अधिकांश नेपालीहरूको चाड दशैं वास्तवमा साधारण चाड नभई ठूलो धार्मिक अनुष्ठानको रूपमा पनि स्थापित रहेको छ । शक्ति पूजाको प्रयोजनको लागि घटस्थापनाको दिनदेखि नौदिनसम्म नवरात्र व्रत बस्ने धार्मिक विश्वास भएका मनिसहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । नौ दिनसम्म नवरात्र व्रत बस्न किन आवश्यक छ भने शक्ति स्वरूपिणी दुर्गा माताका नौवटा रूपहरू मार्कण्डेय पुराणमा वर्णित छ । जस अनुसार–
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी । तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्।। पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च । सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।। नवमं सिद्धिदात्री च नव दुर्गा प्रकीर्तिता: । नवरात्रको पहिलो दिन भगवतीको शैलपुत्री रूपको आराधना हुन्छ भने दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाँचौ दिन स्कन्दमाता, छैठौ दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी, तथा नवौ दिन सिद्धिदात्रीको रूपको आराधना हुन्छ । नौ दिनहरूमा भगवतीको नौवटा रूपहरूको आराधना गर्नुपर्ने भएको हुनाले नै नौ दिनको नवरात्र व्रतको सड्ढल्प हुने गर्दछ ।
वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम् । वृषारुढां शूलधरां शैलपुत्री यशस्विनीम् ।। माता दुर्गा आफ्नो पहिलो स्वरूपमा शैलपुत्रीको नामले प्रसिद्ध छिन् । पर्वतराज हिमालयको घरमा पुत्रीको रूपमा उत्पन्न भएकी हुनाले यिनको नाम शैलपुत्री रहन गएको हो । वृषभमाथि आरूढ शैलपुत्रीको दाहिने हातमा त्रिशूल तथा देब्रे हातमा कमलपुष्प सुशोभित रहेको हुन्छ । नवदुर्गाहरूमा प्रथम शैलपुत्रीको महत्त्व तथा शक्ति अनन्त छ । नवरात्रको प्रथम दिन भक्तहरूले अत्यन्त आस्था तथा भक्तिपूर्वक माता शैलपुत्रीको आराधना गर्दछन् ।
शक्ति पूजा गर्ने बर्तालुहरूले घटस्थापनाको दिन बिहानै नित्य क्रिया पछि नदी पोखरीको पवित्र जलमा स्नान गरेर नदी पोखरीको बालुवा ल्याई पूजा कोठामा वेदी बनाएर विधिवत् घटस्थापना गरी नौ दिनको व्रतको थालनी गर्दछन् । त्यस प्रकारले बनाइएको वेदीमाथि जौको दाना छरेर जमरा उमार्ने गर्दछन् । बर्तालुहरू दिनभरि निराहार बसेर बेलुकाको पूजा समापन पछि फलाहार गर्दछन् । कोही कोही बर्तालुले अलिनो अन्न पनि खाएर व्रत बस्दछन् । यस प्रकारले शक्ति पूजा गर्ने बर्तालुहरू नौ दिनसम्म पूर्ण संयम तथा ब्रह्मचर्यको पालना गर्नु आवश्यक हुन्छ । अझ भूमि शयन, वल्कल वस्त्र तथा पूर्ण उदासीन अवस्थामा रहनुपर्ने अनिवार्यता हुन्छ । घटस्थापनाको दिनदेखि नै बर्तालुहरूले कपाल, दार्ही तथा नङ काट्न पूर्णरूपेण निषेधित हुन्छ । घटस्थापना गरिएको ठाउँमा नौ दिनसम्म अहोरात्र अखण्ड ज्योति बालिराख्नुपर्दछ । यस प्रकारले पूजा आराधना गर्दै जाँदा नवौं दिनमा दशमांस मार्जन, दशमांस तर्पण तथा पूर्णाहुति गरेर यस शक्ति पूजाको समापन हुने गर्दछ । दशौ दिनमा जमरा काटेर विभिन्न देवी देउताहरूलाइ अर्पण गरेर स्वयंले धारण गरी दशैं पूजा समापन गरिन्छ ।
यस शक्ति पूजाको सम्बन्धमा राजा सुरथसित महर्षि मेधा ऋषिले भनेका थिए–तामुपैहि महाराज शरणं परमेश्वरीम्। आराधिता सैव नृणां भोगस्वर्गापवर्गदा ।। महाराज तपाईंले तिनै भगवती परमेश्वरीको शरण ग्रहण गर्नुहोस् । उनी आराधनाबाट प्रसन्न भएर मानिसहरूलाई भोग, स्वर्ग र अपुनरावर्ती मोक्ष प्रदान गर्नुहुन्छ । यसै अनुसार आराधना गरेर ऐश्वर्यकामी राजा सुरथले अखण्ड साम्राज्य पाएका थिए भने वैराग्यवान समाधि वैश्यले दुर्लभ ज्ञानद्वारा मोक्ष प्राप्त गरेका थिए । यदि वास्तवमा पूर्ण निष्ठा, सम्यक विधि विधान तथा श्रद्धापूर्वक भगवतीको नवरात्र आराधना गर्ने हो भने साधकले– यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् । जे जे चिताउँछ त्यो अभीष्ट वस्तु निश्चय नै प्राप्त गर्न सफल हुन्छ । जीवेद् वर्षशतं साग्रमपमृत्युविवर्जित:। शक्ति पूजा गर्ने साधक अपमृत्यु (अकाल मृत्यु– यथा आगो, पानी, बिजुली तथा सर्पदंश आदिद्वारा हुने मृत्यु) बाट सुरक्षित भएर एक सय वर्षसम्म बाँच्छ । दशैंको यस पुनीत अवसरमा हामी माता भगवतीसित यही प्रार्थना गरौं–देवि प्रपन्नार्तिहरे प्रसीद प्रसीद मातर्जगतोऽखिलस्य । प्रसीद विश्वेश्वरी पाहि विश्वं त्वमीश्वरी देवि चराचरस्य ।।