इटहरी/जितिया पर्व थारु समुदायका महिलाहरुले मनाउने चाड हो । तर, पछिल्लो समयमा यो चाडमा तराईमा बसोबास गर्ने अन्य जातिको पनि साथ पाउन थालेको छ । पुजा तथा रिति रिवाज थारु समुदायकै हुन्छ । तर, पर्वका अवसरमा गरिने सामाजिक कार्यक्रममा भने अन्य जातिको उल्लेख्य सहभागिता देखिने गरेको छ ।
ब्रत बस्ने र पुजा आराधनाको लागि थारु महिलाहरु सहभागी भए पनि साँस्कृतिक कार्यक्रममा पहाडका समुदायको उल्लेख्य सहभागिता रहेको पाइयो । जितिया र्पवका अवसरमा सुनसरीका विभिन्न स्थानमा भएका कार्यक्रममा पहाडी समुदायको उल्लेख्य सहभागिता देखियो । थारु तथा मैथीली महिलाहरुले छोरा छोरी तथा परिवारको दिर्घायूको कामना गर्दै जितीया पर्व मनाउने गरिन्छ । हिन्दु धर्ममा सबैभन्दा लामो ब्रतको रुपमा रहेको जितिया पर्व एकदमै कठोर ब्रत मानिन्छ । आश्विन कृष्ण अष्टमीबाट शूरु हुने यो ब्रत अवधिभर पानी पनि पिउन नपाउने, थुक पनि निल्न नहुने र नवमी तिथिपछि मात्र भोजन गर्ने प्रचलन छ । थारु समुदायका अगुवा तथा नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ राम धामीका अनुसार थारु तथा मैथीली महिलाहरुको संस्कृतिसँग जोडिएको यो पर्वमा पछिल्लो समयमा पहाडका समुदायका मानिसहरुको समेत सहभागिता हुने गरेको छ ।
पहिला बढी मात्रामा थारु समुदाय रहेको वस्तीमा पछिल्लो समय बसाई सराईको कारण अन्य जातीहरुको बसोबास बढ्दै गए पछि पहाडी समुदायले पनि जितिया जस्ता अन्य जातीय संस्कृतिका पर्वमा एक आपसमा साथ पाउन थालेका हुन् । थारु समुदायले मनाउने जितिया पर्व हिन्दु धार्मिक परम्परा अनुसार शिव पार्वती, चिल र स्यालसँग कथा जोडिएको यो पर्व परिवारको दिर्घायूको कामना गर्र्दै मनाइन्छ । धार्मिक पर्वलाई सामाजिकीकरण गर्न थारु समुदायले विविध सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । पछिल्लो समयमा सामाजिक सेवाका कार्यक्रममा पनि यो पर्व जोडिएको छ । जितीया पर्वको अवसरमा सुनसरीको इटहरी, आसपासका चौक, इटहरी–२ को हवाई चौक, इटहरी ४, रामधुनी भासी, कालाबन्जर, खनार, पकली, बक्लौरीलगायतका स्थानमा जितीया पर्व मनाइयो । इटहरी २ का जनिजाइत (महिला) हरुको सहभागितामा कार्यक्रम भएको स्थानीय दिनेश धामीले बताए ।
जितिया पर्वको बारेमा भविष्य पुराणमा बर्णन समेत गरेको पाईन्छ । आश्विन कृष्णपक्ष अष्टमीको तिथिमा उपवास बस्ने र तिथि परिवर्तन भएपछि ‘पारणा’ अर्थात ब्रतलाई विधिवत् समापन गरिन्छ । जितिया ब्रतको शुरुवात हुनु अघि र अष्टमी तिथिको शुरुवात भन्दा पहिले चुडा दही खाने चलन छ जसलाई मैथिलीमा ‘ओठघन’ भनिन्छ । ब्रतालुहरु पोखरी, नदी तथा जलाशयमा स्नान गरि पुर्व तिर फर्केर तामाको अर्घामा अर्घ लिएर भगवान सुर्यलाई अर्घ दिन्छन् र तेल तथा पिना पनि चढाउँछन् संगै त्यो तेल र पिना आफ्नो पुत्रको टाउमा लगाई दिने प्रचलन छ । यता, सुनसरीको रामधुनी भासीमा थारु महिलाहरुले सन्तानको दीर्घायु एवं मङ्गलमय कामनाका गर्दै संस्कार संस्कृति संरक्षण तथा अधिकारकामा केन्द्रित रहेर पर्व मनाएका छन् । ‘आबु आबु थारु महिला अगा, नै सहबै आब दुव्र्यवहार और हिंसा’ बिशेष नारा दिई सुनसरीको थारु महिला उत्थान समाज रामधुनीभासीले कार्यक्रम गरेको अध्यक्ष सिता चौधरीले बताईन । महिलाहरुलाई हेप्ने, दुव्र्यवहार गर्ने, हिंसा जस्ता अपराधमा पार्ने तत्वहरुलाई परास्त गर्नका लागी महिलाहरु संगठित हँुदै यस बर्षको जितिया पर्व मनाइएको आयोजक समितिका सदस्यहरुले बताएका छन् । कार्यक्रममा नृत्य,थारु भेष, भुषा,परिकार, डब्बा टुङ्गिनी सहित झाँकी प्रदर्शन तथा, पौराणिक र आधुनीक गीत प्रस्तुत गरिएको सञ्चारकर्मी सुनिल चौधरीले बताए ।