ansan-jhapa-aamaran

बिर्तामोड / बिर्तामोडको ‘सुविधा सम्पन्न’ हस्पिटल हो, बी एण्ड सी । लगभग टिचिङ हस्पिटल स्तरको छ । उपचार पनि राम्रै हुने कतिपय बिरामी बताउँछन् । उपकरण पनि ‘ अत्याधुनिक’ ल्याएर उपचार गरिरहेको सुनिन्छ । हस्पिटलको भौतिक संरचना र कलेजको संरचना पनि उस्तै आकर्षक छ । बिर्तामोड–६ मा रहेको हस्पिटलको कलेज भने धाइजनमा छ ।

पत्रकारलाई भेट्नै हुँदैन, यसका सञ्चालक दुर्गा प्रसाई भन्न थालिहाल्छन्, ‘सरकारले तोके बमोजिम नै संरचना निर्माण गरेका छौँ, यतिको संरचना अब मेची अञ्चलमा बन्दैन ।’तर, अहिले यस हस्पिटलभित्र एउटा रमिता हेर्न आउनेको भीड बढेको छ । झण्डै एक सातादेखि हस्पिटलभित्र अनौठो दृश्य देखिँदैछ । एकजना ‘समाजसेवी’ हस्पिटल परिसरमै आमरण अनशन बसिरहेका छन् । उनको माग छ– ‘बीएण्डसी’लाई सरकारले जसरी पनि मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिनुप¥यो । अचम्म त के छ भने, न उनी यस हस्पिटलका लगानीकर्ता हुन्, न त स्वास्थ्यकर्मी । उनी बिर्तामोडमा चिनिएकै सामाजिक कार्यकर्ता हुन् ।

एक्कासी उनी नै किन अनसन बसे, चासोको विषय बनेको छ । झापाका चियापसलदेखि राजनीतिको केन्द्रसम्म उनी अनशन बसेको विषय अहिले चर्चामा छ । धेरैले उनलाई अस्पतालसँगको सेटिङमा अनशन बसेको आरोप लगाइसके । उनको विगत अध्ययन गरेकाले भने नागरिकको लागि कष्ट उठाएको अनुमान गर्छन् । अनशनरत् मैनालीलाई भेट्न हस्पिटल पुग्नेको सङ्ख्या बाक्लो छ । एक सातादेखि आमरण अनशन बसिरहे पनि उनी खासै अस्वस्थ भने देखिएका छैनन् । बेडमा ढल्किन्छन् । उप्परखुट्टी लगाउँछन् । र, गफ गरिरहन्छन् । छेउमा एउटी नर्स बसेकी छिन्, मैनालीको रेखदेख गर्न । मेची अञ्चलका २६ लाख नागरिकको प्रतिनिधित्व गरेर आफू अनशन बसेको प्रष्टिकरण दिन्छन्, मैनाली । अझ रोचक कुरा त के छ भने, कुनै सरकारी प्रतिनिधी वा राजनीतिक नेतृत्व झापा आउँदा हतार हतार हस्पिटलमा लगिन्छ । अनशनरत् मैनालीका मागप्रति ऐक्यबद्वता जनाउन लगाइन्छ ।

केही दिनअघि पूर्व सभामुख एवम् एमाले नेता सुभास नेक्वाङ आए । लगत्तै अनेरास्ववियु केन्द्रीय कमिटीका प्रतिनिधी, वर्तमान सरकारका खेलकुदमन्त्री दलजित श्रीपाली लगायतले अनसन निरीक्षण गर्न भ्याइसके । हस्पिटलमा कोही नेता आउँदैछन् भने बिर्तामोडका अधिकांश पत्रकारलाई हस्पिटलबाट फोन आइसकेको हुन्छ । पत्रकार पनि हुरुरु पुग्छन् । अचम्म ! मैनाली हस्पिटलमै आएर अनशन बस्छन् । पत्रकारलाई हस्पिटलका पीआरओ (जनसम्पर्क अधिकारी)ले बोलाउँछन् । र, खाममा दिनहुँ पैसा बाँड्छन्, समाचार लेखिदिनका लागि । यो दृश्यले हस्पिटलले मैनालीलाई प्रायोजित रुपमा अनशन बसाएको हो भनेर शङ्का गर्नेहरु बढेका छन् । केही महिना अघि ‘स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेची’ नाम दिएर एउटा समूह गठन भयो ।

यो समूह बी एण्ड सी हस्पिटलले नै गठन गराएको अनुमान गरेका थिए, धेरैले । समूहमा पत्रकार पनि छन् । बीना दर्ताको सो समूहका उपाध्यक्ष अनशनकारी मैनाली नै हुन् । काठ्माडौँमा डाक्टर गोविन्द केसीको लगातारको अनशनसँगै सरकारले नयाँ हस्पिटललाई अध्ययन अनुमति नदिने भएलगत्तै गठन गरिएको यो समूह बीएण्डसीलाई सहयोग गर्न स्थापना भएको जानकारहरु बताउँछन् । बी एण्ड सी हस्पिटललाई टिचिङ हस्पिटलको मान्यता दिलाउन झण्डै एक सातादेखि आमरण अनशनमा बसेका मैनालीलाई नेपाल सरकारका तर्फबाट आएका युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले भेट गरे ।

पूर्वाञ्चलमा हुन लागेको सातौँ राष्ट्रिय खेलकुदका क्रममा अध्ययन गर्न झापा आएका मन्त्री श्रीपालीले आइतबार मैनालीलाई भेटेका हुन् । भेटका क्रममा मापदण्ड पुगेका अस्पताललाई शिक्षण अस्पतालको सम्बन्धन दिन व्यक्तिगत हिसाबले आफूले सहयोग गर्ने बताउँदै मन्त्रीले यस विषयमा मन्त्रीपरिषद्को बैठकमा कुरा उठाउने बताएका थिए । मन्त्री श्रीपालीले समर्थन पुस्तिकामा ‘न्यायिक सङ्घर्षको निम्ति आमरण अनशनजस्तो कठिन सङ्घर्ष गरिरहेका चैतन्य प्रकाश मैनालीप्रति धन्यवादसहित स्वास्थ्य लाभको कामना गर्दछु’ लेखेर हस्ताक्षर गरेका छन् ।