sibirशनिश्चरे, मोरङ / झापा र मोरङका शिविरमा रहेका भूटानी शरणार्थीमा यसपालीको दशैंको खासै रौनक देखिएन । भूटानी शरणार्थीलाई सन् २००८ देखि तेस्रो देश पुनर्वास गराउन सुरु गरेपछि शिविरमा दशैंजस्ता चाडपर्वको रौनक घट्दै गएको थियो । यस क्रममा शिविरमा रहनेको संख्या थोरै भएपछि त दशैं खल्लो नै बन्न थालेको दमक बेलडाँगी १ का बृद्ध मेकमान तामाङले अनुभव सुनाए । ‘मेरी श्रीमती सहित मेरा सन्तान कोही युरोप, कोही अमेरिका पुगेर परिवार नै तितरवितर भयो । आफु मात्र यहाँ छु । त्यसोहुँदा आफुले महत्वपूर्ण मान्दै आएको दसैँ साह्रै खल्लो भयो ।’– उनले विलौना गरे । तामाङ जस्तै शिविरमा रहेका अधिकांश शरणार्थीका आफन्त तथा परिवारहरु बेलडाँगी शिविरका दुर्गामान सन्यासीलाई समेत यो दसैँ अघिल्ला दसैँभन्दा खल्लो लाग्यो । चाडपर्वले परिवारमा सद्भाव र उमङ्ग आउनुपर्नेमा सिङ्गो परिवार बिछोडिएपछि शिविरमा दसैँजस्ता चाड खल्लो बन्दै गएको सन्यासीको बुझाइ छ । दशैं जस्ता साँस्कृतिक चाडपर्व, नेपाली भाषा र नेपाली भेषभुषाको संरक्षणको कुरा उठ्दा भूटान सरकारले देश निकाला गरी उनीहरुलाई शरणार्थी बनायो । शरणार्थी बन्दाको अवस्थामा समेत आफ्ना चाडपर्व मनाइरहेको अवस्थामा एक्कासी अन्य विकल्प छोडी तेस्रो देश पुनर्वासको कार्यक्रम ल्याएर परिवार विखन्डन भएपछि दशैं पुनः टाढा बन्न पुगेको डिल्लीराम सुवेदीको पीडा छ । उनले भने, “जसोतसो संस्कार धान्न औपचारिक मात्र भए पनि पर्व मनाउनै पर्यो नि !” उनले दसैँंमा पनि खल्लो मन लिएर टीका जमरा थाप्नु बाध्यता नै रहेको सुनाए । इन्द्रकुमार प्रधान, दुर्गामाया प्रधानहरुले पनि मन खिन्न पारेर जसो तसो दशैं मनाए ।  उनीहरुको एउटै खाले पीडा छ ‘जब पर्वहरु आउँछन, उमङ्गभन्दा निराशाले मन किच्ने गर्दछ । केही वर्षअघिसम्म त फाटेको छानोमुनि आफन्तको साथमा दसैँं मनाउँदा पनि मन जोडिन्थ्यो । तर परिवार नै विभाजित हुँदै तेस्रो मुलुक जान थालेपछि त शिविरमा रहेका शरणार्थीलाई यी पर्वहरु पिरका पर्याय बन्ने गरेका छन् ।’ अमेरिका लगायत अस्टे«लिया र युरोपका आठवटा मुलुकमा १ लाख १० हजार बढी शरणार्थी पुनर्वास भइसकेका छन् । शिविरमा रहनेको संख्या १५ हजार हाराहारी छ । लक्षित समूहको पीडा मोरङ्गको उर्लावारीका जेष्ठनागरिक, एकल महिला, अपाङ्गता भएकाहरुले  दशैंमा समेत सामाजिक सुरक्षा भत्ता नपाएकोमा दशैं खल्लो भएको बताएका छन् । नेपाल सरकारबाट  जेष्ठनागरिक, एक्कल महिला, अपाङ्गताहरुलाई राहत पु¥याउने उद्देश्यले प्रत्येक चौमासिक रुपमा बितरण गराउदै आएको सामाजिक सुरक्षा भत्ता उर्लावारी नगरपालिकाले उपलब्ध नगराउँदा लक्षित बर्गलाई दशैं मनाउन समेत असर परेको छ । बिगतका बर्षहरुको तुलनामा सरकारले भत्ता दोब्बर बढाएपनि दशैंको मुखमा वितरण नगरेपछि भत्ताको औचित्यमाथि प्रश्नचिन्ह खडा भएको अपाङ्गता भएकाहरुको समूह उर्लाबारीका अध्यक्ष ब्यासकुमार लिम्बुले दुखेसो पोखे । आसपासका नगरपालिका र गाविसमा यसखाले भक्ता वितरण भएको अवस्थामा उर्लाबारीमा वितरण नहुनुको कारण बुझ्नका लागि दशैंको छुट्टी हुनै लाग्दा उर्लाबारी ६, ७, ८ र ९ वडाका ३० जना भन्दाबढिले नगरपालिकाको कार्यालयमा डेलिगेसन गएका थिए । उर्लाबारी नगरपालिकामा बसाई सरि आएका नयाँ सेवाग्राही बाहेक सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या २ हजार ९ सय ५५ जना रहेको नगरपालिकाको तथ्याङ्क छ । जसमा ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकको संख्या १ हजार ३ सय ६८ रहेको छ । त्यस्तै उर्लाबारी–छ की पबित्रा दर्जीले आफ्नो लागि यसपालिको दशैं संकटपूर्ण बनेको बताइन् । आयश्रोतको केही बाटो नभएकाले दशैंका लागि बिकल्प त्यहि सामाजिक सुरक्षा भत्ता रहेकोमा त्यताबाट पनि धोका पाएपछि ऋणमा दशैं वितेको उनले सुनाइन् । हिलाम्मे सडकले समस्या वर्षाका कारण झापा मोरङका कच्ची ग्रामिण सडक हिलाम्मे हुँदा दशैंमा आवत जावतमा समस्या भएको छ । दशैंमा आफन्तको घरमा भेटघाटको निम्ति आवत–जावत गर्नेहरु देखी अन्य विभिन्न काम–काजमा आवत–जावत गर्नेहरु हिलाम्मे सकडले ठुलो सकस वनाएको छ । सुगम जिल्लाको रुपमा दरिएको झापा र मोरङको मुख्य सहर–बजार वाहेक जिल्लाको अन्य क्षेत्रहरुलाई जोढ्ने सडकको अवस्था कमजोर वन्दै गएको छ । लगातारको वर्षादसंगै सडकमा भएको खाल्डा–खुल्डीहरुमा हिलाम्मे पानी जमेको कारण सवारी साधन संचालन र पैदल यात्रामा कठिनाई उत्पन्न भएको झापा हल्दिवारीका हिरण्य तिम्सिनाले जनाए । खासगरी पूर्व–पश्चिम राजमार्गहुदै झापाबाट दक्षिणीक्षेत्रहरुलाई जोड्ने अधिकास सडकहरु हिलाम्मे वनेका छन् । यसैक्रममा भद्रपुर–पुथ्वीनगरहुदै दक्षिणीक्षेत्र पाठामारी, केचना, महेशपुर र घेरावारी जोड्ने सडक खण्डमा सवारी साधन र यात्रुहरुलाई हैरानी भएको छ । त्यस्तै पुर्व–पश्चिम राजमार्गको धरमपुरचौक हुदै दक्षिण शृुक्रबारे–मंगलबारेवाट पाराबारी र डुडामारीचौक हुदै फाक्त्तेपहुदै साधुचोकसम्म नियमित आवत–जावत गर्ने यात्रुवाहक सवारी साधनलाई हिलाम्मे सडकमा सकस भएको छ । मोरङको उर्लाबारी किसानचोकबाट टाँडी, गान्धी मनमोहन मार्ग, कानेपोखरी रंगेली सडक लगायतका सडकको अवस्था पनि त्यस्तै रहेको छ ।