनि आफूले गल्ती गरेको कुरासमेत आफ्नो पुस्तक प्रकाशनपछि स्विकारिसकेका छन् ।
प्राध्यापकहरुलाई आफ्नो विचार राख्न पाउने प्राज्ञिक स्वतन्त्रता भएको डा. न्यौपोनको तर्क छ । तर, पर्दापछाडीबाट छिराउने काम गर्नुचाही प्राज्ञिक अपराधको संज्ञा दिन्छन् उनी । वर्ण विन्यासको नाममा आएको यस किसिमको परिवर्तनले ख्याल ख्यालमा नेपाली भाषा भूमरीमा परेको छ । नेपाली भाषाको मौलिकता, गरिमा, ओजहरु नष्ट भएर जाने खतरा बढेर गएको छ ।