दमक/लिम्बु विद्यार्थी मञ्च, नेपालले आयोजना गरेको लिम्बु विद्यार्थी प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन आज मङ्गलबारदेखि दमकमा सुरु हुँदैछ ।
तीन दिने सम्मेलनको उद्घाटन सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूबाट हुने कार्यक्रम तय भएको छ ।
कात्तिक ४ गतेसम्म चल्ने महासम्मेलन विश्वभर छरिएर रहेका लिम्बु विद्यार्थीहरूबीच आपसी अनुभव आदान प्रदानसँगै साझा बुझाइ विकास गर्न महत्वपूर्ण अवसर हुने आयोजक मञ्चका अध्यक्ष आङबुहाङ अबोध अविरलले बताए । ‘संसारभरका लिम्बु समुदायका विद्यार्थीहरूबीच आत्मीयता बढाउँदै सम्पर्क विस्तार गर्न,’ उनले उद्देश्य खुलाए, ‘महासम्मेलन आयोजना गरिएको हो ।’
सम्मेलनमा नेपाल, भारत, भुटान, म्यानमार, हङकङ, अमेरिका, बेलायत, जापान, दक्षिण कोरियालगायतका दर्जन बढी मुलुकहरूका चार सय बढी विद्यार्थीहरू सहभागी हुँदैछन् । पहिलो दिन लिम्बु समुदायको परम्परागत केलाङ(च्याब्रुङ नाच), माङलाङ(देव नृत्य)सहित विशाल साँस्कृतिक ¥यालीद्वारा नगर परिक्रमा आयोजना गरिने अध्यक्ष अविरलले जनाए । दमकस्थित किरात भवनमा आयोजना हुने सम्मेलनको उद्घाटन सत्रमा चार व्यक्तित्वहरूलाई समेत सम्मान गरिने छ ।
लिम्बु समुदायको भाषा, साहित्य, कला, सँस्कृति, सङ्गीत र परम्परागत सीपको क्षेत्रमा अमूल्य योगदान दिएबापत उनीहरूलाई सम्मान गरिन लागेको महासम्मेलन आयोजक समितिका सचिव फिपराज बेघाले बताए । सम्मानित हुनेहरूमा पूर्व मिस नेपाल सुविन लिम्बु, गायक एवम् सङ्गीतकार राजकुमार आङ्देम्बे, साहित्यकार सेसेमी से नाल्वो र उद्यमी कल्पना योङहाङ रहेका छन् ।
पहिलो दिन चर्चित गायक एवम् प्रथम नेपाली तारा दीपक लिम्बु, मुन्धुमी गायक ब्रबिम शेर्मा, नरेश लिङ्देन, जेपी लिङ्देन, सुनिता थेगिम लगायतका कलाकारहरूले समेत प्रस्तुति दिने व्यवस्थापन समितिका संयोजक एवम् केन्द्रीय सदस्य अभिषेक मावोले जानकारी दिए । त्यस्तै, पूर्व मिस नेपाल सुविन लिम्बुको विशेष कोरियोग्राफीमा याक्थुङ भेषभूषा प्रदर्शनी गरिने उनले बताए ।
सम्मेलनको दोस्रो दिन विभिन्न विधाका विज्ञहरूबाट छलफलका लागि कार्यपत्रहरू प्रस्तुत गरिने कार्यक्रम तालिका छ । भाषा, मुन्धुम, लिपि, सञ्चार, इतिहास र लिम्बुवानका विषयउपर कार्यपत्र प्रस्तुत गर्नेहरूमा विद्यावारिधिका सोधार्थीे धिरेन्द्र नाल्वो(अमेरिका), कौशिला सुब्बा(सिक्किम विश्वविद्यालय), उपप्रा देउकी काम्बाङ(दार्जिलिङ गभर्मेन्ट), अन्तर्राष्ट्रिय सम्बन्धमा एमफिल गरेका अशेष काम्बाङ(कलकत्ता) छन् ।
त्यसैगरी, नेपालबाट विद्यावारिधि सोधकर्ता कमल तिगेला, बीबीसी नेपाली सेवासँग आबद्ध सञ्चारकर्मी सीता मादेम्बा, त्रिभुवन विश्वविद्यालयका उपप्रा प्रेम येक्तेन, अनुसन्धानकर्ता डीबी आङबुङ लगायत रहेका छन् । कार्यपत्रहरूउपर विद्वानहरूबाट टिप्पणी हुनेछ । यसैगरी, नेपाललगायतका विभिन्न मलुकहरूका विद्यार्थीहरूबाट कन्ट्री पेपरहरूसमेत प्रस्तुत हु्ने अध्यक्ष अविरलले थपे । उनले लिम्बु विद्यार्थीहरूको अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्दै अन्तिम दिन दमक घोषणा पत्र समेत जारी गरेर महासम्मेलन सम्पन्न हुने बताए ।