धरान । टेलिफोन गरेर घर पुग्दा उनी सिकुवामा श्यामस्वेत मोबाइलमा औला दौडाइरहेका थिए । कपास झै फुलेका केश, देशी लुङ्गी, टिसर्टमा सजिएका उनले मलाई बस्न संकेत गरे । र, आफ्ना लिखित दस्ताबेज लिन भित्र दौडिए । केही क्षणपछि पुनः फर्किए ।
[caption id="attachment_14819" align="alignnone" width="700"]
तस्बिरःब्लाष्ट/भोजराज[/caption]
तर, जे खोज्न गएका थिए त्यो भेटनछन् र भने, ‘खै कता परेछ ।’ बुढ्यौलीले छोएर होला चस्माको साहार चाहिन्थ्यो उनलाई अर्थात् सूर्यप्रसाद उपाध्यायलाई । वि.सं. १९९० को बिनासकारी भूइचालो भन्दा तीनवर्षपछि जन्मिएको बताउँदै उनले भने, ‘अहिले ठ्याक्कै ८० वर्खमा हिड्दैछु ।’ १९९३ चैत्र २६ गते जन्मिए पनि उनको न्वारन भने बैसाखमा भएछ । धरान–१४ विजयपुर मै जन्मिएका उनी अंग्रेजीका खुबै पारखी रहेछन् । अंग्रेजी पत्रिकाहरु मात्रै पढ्दा रहेछन् उनी ।
‘केटाकेटीलाई पनि बानी लागोस् भनेर इग्लिस नै पढ्छु ।’ अग्रेजी पत्रिका पढ्ने कारणबारे खुलाए, ‘तर, अब त केटाकेटी पनि ठूला भइसकेँ ।’ त्यै पनि लागेको बानी हटाउन गाह्रो हुने उनले खुलाए । मैले आउने कारणबारे खुलाएपछि कुराको मेसो अघि बढ्यो । बाल्यकाल सामान्य रुपमा बितेका उनले हालको पब्लिक उच्चमाविबाट २०१० सालमा एसएलसी पास गरेका रहेछन् ।
एसएलसीपछि धरानकै महेन्द्र बहुमुखी क्याम्पसमा आइएमा भर्ना भए । त्यो बेलामा आइए पनि पटना विश्वविद्यालयको सम्बन्धनबाट चलेको रहेछ । उनले त्यहीबाट आइए अध्ययन गर्दा गर्दै धरान–१६ को भगवति निमाविमा हेडमाष्टर भएछन् । ७ वर्ष हेडमाष्टरको जागिर खाएपछि उनी तत्कालीन धरान नगरपालिकाको बोर्डमा सदस्य भएछन् । ‘बोर्ड सदस्य भएपछि स्कुल छाडेँ ।’ उनले भने ।
एसएलसी दिएकै बेला बिहेको पनि कुरा चलेछ । तर, केटी कस्ती छे, को हो ? भन्नेसम्मको ज्ञान नभएका उनले आफ्नी धर्मपत्नी बिहेको अघिल्लो दिन मात्रै देखेको बताउँछन् । भन्छन् ‘बिहे गर्न जव सिक्किम पुगियो । अनी मात्रै केटी देखेँ ।’ उनले त्यस अघि मान्छे त के फोटोसमेत देखेका रहेनछन् । काकाले तेरो लागी कोट सिलाउन दिएको छ भनेपछि मात्रै आफ्नो बिहे बारे थाहा पाएको उनी सुनाउँछन् । २०११ साल बैसाखमा उनले बिहे गरे । २०१३ सालमा आइ ए सके ।
जव उनी बोर्ड सदस्य भएँ । त्यसपछि उनको जीवनमा नसोचेका कर्तब्यहरु हात लाग्न थालेछन् । २०१७ सालमा वोर्ड सदस्य भएपछि २०१९ मा प्रधानपञ्चमा जितेछन् । त्यो बेलामा धरानको परिचय गाउँले बजारमा सिमित थियो । पहाडबाट ढाकर बोकेर धरानमा नुन, लत्ताकपडा लिन आउने र लाने यस्तै परिचय थियो धरानको । जोगवनीबाट नुनलत्ताकपडाहरु आउँथे । त्यही लाने केन्द्रको रुपमा मात्रै थियो धरान । बाटो, विजुली, खानेपानी केहीको पनि सुविधा थिएन् ।
पहाडबाट आउनेहरुको लागि बिसौनीको रुपमा मात्रै थियो धरान । ‘जव प्रधानपञ्च बनियो, त्यसपछि बाटो, विजुल र खानेपानीको लागि पहल गरेँ ।’ उनी भन्छन् । उनी प्रधानपञ्च बन्न पनि गज्जवको कथा छ । २०१७ साल माघमा बिएको परीक्षा दिन काठमाडौं गएका रहेछन् । काठमाडौं जानु केही दिन अघि मात्रै राजा महेन्द्रलाई हुलाक मार्फत् चिठी पठाएका रहेछन् ।
परीक्षा दिइरहेकै बेलामा राजाबाट बोलावट भएको जानकारी प्राप्त गरेको बताउँछन् । ‘विद्यार्थी केटो आफूसँग विद्यार्थीको ड्रेस भन्दा केही थिएन । एउटा टोपी किनेर स्कुल ड्रेसमै राजालाई भेट्न पुगेँ ।’ उनले भने । राजाको दर्शन भेट पछि उनी पनि राजावादी भएछन् । त्यस अघिसम्म कट्टर कम्युनिष्ट । राजावादी बनेपछि कम्युनिष्टहरुसँग काट्टो दुस्मन ।
कमरेड पुष्पलाल श्रेष्ठबाट २००८ सालमा सदस्यता प्राप्त गरेका कट्टर कम्युनिष्ट । त्यो बेलामा कांग्रेस र राणाहरु एउटै क्याविनेटमा बसेपछि भारतको इसारामा क्याविनेट बनेको भन्दै ‘एन्टी इण्डिया’ विरोध सुरु भएछ । विरोध गर्नेमा उनी पनि धरानका सुत्रधार नै रहेछन् । त्यो बेलामा धरानमा जम्माजम्मी ३० जना कम्युनिष्टहरु रहेछन् । त्यही मध्येका उनी अग्रज ।
२००७ सालमा भएको दिल्ली सम्झौता धोका हो भनेर कम्युनिष्टहरुले आन्दोलन गरे । ‘त्यही आन्दोलनका समर्थक थिएँ ।’ उनले थपे, ‘पछि पुष्पलाल धरान आएको बेला सदस्यता पनि लिएँ ।’ जव राजालाई भेटे राजा महेन्द्रको कुराबाट प्रभावित बनेपछि उनी पनि राजावादी भए । त्यही बेला बोर्ड सदस्यमा जितेको हिसावले उनले प्रधानपञ्चमा चुनावसमेत जिते । २०२७ सालसम्म प्रधानपञ्च रहँदा उनले धरानलाई केही उल्लेखनीय कार्य गरे ।
जसको कारणले गाउले बजारलाई यो स्थान सम्म ल्याइपुर्याउन केही योगदान आफ्नो पनि रहेको उनी बताउँछन् । बाटोघाटो, विजुली, खानेपानीलगायतको काम गरेपछि धरानको मुहार फेरिएको उनी बताउँछन् । त्यो बेलामा टेलिफोनकोसमेत काम गर्न भ्याएका थिए । तर, उनको पालामा टेलिफोन धरानमा आउन सकेन् ।
२०३१ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनित भए । चारवर्षपछि त्यसको पनि पदावधी सकियो । २०३६ सालमा ८ महिना जति ‘गाउँ फर्क राष्ट्रिय अभियानको कोशी अञ्चल समिति अध्यक्ष’ भएको बताउँछन् । ८ महिना मै बिघटन भएपछि उनको कार्याकाल स्वतः समाप्त भयो । त्यसै गाउँमै बसिरहेका बेला २०४४ सालमा जनकपुर अञ्चलको लागि अञ्चलाधिस बनिदिन राजाबाट निमन्त्रणा आयो । उनले त्यो अवसरलाई खेर फालेनन् ।
अञ्चलाधिस बन्नको लागि उनमाथि थुप्रै चूनौतिहरु थिए । त्यो बेलामा नेपालमा सखुवाका काठहरु रातारात चोरी तस्करी भएर भारतमा बिक्री वितरण हुन्थ्यो । महोत्तरीको समसी नामक बोर्डरमा ‘इधर साखुका काठ मिलता है’ भनेर खुलेआम बिक्री वितरण नै हुने गरेको थियो । ती काठहरु नेपालकै वनका हुन्थे ।
त्यही रोक्नको लागि नै पनि राजाले निजी सचिवमार्फत् अञ्चलाधिसको अफर ल्याएका रहेछन् भन्ने उनले राजासामू पुगेपछि मात्रै थाहा पाए । प्रधानन्यायधिसले राजाका अगाडी सपथ ग्रहण गराएपछि उनलाई निजी सचिवमार्फत त्यो कुरासमेत जानकारी भयो । अञ्चलाधिस भएर उनी जनकपुर पुगे । र, सबै जिल्लाका प्रशासनिक निकायहरुलाई परिपत्र गरे । उनलाई त्यो बेला अचम्म लागेको रहेछ, ‘भन्सार पनि छ, प्रहरी पनि छ, सीमा सुरक्षा पनि छ’ यति हुँदा पनि चोरी तस्करी भने यथावत नै छ ।
तर, जव उनले भारी परिणाममा आफै लागेर जिल्लाको डिएसपीसहितको टोलीले काठहरु पक्राउ गरे । त्यसपछि भेद खुल्यो । तस्करीमा सबैभन्दा ठूलो हात तत्कालीन वनमन्त्री हेमबहादुर मल्ल रहेछन भन्ने । ‘कागजपत्र तयार पारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइदिए र राजालाई पनि सबै जानकारी गराइ दिएँ ।’ उनी भन्छन् । राजाका निजी सचिवले सपथ पछि भनेका थिए रे ‘राजाको नजिकका मान्छेहरु रहेछन् भने पनि पक्राउ गर्नु’ भनेर त्यही आँटले कागजपत्र बनाएर अख्तियारमा पेश गरेका रहेछन् ।
पछि वनमन्त्री मल्ललाई ६ महिना जेल कैद नै भएछ । ‘त्यो बेलामा मल्ल राजाका विश्वास पात्र थिएँ ।’ उनले थपे, ‘तर, जेल परेपछि मन्त्री पद पनि खुस्कियो ।’ त्यो कार्यले उनी चर्चित मात्रै बनेनन् । राजाका विश्वास पात्रमासमेत दरिए । तर, उनले दुईवर्ष निष्ठापूर्वक कर्तब्य पूरा गरे । अञ्चलाधिस बनेर पनि उनले आफ्नो लागि केही जोडेनन् । अहिले पनि उनी आफ्नो बुबाले जोडिदिएको एकतले भवन र जग्गामा बस्छन् ।
‘मैले केही पनि जोड्न सकिन् । बुबाकै जग्गा थामेर बसेँ ।’ उनी भन्छन् ‘मैले मेरो शाख गुम्न दिइन् । निष्ठापूर्वक कर्तब्य पूरा गरेँ ।’ उनी अञ्चलाधिस बन्दा चारमहिना भारतको नाकाबन्दी बेहोरे । त्यो बेला राजनीतिक दलहरुले नै दिल्लीमा पुगेर भारतलाई नाकाबन्दी लगाउनको लागि अपिल गरेका थिए । अहिले त्यही दलहरु छन् जसले भारतको नाकाबन्दीको विरोध गर्छन् ।
‘अचम्म लाग्छ । त्यो बेला नाकाबन्दी गरिदेउ भनेर पुग्ने यही नेताहरु हुन् ।’ उनी भन्छन्, ‘अहिले यही नेताहरु छन् जसले नाकाबन्दीको तिब्र विरोध गर्छन् ।’ राजनीति गर्नेहरु देखेर उनी घृणा गर्छन् । उहिले सिद्धान्तको, औचित्यको राजनीति हुन्थ्यो । अहिले अवसरको राजनीति हुने गरेको उनी बताउँछन् । २०१७ पछि कम्युनिष्ट छाडेपछि राजनीतिमा उनको कुनै लगाव छैन् । तर, यसो भन्दैमा उनी राजनीतिमा चासो राख्दैनन भन्ने होइन् । ‘दैनिक जीवनमा राजनीतिमा चासो राख्नुपर्छ । तर, कसैप्रति आश्था छैन ।’ उनी थप्छन् ।
अहिले उनको दिनचर्या घरमै बित्छ । तीनवर्ष अघिसम्म दिनको दुईपटक धरान झर्थे । साथीभाइसँग देशकाल परिस्थिति र तात्तातो राजनीतिक बहस गर्थे । अहिले त्यो पनि छाडेका छन् । भन्छन् ‘डाक्टरले घुडाको हड्डी खिइयो भनेपछि धरान पनि जान छाडेको छु ।’
तर, लौरौको साहाराले विजयपुर चौक जान भने छाडेका छैनन् । दैनिक दिउसो ४ बजे विजयपुर चौक पुग्छन् । दुईचारजनासँग गफ लडाउँछन्, फर्किन्छन् । दैनिक घरअघिको सिकुवामा भेटिन्छन् । कहिले अंग्रेजी पत्रिकामा ध्यान मग्न हुन्छन् त कहिले श्यामस्वेत मोबाइलमा औला दौडाइरहन्छ । केही जोड्न नसकेकोमा दुःख मान्दैनन् । ‘बुबाले जोडिदिएको छदैछ । त्यसैले पुगेको छ भने किन धेरै लोभ गर्नु ?’ उनी भन्छन् ।
८० वर्षे उपाध्यायलाई देशप्रति खुबै चिन्ता रहेछ । ‘देश अधोगति तिर नगइदिएको भए चाही ठिक हुन्थ्यो । त्यसमा चाही पीर छ ।’ उनी भन्छन् ।