–मेरो बच्चा डेढ महिनाको भयो । छ महिनासम्म आमाको दूधबाहेक अरु केही खुवाउनु हुन्न भन्ने सुनेको छु तर आजकाल उसलाई दूध पुगेको छैन जस्तो लाग्छ । म कसरी ढुक्क हुन सक्छु कि मेरो बच्चालाई दूध पुगिरहेको छ ?

[caption id="attachment_15261" align="alignleft" width="225"]dr dinesh dharel डा. दिनेश धरेल[/caption]

नवजात शिशुको लागि स्तनपान सम्पूर्ण आहार हो र छ महिनासम्म आमाको दूध पर्याप्त हुन्छ भन्ने कुरा तपाईंले बुझ्नुभएको छ होला । ‘मेरो बच्चालाई त मेरो दूधले पुग्दै पुग्दैन’ भन्ने गुनसो र चिन्ता शायद धेरैजसो आमाहरुलाई हुने गर्छ । कतिपयले त आफ्ना बच्चालाई दूध पुगेन भनेर पाउडर दूध (फर्मुला) वा गाईभैँसीको दूध खुवाउने गरेको देखेको छु । कसैले नबुझेर र कतिपयले विभिन्न प्रभाव वा दवाबले पनि स्तनपानको विकल्प वा थप आहार रोज्ने गरेका छन् । त्यसैले मलाई यो तपाईंको मात्र होइन, सबैको साझा जिज्ञासा होलाजस्तो लाग्छ । स्तनपानको फाइदा थाहा नहुने शायदै कोही होलान् । बच्चा जन्मेको एक घण्टाभित्रै स्तनपान शुरु गर्नुपर्छ र छ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ भन्ने सन्देशमूलक सूचना हामीले दिनहुँ देख्ने वा सुन्ने गरेका छौँ ।

aama आमाको दूध अमृतसमान हुन्छ भन्ने हामी सबैले जानेको कुरा हो । बजारमा पाइने दूधको डिब्बामा समेत ‘स्तनपान शिशुको लागि सबैभन्दा राम्रो आहार हो’ भन्ने सन्देश लेखेकै हुन्छ । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण, नियन्त्रण) ऐन २०४९ ले नै त्यस्तो उल्लेख गर्न अनिवार्य गराएको छ । बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खासखास रोग वा अवस्थामा बाहेक शिशुलाई स्तनपान नै गराउन सल्लाह दिनुपर्छ भनेर कानूनले नै स्वास्थ्यकर्मीहरुलाई समेत बाध्य गराएको छ । खासगरी बच्चा रोइरहेको छ भने दूध नपुगेर होला भन्ने धारणा निकै व्यापक छ । त्यसैले शिशु रुनेबित्तिकै तपाईं दूध खुवाउन खोज्नुहुन्छ होला । बच्चा रुनेबित्तिकै परिवारका सदस्यहरुले आमालाई जे भए पनि खुवाउन दवाब दिने गरेको पनि हुनसक्छ । शिशुहरु बेला–बेला त्यत्तिकै पनि रुन्छन् र आपैmँ शान्त हुन्छन् । दूध चुसाउँदा रोइरहेको शिशु धेरैजसो चुप लागेको देख्नुभएको होला । सधैँ त्यो भोक लागेकोले रोएको र दूधले भोक मेटिएर चुप लागेको भन्ने हुँदैन । भोक लाग्नुबाहेक कहिलेकाहीँ बच्चा दिसापिसाब गरेर, तातो वा चिसो भएर, केही कुराले दुखाएर वा बिरामी परेर रोएको हुन सक्छ वा कोलिक भएको पनि हुन सक्छ । भोक लागेको वा दूध खान खोजेको सङ्केत आमाहरुले क्रमशः चिन्न थाल्छन् । नवजात शिशुलाई दूध पुगेको छ भन्ने सबैभन्दा भरपर्दो आधार भनेको दिनभर (चौबीस घण्टामा) छदेखि आठपटक पिसाब फेर्नु हो । दूध पुगेको छैन भने पिसाब कम गर्न थाल्छ । आमाको दूधमा नब्बे प्रतिशत त पानी नै हुन्छ त्यसैले पर्याप्त स्तनपान गर्न पाएको बच्चामा पानीको मात्रा पुगेको हुन्छ र पटकपटक पिसाब गरिरहन्छ । डायेपर लगाइदिने गरेको छ भने पिसाब फेरेको गन्न गारो हुन्छ तर डायेपर कत्तिको भिजेको छ भन्ने हेरेर पिसाबको मात्रा अनुमान गर्न सकिन्छ । खासगरी बच्चा जन्मेको शुरुका दिनहरुमा आमाको दूध धेरै आउँदैन । त्यस्तो बिगौती दूध मात्रामा कम भए पनि अलि बाक्लो हुन्छ र उसलाई चाहिने पोषक तत्व भने पर्याप्त हुन्छ । पहिलो हप्तामा शिशुको शरीरबाट बढी भएको पानी निकाल्नुपर्ने भएकोले दूध पनि कम मात्रामा चाहिन्छ । त्यसैले दूध आएन भनेर पाउडर दूध खुवाउन थाल्नु हुँदैन, बरु बोतलबाट अरु दूध खुवाउन थाल्यो भने बच्चाले आमाको दूध चुस्न कम गर्दै जान्छ र क्रमशः दूध नै कम आउन थाल्छ । पहिलो हप्तामा नवजात शिशुको तौल जन्मतौलभन्दा घट्दै जान्छ र त्यसपछि क्रमशः बढ्दै जान्छ । स्तनपान मात्र गराएको शिशुको तौल महिनामा लगभग आधा किलो बढेको छ भने स्तनपान पर्याप्त छ भन्ने बुझ्नुपर्ने हुन्छ । स्वास्थ्य संस्थामा जन्मेको हरेक बच्चाको जन्मतौल लिने गरिन्छ र खोप लगाउन आउँदा पनि हरेकपटक तौल लिइन्छ । डेढ, अढाइ र साढे तीन महिनामा खोप लगाउँदा तौल कुन दरले बढिरहेको छ भनेर ख्याल गर्ने हो भने आमाको दूध पुगे–नपुगेको सजिलै थाहा पाउन सकिन्छ । पाँच महिना पुग्दा बच्चाको तौल जन्मतौलको प्रायःजसो दोब्बर भएको हुन्छ । तौल उमेरअनुसार बढे–नबढेको चार्टमा राखेर हेर्न सकिन्छ । शिशुलाई दिनमा कतिपटक स्तनपान गराउँदा पर्याप्त हुन्छ भन्ने कुरा आमाहरुलाई हुने अर्को मुख्य जिज्ञासा हो । जन्मँदा कम तौल भएको, उमेरअनुसार तौल नबढेको वा बिरामी परेको नवजात शिशुलाई चौबीस घण्टामा कम्तीमा आठपटक दूध खुवाउनुपर्छ र रातमा समेत खुवाउनुपर्छ । प्रत्येक दुई–तीन घण्टाको फरकमा स्तनपान गर्न वा दूध निचोरेर खुवाउन प्रयास गर्नुपर्छ । एउटा स्वस्थ शिशुलाई भने उसको मागअनुसार स्तनपान गराउनुपर्छ तर रातिको समयमा पनि दूध खुवाउन भने छोड्नु हुँदैन । एकपटकमा एउटा स्तनबाट नरित्तुञ्जेल दूध खुवाउनुपर्छ किनकि बच्चाको तिर्खा मेटाउने खालको पानी बढी हुने दूध शुरुमा आउँछ र चिल्लो पदार्थ बढी भएको भोक मेटाउने खालको दूध पछि आउँछ । दुवै दूधबाट अलिअलि गरेर चुसायो भने शिशुलाई अघाएको आभास हुँदैन र भोकाएजस्तो गरेर रुन्छ । अर्कोपटकको लागि अर्को स्तन चुसाउनुपर्छ । पहिलोपटक आमा बनेका धेरैजसोका लागि स्तनपान शुरु गराउन अलि गारो हुने गरेको पाइन्छ । आखिर हामी सबैले कुनै पनि कुरा एकपटक त पहिलोचोटी नै गर्ने हो । बच्चाले जन्मनेबित्तिकै दूध चुस्न खोज्छ र बिस्तारै यो कलामा पारङ्गत हुन्छ । आमाको लागि पनि यो सजिलै सिक्न सकिने सीप हो तर शुरुका दिनहरुमा आमा र बच्चालाई स्तनपानमा सहायता चाहिन्छ । हामी स्वास्थ्यकर्मी र परिवारका सदस्यहरुको भूमिका भनेको यो विशेष समयमा आवश्यक सहयोग गर्नु हो । सफल स्तनपानका लागि महत्वपूर्ण आधार भनेको सही आसन र सही स्तन सम्पर्क हो । सही आसन भन्नाले शिशु आमातिर फर्केको हुनुपर्छ, टाउको र शरीर सिधा तथा राम्ररी समातेको हुनुपर्छ र शिशु स्तनको सकेसम्म नजिक हुनुपर्छ । यो आसनमा जब शिशुले आफ्नो चिउँडोले आमाको स्तन छोएर मुख पूरा खोल्छ, तल्लो ओठ बाहिर पार्छ र स्तनको कालो भाग सकेसम्म धेरै मुखभित्र पारेर चुस्न थाल्छ । त्यसपछि दूध आउँछ । यसरी सही तरिकाले घुटुकघुटुक दूध निलेको आवाजसहित सन्तुष्ट हुने गरी दूध खाइदिँदा आमालाई पनि सन्तोष हुन्छ र आत्मविश्वास बढ्छ । तर आसन र स्तन सम्पर्क सही भएन भने पर्याप्त दूध आउँदैन र शिशु भोकै हुने मात्र हैन, रिसाउन पनि थाल्छ । शिशुले दूध चुसेको छैन भने दूध बन्ने प्रक्रिया पनि रोकिन्छ र क्रमशः स्तनपान नै रोकिने सम्भावना हुन्छ । स्तनको टुप्पोमा घाउ हुने र त्यसले गर्दा गान्निने, पाक्नेजस्ता समस्या पनि आउन सक्छन् । त्यसैले स्तनपानमा समस्या आउँदा समयमा नै उपयुक्त व्यवस्थापन हुन जरुरी छ । शुरुका दिनमा आउने यी समस्या निराकरण गर्ने सके दूध पुगेन भन्ने अवस्था नै आउँदैन । कथंकदाचित् वैकल्पिक दूध खुवाउनुपर्ने भए पनि बोतलबाट खुवाउनु हुँदैन । बोतलको निप्पलबाट दूध सजिलै बच्चाको मुखमा आउने हुँदा आमाको स्तनबाट चुसेर निकाल्न अल्छी गर्न थाल्छ र त्यसपछि स्तनपान नै रोकिने हुन्छ । दूध सही तरिकाले बनाउन र सरसफाइमा ध्यान पु¥याउन नसक्दा बच्चाको ज्यान नै जोखिममा पर्न सक्ने सम्भावना त छँदै छ । आमाको दूधमा शिशुलाई चाहिने सबै थरी पोषक तत्व पाइने, अरु दूधभन्दा पचाउन सजिलो हुने, रोगसँग लड्ने प्रतिरक्षा प्रणाली मजबुत बनाएर सङ्क्रमण घटाउने र आमा–बच्चाको आत्मीयता मजबुत हुनेबाहेक आमाको स्वास्थ्यमा समेत फाइदा पु¥याउने भएकाले छ महिनासम्म आमाको दूध मात्रै खुवाउन र त्यसपछि पनि थप आहारसँगै स्तनपान जारी राख्न जरुरी छ । (आफ्ना बच्चाको स्वास्थ्य र स्याहारसम्बन्धी कुनै पनि जिज्ञासा भएमा दबिकत।अजष्मिजभबतिज २नmबष्।िअयm इमेलमार्पmत् यस स्तम्भमा पठाउन आग्रह गर्छौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा दिनेश धरेलले सान्दर्भिकता हेरेर पालैपालो जवाफ दिनेछन् ।)