धरान/ सातवर्ष र चारवर्षदेखि पशु झै साङ्ग्लाले घरमै बाधेको अवस्थामा भेटिएका दुई जना मानसिक रोगीलाई मावन अधिकारको टोलीले उपचारमा ल्याएको छ । राष्ट्रिय मानव अधिकार क्षेत्रीय कार्यालय विराटनगर, इन्सेक, टोकन लगायतको संस्थाले पशु झै नारकीय जीवन विताइरहेका सुनसरी मधेली–८ का ३५ वर्षीय मोहम्मद सकिल र औरावनी–८ का २२ वर्षीय अमितकुमार साहूलाई उपचारको लागि धरान ल्याइएको हो ।

manasik rogi

सकिललाई चारवर्षदेखि साग्लाले बाधिएको थियो भने साहूलाई सातवर्षदेखि बाधेर राखिएको थियो । उनीहरु करिव ९ वर्षदेखि रोग पालेर बसेका थिए । परिवारले भारत बिहारको राँचीसम्म उपचारको लागि पु¥याए पनि ठिक नभएपछि फिर्ता ल्याएको थियो । आर्थिक अवस्थाकै कारणले उनीहरुलाई उपचार गर्न सम्भव नभएपछि बाधेर राखिएको परिवारले बताएका छन् । घरपरिवारले उनीहरुलाई खोरमा बाधेर राखेको अवस्थामा मानव अधिकार र इन्सेकको टोलीले केही दिन अघि फेला पारेको थियो । टोलीले उनीहरुको उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार ल्याएको छ । साहू औरावनी गाविसकै गडदेव विद्यालयमा कक्षा ९ मा पढ्दा पढ्दै रोग सुरु भएको आमा तेतरी साहूले बताइन् ।

‘९ कक्षामा पढ्दापढ्दै यो रोगले भेट्यो ।’ तेतरीले मैथिली भाषामा भनिन्, ‘तीनपटक राँची लगे । तर, ठिक भएन् । पैसा सकियो ।’घरखेत नभएका उनको श्रीमानले आलु व्यापार गरेरै परिवारको पेट पाल्दै आएका थिए । छोराको त्यो अवस्था भएपछि परिवारसमेत विक्षिप्त बनेको छ । उनले आफ्नो छोराको उपचारमा तीनलाख रुपैया खर्च गरेको तर, पनि ठिक नभएपछि बाधेर राखेको बताइन् । रोग लाग्नु अघिसम्म साथीभाइसँग हिडडुल गर्ने र पढाईसमेत राम्रै रहेको आफन्त दाजू रविन साहूले बताए । तर, एक्कासी रोग लागेको र उपचार गर्दा पनि ठिक नभएपछि ७ वर्षदेखि बाधेर राखेको बताए । त्यस्तै अर्का रोगी सकिलको दुईवटा बच्चा र श्रीमती छन् । उनलाई चारवर्ष अघिदेखि खोरमा बाधेर राखेको अवस्थामा मानव अधिकारको टोलीले फेला पारेको थियो । सकिलका काका मोहम्मद वाजुद्दिनका अनुसार ९ वर्ष अघि विहे भएको थियो । दुईवटा बच्चासमेत भइसकेको थियो ।

गार्मेन्टमा सिलाई बुनाईको कामबाट घरपरिवार पाल्नेदेखि लिएर घरसमेत बनाएको उनले बताए । तर, एक्कासी ६–७ वर्षदेखि रोग सुरु भएको र चारवर्षदेखि बाधेर राखेको बताए । उनलाईसमेत उपचारको लागि राँची पु¥याइएको थियो । तर, पनि ठिक नभएको उनले बताए । राष्ट्रिय मानव अधिकारका क्षेत्रीय प्रमुख झन्कार रावलका अनुसार घरमै अमानवीय तरिकाले बाधेर राखेको पाइएपछि निःशुल्क उपचारको लागि आफूहरुले पहल गरेको बताए । उनले शरीरमै दिसापिसाव गर्ने गरेको अवस्थामा घर परिवारले पनि वेवास्ता गरिरहेको भेटिएको बताए । ‘न त राज्यले हेरेको पाइयो । न त स्थानीय निकायहरुले नै । घरको आर्थिक अवस्था पनि न्युन रहेछ ।’ उनले भने ‘त्यसपछि हामीले के गर्न सकिन्छ भनेरै छलफल गरेर उपचारको लागि बीपी ल्याएको हौं ।’

इन्सेकका प्रमुख सोमराज थापाले बीपी प्रशासनले निःशुल्क उपचार गरिदिने आश्वासन दिएपछि उपचारको लागि ल्याइएको बताए । कुनै पनि निकायहरुले सहयोग नगरेको अवस्थामा टोली पुगेर प्रहरीको सहयोगमा धरान ल्याइएको उनले बताए । उनीहरुलाई प्रतिष्ठानको मानसिक रोग विभागमा राखेर उपचार गराइने भएको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक वार्ड अघि प्रहरीको निगरानीमा रहेका मानसिक रोगीद्धय ।