कुनै पनि कुरा एउटा मात्रै भेटिनुलाई संयोग मान्न सकिएला । तर, एकै ठाउँमा त्यही कुरा एक भन्दा बढी भेटिनुलाई संयोग मान्दा पक्कै ठूलै भूल हुने छ । एउटा मात्रै हुँदा कसैले पूर्वजानकारी दिलाउनको लागि ‘प्रदर्शन सामग्री’ को रुपमा ल्याएको होला वा राखेको होला भन्न गाह्रो नर्पला । तर, त्यही कुरा फरक–फरक ठाउँमा हुनु गम्भिर लापरबाहीको नमुना हो ।
यस्तै घटना धरानमा शुक्रबार पूर्वको रेफरल सेन्टरको रुपमा परिचित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ । ‘एल ए’ नामक मासु लट्याउन बाहिरी भागमा प्रयोग गरिने स्पे्र जो ५ महिना अघि नै म्याद गुज्रिएको अवस्थामा भेटिएको थियो । त्यस्ता औषधिहरु चिकित्सकहरुले बिरामीलाई प्रयोग गरेको अवस्थामा फेला परेको थियो ।
चिकित्सकहरुका अनुसार उक्त औषधि विशेष गरी दन्त विभागको पनि बच्चा वार्डहरुमा अधिकतर प्रयोगमा आउँछ । प्रोस्थोडोन्टिक्स विभागमा फेला परेको उक्त स्प्रे त्यो विभागमा भेटिनु आफैमा आश्चर्यजनक छ । चिकित्सकहरुका अनुसार अन्य वार्डहरुमा यो स्प्रे विद्यार्थीहरुलाई ‘प्रर्दशन’ को लागि मात्रै पुर्याइने गरिन्छ । तर, यहाँ त्यस्तो भएको थिएन् । एक बिरामीलाई सम्बन्धित चिकित्सकले प्रयोग गरेको अवस्थामा अर्का बिरामीले देखेका थिए ।
उनले देखेपछि के रहेछ भनेर हेर्ने क्रममा उक्त स्प्रेको उत्पादन मिति सन् २०१३ थियो भने म्याद सकिने मिति सन् २०१६, मे, जुन र जुलाई उल्लेख थियो । करिव पाँच महिना अघि नै सकिएको मितिको उक्त स्प्रे कसरी त्यहाँ पुग्यो ? वा किन प्रयोग गरियो ? ।
प्रोस्थोडोन्टिक्स विभागको वार्ड नम्बर तीनमा प्रयोग भइरहेको उक्त स्प्रेले यस्ता धेरै प्रश्नहरु उब्जाएको छ । बच्चा वार्डमा प्रयोग हुने उक्त स्प्रे कसरी प्रोस्थोडोन्टिक्समा पुग्यो ? र, प्रयोगमा ल्याउनु पूर्व चिकित्सकहरुलाई किन जानकारी भएन् वा राखिएन् ?
यस्ता प्रश्नहरुलेसमेत आम जनतालाई घेरेको छ । त्यतिमात्रै हैन, दक्षिण एसियाको उत्कृष्ट अस्पतालको रुपमा परिचित बीपीमा म्याद नाघेका औषधिहरु प्रयोग हुन्छन् भने अन्य अस्पतालहरुको अवस्था के होला ? कि अनुगमनकारी निकाय औषधि व्यवस्था विभागको ध्यान बीपीमा नपुगेकै हो त ? या त सिनियर चिकित्सक तथा डाक्टरहरु उत्पादन गर्ने थलोको रुपमा रहेको बीपीले यस्ता औषधिहरुको ख्याल गर्ने कि नर्गने ?
आम उपभोक्ताको प्रश्न छ । प्रश्न यतिमै सिमित हुँदैन् । चिकित्सकहरुले इलाका प्रशासन कार्यालय धरानका निमित्त प्रमुख जयराम श्रेष्ठको टोलीले उक्त स्प्रेहरु बरामद् गरिरहँदा भनेका थिए, ‘यो स्प्रे विशेष गरेर मासु लट्याउनको लागि इन्जेक्सन गर्नु पूर्व मासुको बाहिर भागमा प्रयोग गरिन्छ । त्यसपछि मात्रै इन्जेक्सन प्रयोग हुन्छ । छालाको बाहिरी भागमा लगाइने भए पनि म्याद नाघेको औषधिले ‘डिफेक्ट’ गर्दैन त ? अवस्य पनि गर्छ ।
तर, तत्काल त्यसको असर नदेखिएला फरक कुरा हो । कालान्तरमा त्यसको प्रभाव देखिने चिकित्सकहरु नै बताउँछन् । किनकी औषधि यस्तो चिज हो । जसमा हेलचेक्राई वा वेवास्ता गरेमा त्यसले गम्भिर असर मात्रै पुर्याउँदैन्, औषधिकै कारण जीवनभर प्यारालाइसिस र अपाङ्गसमेत हुने गरेको प्रमाणहरु प्रसस्तै छन् । यस्ता गम्भिर घटनालाई बीपी प्रतिष्ठान प्रशासनले कसरी लिएको छ या लिन्छ ?
म्याद नाघेका तीनवटा स्प्रेले सम्बन्धित निकायहरुको जिम्मेवारी बढाएको छ । नामको मात्रै अनुगमन गर्ने संस्कार बसेको हाम्रोजस्तो गैरजिम्मेवार निकायहरुको ध्यान अव यस्ता अस्पतालका सम्पूर्ण औषधिहरुमा जानु आवश्यक देखिएको छ । अस्पतालका एक–एक औषधिहरुको अनुगमन र निरीक्षण गरेर जिम्मेवारीलाई थप मजबुत बनाउनु पर्ने बेला आइसकेको छ । औषधि अनुगमनको अधिकार प्राप्त संस्था औषधि व्यवस्था विभाग अव प्रतिष्ठानको हरेक औषधिमा निगरानी गर्न आवश्यक छ ।
किनकी कुनै पनि चिकित्सकहरुले यस्ता म्याद नाघेका स्पे्र वा औषधिहरु प्रयोगमा ल्याइदिएमा त्यसको नतिजा के हुन्छ यो स्तम्भकारले माथि नै जानकारी गराइसकेको छ । त्यसैले पनि यो औषधि बीपीको हकमा प्रतिनिधि मात्रै हुन सक्छ । यस्ता औषधिहरु कति छन् कति बिपीमा । त्यसको लेखाजोखा राख्ने दायित्व अव औषधि व्यवस्था विभागलाई आइपरेको छ भने प्रतिष्ठान प्रशासनको आफ्नो दायित्व त छदै छ । प्रशासनले जिम्मेवारीपूर्वक औषधि व्यवस्थापन गर्ने कर्मचारी तथा त्यस्ता औषधि बिक्रेताहरुलाई सचेत गराउँदै अघि बढ्न जरुरी छ ।
विभागले गर्ने बर्खे अनुगमनलाई चुस्त बनाउन जरुरी छ । र, साना पसलहरुमा मात्रै गरिने अनुगमनलाई तत्काल रोकेर यस्ता अस्पतालहरुको औषधिहरुको निरीक्षण गर्न आवश्यक छ । अनुगमन गर्न आवश्यक छ । अन्यथा दायित्वबाट पर हट्ने हो भने लापरबाहीलाई बढावा दिनु मात्रै हैन, हरेक दिन कयौं बिरामीलाई रोगको दलदलमा फसाउँनु पनि हो । त्यो जिम्मेवारीबाट न त प्रशासन भाग्न मिल्छ न त औषधि व्यवस्था विभाग नै ।