धरान/नपढी प्रगति हुँदैन भन्ने ज्ञान पाएका धरान–१४ का स्वयमप्रकाश शर्मा (७६) ले तीनदशक लगाएर डिग्री सिध्याए भने चारदशक प्रेरक गुरु बनेर बित्यो । ‘शिक्षक ज्ञानको स्रोत हो, उसले ज्ञान दिने हो, लिने होइन् ।’ यस्तै गुरुमन्त्र बोक्थे उनी । [caption id="attachment_17162" align="alignnone" width="1024"]swamprakash फाेटाेः भाेजराज श्रेष्ठ[/caption] तर, अहिले खुलेका बग्रेल्ती स्कुलहरु, कलेजहरुका गुरुहरुले ‘दिने भन्दा पनि लिने’ मन्त्र लागू गरेको देख्दा उनको मन कटक्क खान्छ । डिष्टिङ्सनको भरमा स्कुल चलाउने होडबाजी चल्छ । त्यही डिष्टिङ्सनको भरमा विद्यार्थी तान्छन् । विद्यालय ज्ञानको भण्डार भन्दा पनि व्यवसायको भण्डार हुन थालेकोमा उनको गहिरो चिन्ता छ । २०१८ माघ १० गतेबाट प्राध्यापनमा हात हालेका उनले ७ वर्ष अघि मात्रै पूर्णकालीन अवकास लिए । त्यो अवधिभर उनले कहिल्यै विद्यालयलाई व्यवसायको भण्डार ठानेनन् । ७ वटा सरकारी विद्यालयमा पढाए । एउटा कलेजमा पढाए । त्यो बीचमा असल गुरु हुनुको अर्थ केलाइरहे । सानैदेखि नपढी प्रगति हुँदैन भन्ने सोचेका उनले आफ्ना शिष्यहरुलाई त्यही शिक्षा बाडे । २० वर्ष २३ दिन स्कुलहरुमा र २० वर्ष १३ दिन महेन्द्र कलेज धरानमा उप प्राध्यापकको रुपमा रहेका शर्माको शिक्षक हुनुको उद्देश्य निश्चित थियो । ‘शिक्षक गुरु हो, उसको काम शिक्षा दिने हो नाफा कमाउने होइन् ।’ यस्तै खरो भाषा प्रयोग गर्दै शर्मा भन्छन् । २०३९ फागुन १० गतेबाट महेन्द्रमा प्राध्यापन थालेका उनले क्याम्पस प्रमुख कुमारबहादुर कार्कीलाई जोडबल गरेर २०४१ सालमा ‘मेजर इग्लिस’मा बिएको पढाई सुरु गरे । २०५० मा स्नात्तकोत्तर सुरु गरे । पूर्वमा अग्रेजी विषयमा स्नात्तकोत्तर सुरु भएको त्यो बेला महेन्द्र एकमात्रै कलेज थियो । सन् १९८१ मा अंग्रेजी विषयबाट स्नात्तकोत्तर सिध्याएका उनले आइएस्सीदेखि आफ्नै बलबुताले पढे । ६ वर्षको उमेरमा फूपूसँग लागेर भारत छिरेका उनी सन् १९५५ मा श्री मिथिलेस सनातन धर्म उच्चमावि दरभङ्गाबाट मेट्रिक पास गरे । १६ वर्ष भारतमै बिताएका उनले आइएस्सीसमेत भारतमा पढेका थिए । तर, दुर्भाग्य ८४ प्रतिशत अंक ल्याएर पनि उनी फेल भए । उनका अनुसार ८२ प्रतिशत ल्याउने विद्यार्थी विशिष्ट श्रेणी कहलियो । तर, उनी गणित विषयमा कम अङ्क आएकै कारण विशिष्ट श्रेणीको प्रतिशतले काम गरेन् । त्यसपछि नेपाल फिर्के । महेन्द्र बहुमुखी क्याम्पसमा क्लर्कको काम गरे एकाध वर्ष । त्यही कालमा एकदिन अफिस सकेर फर्किदै गर्दा कसैले ‘भारतमा बसेर पनि आइएस्सीसमेत पास गरेन छ’ भनेर तिखो ब्यङ्ग्य गरेको सुने । त्यही ब्यङ्ग्य उनको मनमा तीरको रुपमा बस्यो । घर नआई उनी सिधै मोरङ कलेज विराटनगर गएर फर्म भरेर आए । घरको सल्लाह बिनै फर्म भरेका कारण उनको पिताजी रुष्ट बने । आफूसँग जीवनमा कहिल्यै नरिसाएका पिताजी रिसाएको उनी स्मरण गर्छन् । ‘विराटनगरबाट आएपछि कहिल्यै नरिसाउने पिताजीसमेत मसँग रिसाउनु भयो ।’ उनी विगत सम्झन्छन् ‘कम्तीमा सोधेर जानु परथ्र्यो भन्ने पिताजीको कुरो रहेछ ।’ मोरङबाट सन् १९६५ मा उनले आइएस्सी दोस्रो डिभिजनमा पास गरे । आइएस्सीको दोस्रो ब्याच भए पनि उक्त क्याम्पसबाट पास गर्ने विद्यार्थीहरुमा उनीहरु पहिलो ब्याज दरिए । त्यही पढ्दा पढ्दै उनले हालको सारदा बालिका नमुना उच्चमाविमा पढाउन सुरु गरे । ‘आफ्नै खुट्टामा उभिएर पढाउन थालेको त्यही वर्षबाट हो ।’ उनी भन्छन् । सन् १९५५ मै मेट्रिक पास गरे पनि विविध कारणले उनको पढाई बीच बीचमा रोकिदै अघि बढ्दै गयो । उनले त्रिभुवन विश्वविद्यालयबाट सन् १९७२ मा बिए सिध्याएका थिए भने एमए १९८१ मा । विएस्सी पढ्नका लागि उनले त्रिचन्द्र कलेजमा तीनपटक नाम निकाले । तर, विविध कारणले फर्म भर्ने म्याद नै गुज्रिएपछि पढाइ अघि बढ्न सकेन । विएस्सी पढ्ने सपना तुहिएपछि बिए पढेको बताउँछन् । शिक्षालाई व्यवसाय ठान्नेहरुको उनी प्रतिपक्षी हुन् । त्यसैले उनले आफ्नो कार्यकालमा कहिल्यै शिक्षालाई व्यवसायमूखी बनाउन चाहेनन् । उनी संस्थापक रहेको हालको समिट उच्चमाविलाई व्यवसायीकरण भन्दा पनि शिक्षामा जोड दिए । फलतः जसरी अघि बढ्नु पर्ने हो स्कुल त्यसरी अघि बढ्न सकेको उनी स्वीर्काछन् । समिट मै रहँदा उनको जीवनमा एउटा तीतो अनुभवसमेत छ । भन्छन् ‘जाँचमा विद्यार्थीहरुले सिकाउँदैनन् भनेर हामीलाई गुनासो गर्थे । अरु स्कुलकाहरु सिकाउन आइपुग्छन् भनेर भन्थे । मैले भनिदिए, जाँचमा सिकाउन हामीले पढाएको होइन् । त्यो भन्दा विद्यार्थीहरु मसँग रिसाए पनि ।’ शान्त शालिन प्रकृतिका शर्मा अहिले रोगले थलिएका छन् । ५ वर्षदेखि उनको आर्टरी बन्द भएका छन् । देब्रे एर्वटा मात्रै चलायमान छ । त्यही एबर्टाले बाँच्नुको अर्थ सिकाइरहेको छ हरेक दिन । नत्र पाँचवर्ष अघि नै परिवारले उनलाई माया मारिसकेका थिए । गंगालाल ह्दयरोग केन्द्र काठमाडौंमा उपचार गराउँदा उनलाई सल्यक्रिया गर्नु पर्ने सुझाव चिकित्सकको थियो । सल्यक्रिया गर्दा ठूलै हानी हुने देखेपछि पारिवारिक सल्लाहमा उनलाई घर ल्याइएको थियो । उनी भन्छन् ‘मेरो देब्रे एवोर्टामात्रै चल्छ । अन्य सबै ब्लकेज छन् ।’ यस्तो अवस्थाबाट गुज्रिरहेका उनी आफू बाँच्नुलाई ‘थर्ड मिराकल’ मान्छन् । भन्छन् ‘मेरो हकमा थर्ड मिराकल नै भइरहेको छ ।’ अहिले बाहिरफेर गर्छन् । टाढा हिडडुल गर्न सक्दैनन् । आफ्नो घर र माताको घर उनको संसार हो । मोतीयाविन्दुको कारण एउटा आँखा राम्रोसँग देख्न सक्दैनन । सुरुमा उनले मलाई पनि ठम्याउन सकेनन् । आफ्नो परिचय दिएपछि भने उनले आफ्ना मनका सन्दुकहरु खोले । ‘एउटा आँखो अप्रेशन गराउनु पर्ने छ ।’ उनी भन्छन् । बेला–बेला झिमझिम गर्ने र मलिन स्वरमा आफ्ना कुराहरु अघि बढाउँछन् । आर्टरीहरु बन्द भएकै कारण हुन सक्छ उनको दाहिने हातसमेत बेला बेला आफै थर्थराउँछ । ‘खै के समस्याले हो हात दाहिने हात थर्थराउन थालेको छ ।’ नजिकै रहेकी धर्मपत्नी कल्पनाले भनिन् । त्यही कारणले यस्तो भएको हो कि ? उनी अनुमान लगाउँछिन् । कल्पनालाई उनी कल्पू भनेर मायालू भाषाले सम्बोधन गर्छन् । कल्पूसँग उनको लगनगाँठो गासिएको २०१९ साल फागुन १३ गते हो । ताप्लेजुङकी उनी, धरानका शर्माबीचको भेटघाट कल्पूको काकाले जुराइदिएको हो । त्यो बेलासम्म न त केटाले केटी देखेका थिए, न केटीले केटा । तर, त्यही जोडी घामछाँया बनेर एकसाथ ५४ वर्ष बिताइ सकेछन् । कल्पू उनी भन्दा ९ वर्षले कान्छी छन् । अहिले उनको साहारा नै कल्पू हो । कतिपय विर्सिएका क्षणहरु सम्झिन पनि कल्पूको साहारा लिन्छन् उनी । एकछोरा र तीन छोरी छन् । कान्छी छोरी उनीहरुको साहारा हो । कल्पूसँग उनको सायदै भेट हुन्थेन होला । बच्चामा शर्माले ज्यान गुमाएको भए । विगत स्मरण गर्दै भन्छन्, ‘विजुलीको प्लगमा घुम्ने चक्का बनाउँदा खेरी करेन्ट लागेर झण्डै मरे । दोस्रो पटक चङ्गा उडाउँदै गर्दा तेस्रो तलाबाट झरेर मरेँ । त्यो बेलामा टाउँको फुट्यो ।’ किशोर अवस्थाको यही दुईवटा तीतो यथार्थ छ उनीसँग । त्यो बाहेक अन्य स्मरण गर्न लायक रहेनछन् । पुस्तकको अध्ययन बारे कुरो खोतल्नु अगावै उनले मुख खोलिहाले । भने, ‘पुस्तकको एडिक्सन नै भन्दा हुन्छ । कमाइको केही भाग पुस्तकमा खर्चिन्थे ।’ उनको दराजमा अटाइनअटाइ राखिएको पुस्तकबाटै पनि त्यो थाहा पाउन मुस्किल पर्दैनथ्यो । उनीसँग सानो पुस्तकालय नै छ भन्दा फरक पर्दैन । नेपाली कम अग्रेजी पुस्तक ज्यादा रहेछन् । उनले पूर्वाञ्चलमा कसैसँग नभएको केही पुस्तकहरु रहेको दाबी गरे । जसको बजार मूल्य अहिले १६ हजार रुपैया पर्ने बताए । जुनसुकै किताब हात लागोस् त्यो पढिसिध्याउने उनको बानी रहेछ । उनले आफूलाई बढीजसो रसियन साइन्स फिक्सन मन पर्ने बताए । त्यसको कारण पनि उनैले खोले, ‘रसियन साइन्स फिक्सनको टेक्निकालिटी कम हुन्छ । अमेरिकाको जस्तो हुँदैन । जुन पढ्दा आनन्द आउँछ ।’ राजनीतिमा झुकाव नभए पनि देशप्रतिको चिन्ता प्रष्ट झल्किन्थ्यो ।   राजनीतिमा कस्ले बिगारिरहेको छ कस्ले सही गरिरहेको छ उनी बसीबसी खुट्याउँदा रहेछन् । उनलाई नेपालको राजनीति मात्रै हैन, अमेरिकामा अहिले भइरहेको राष्ट्रपतिको चुनावको विषयमासमेत मज्जाले ज्ञान रहेछ । भने, ‘ट्रम्पलाई हराउन अहिले अमेरिका युरोप मात्रै हैन, भारतको मिडियासमेत लागिरहेको छ । रुस र चीनका मिडिया तठष्थ छन् । घटनालाई यसरी एम्प्लिफाई गरिएको छ यसले नै क्लिन्टनको पक्षमा मत जाने सम्भावना देखिन्छ ।’ देशको राजनीति हेर्दाखेरी रुन मन लाग्ने बताए । राजनीतिमा झुकाव नभए पनि उनी ‘लेफ्ट ओरिएन्टेड’ रहेछन् । मैले प्रश्न गर्नु अघि नै उनले थपे, ‘तर, यसरी पनि नबुझ्नुस् म लेफ्ट चाही होइन् ।’