सङ्खुवासभा / जिल्लाका अधिकांश विद्यालयहरुले सञ्चित विरामी विदाको रेकर्ड नराखेको पाइएको छ । प्रत्येक विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले पाँच बर्ष देखिको विरामी विदाको रेकर्ड फाइल माग गरे पछि रेकर्डनै नराख्ने गरेको पाइएको हो । कर्मचारीले निवृत्त भए पछि सञ्चित विरामी विदाको सेवा सुबिधामा राज्यले उपलब्ध गराउने प्रावधान छ । शिक्षा नियामवली २०५९ को नियम १७ ले प्रत्येक बर्ष विद्यालय निरिक्षकको रोहवरमा विरामी विदा प्रमाणीत गरी जिल्ला शिक्षा कार्यालयमा पठाउनु पर्ने व्यवस्था तोकेको छ । यता हालसम्म विद्यालयहरुले भने अधिकतम बार्षिक रुपमा पाउने १२ दिनको विदा सेवाबर्षसँग जोडेर सेवासुबिधा लिदै आएको पाइएको छ । विद्यालय निरिक्षकले प्रत्येक शिक्षकको विरामी विदा प्रमाणीत गर्नु पर्ने जिम्मेवारी भए पनि यसो नगर्दा विरामी विदामा भ्रष्टचार हुने गरेको शिक्षा कार्यालयको भनाई छ । विदा रेकर्ड फरक परेमा भ्रष्टचार निवारण ऐनको दफा ११ बमोजिम कसुरको मात्रा अनुसार तीन महिना देखि छ महिना सम्म कैद र ५० हजार जरिवानाको व्यवस्था गरेको छ । यता जिल्ला शिक्षा अधिकारी टंक प्रसाद गौतमले २०६८ साल देखि २०७२ सम्मको रेकर्ड राखेर विदा प्रमाणित गर्न शुरु गरेको जनायो । २०७३ बैसाखमा विद्यालय श्रोत व्यत्तिहरु मार्फत रेकर्ड बुझाउन निर्देशन दिए पछि आजसम्म तीन सय ७२ वटा सामुदायिक विद्यालय मध्य ५० वटा विद्यालयले मात्र रेकर्ड बुझाएको विद्यालय निरिक्षक सन्तोष बरालले बताए । तीन सय २२ विद्यालयले विदाको रेकर्ड नराखेकाले बुझाउन नसकेको बरालको भनाई छ । कार्यालयले २०६८ साल देखि २०७२ सम्म हाजिरी रेकर्ड, विदा दावी गरी शिक्षकले ल्याप्चे गरी सिफारिस गरेको र प्रधानध्यापकले शिक्षकको विदा प्रमाणित गरी विद्यालय निरिक्षकलाई बुझाएको रेकर्ड माग गरेका छन् । कार्यालयले टिपेक्स लगाएको रेकर्डलाई मान्यता नदिने समेत निर्देशन गरेको छ । विदाको रेकर्ड नभए पछि प्राथमिकमा कार्यरत एक हजार ५० दरबन्दी र एक सय ३० राहत, निम्न माध्यमिकमा एक सय ६९ दरबन्दी, ९० राहत, माध्यमिकमा एक सय ३७ दरबन्दी, ६४ राहत र उच्चमाध्यमिकमा १४ दरबन्दी र २९ अनुदान गरी एक हजार छ सय ८३ कार्यरत शिक्षक मर्कामा परेका छन् । विद्यालय निरिक्षकबाटै प्रमाणीत विदा नभए पछि शिक्षकबाट विदा हिनामीना हुने गरेको थियो । यसो हुन नदिन हामीले अभियान सञ्चालन गरेका छौ । अव विद्यालय र शिक्षक दुवैले समस्या खेप्नु नपर्ने जिशिअ गौतमले बताए ।