इलाम/यहाँका आठवटा गाविसमा पूर्णसरसफाइ कार्यक्रम शुरु भएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फनबोर्ड) मार्फत सुनगाभा विकास संस्थाद्वारा जिल्लाका नयाँबजार, प्याङ, इरौंटार, चमैता, जीतपुर, फाकफोक, इभाङ र साकफारा गाविसमा पूर्ण सरसफाइ कार्यक्रम प्रारम्भ भएको हो । पहिलो चरणमा ती गाविसमा बनाइएको कार्ययोजनामा गाउँ खानेपानी सरसफाइ स्वच्छता समिति (भिवाससिसी) पुनर्गठन, गाविसका सबै वडामा युवा र महिलाको छुट्टाछुट्टै समिति गठन, विद्यालयमा शिक्षक विद्यार्थीको सरसफाइ समिति गठन गरिएको सुनगाभा विकास संस्थाले जनाएको छ ।
एक वर्षभित्रमा यी आठवटा गाविसलाई पूर्णसरसफाइयुक्त गाविस घोषणा गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएकोे कार्यक्रमका सरसफाइ अधिकृत दीपेन्द्र खनालले बताए ।समिति गठन भइसकेकाले अब सबै समितिका पदाधिकारीलाई पूर्णसरसफाइका बारेका प्रशिक्षण दिने र यसका लागि वातावरणीय सरसफाइसहित घरायसी सफाइअन्तर्गतका सातवटा सूचकका बारेमा जानकारी गराइन्छ ।
अधिकृत खनालका अनुसार घरायसी सूचकमा शौचालयको उचित प्रयोग, साबुन पानीले हात धुने, स्वच्छ पानीको प्रयोग, सफा खाना, घर आँगन सरसफाइ, व्यक्तिगत सरसफाइ र गाई गोठको व्यवस्थापन लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।प्रशिक्षण पाएका समितिका पदाधिकारीले आफ्नो गाउँघरका सम्पूर्ण गाउँवासी एवम् विद्यालयमा पूर्णसरसफाइको बारेमा जानकारी गराउने र सचेतना पैलाउने बताइएको छ । यसैगरी कार्यक्रम सञ्चालन भएका ती गाविसमा सुनगाभाले दुई÷दुईजनाको दरले सरसफाइ उत्प्रेरक पठाइसकेको छ । उनीहरूले गाविसको रणनीति बनाउन समिति गठन गर्नेछन् ।सो कार्यक्रम सञ्चालनका लागि फनबोर्डले ६० लाख बजेट विनियोजन गरेको छ । आठवटा गाविसमा कार्यक्रम सञ्चालन गर्न एक लाख ५० हजारको दरले वितरण गर्ने तयारीमा रहेको सरसफाइ अधिकृत खनालले जानकारी दिए । उनका अनुसार यस कार्यक्रमका लागि १८ जना कर्मचारी खटिएका छन् । नेपाल सरकारले सन् २०३० सम्ममा देशलाई पूर्णसरसफाइयुक्त देश घोषणा गर्ने तयारीमा रहेपनि जिविसले भने सन् २०२५ भित्रमै यस जिल्लालाई पूर्णसरसफाइयुक्त जिल्ला घोषणा गर्ने तयारी गरेको छ ।
आठवटा गाविसलाई नै कार्यक्षेत्र बनाएर काम गर्दै आएकाले अहिले पनि पूर्ण सरसफाइको कार्यक्रम पनि आठ गाविसमै सञ्चालन गरेको संस्थाले जनाएको छ । खुल्ला दिसामुक्त जिल्ला घोषणापछि पूर्णसरसफाइ कार्यक्रम शुरु गरिएको हो ।