denguशनिश्चरे/पश्चिमी झापामा पत्रकारसमेत गरी २५ जनामा डेंगू रोग देखा परेको छ ।दमक नगरपालिका र दमक अस्पतालले डेंगू रोग र त्यसको नियन्त्रणबारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दमकका अस्पतालमा उपचार गर्न आउनेमध्येमा एक पत्रकारसहित २५ जनामा डेंगू रोग फेला परेको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

दमक अस्पतालका स्वास्थ्यकर्मी नगेन्द्र भट्टराईले एड्भान्स हेल्थ केयर सेन्टरमा सबैभन्दा बढी १४, दमक अस्पतालमा ६, लाइफ लाइनमा तीन र आम्दा अस्पतालमा एक जना डेंगू रोगीको पहिचान भएको जानकारी गराए । एड्भान्स केयरमा शुक्रबारमात्रै डेंगूका तीनजना बिरामी थपिएका थिए । पछिल्लो पाँच दिनमा उच्च ज्वरो आएपछि अस्पताल पुगेकाहरुको परीक्षणका क्रममा डेंगू फेला परेको उल्लेख छ ।उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् दमक उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष प्रकाश प्रसाईंको भने काठमाडौंमा पुगेर मात्र डेंगू रोग पहिचान भएको थियो । प्रसाईं समेत गरी पश्चिम झापामा २५ जनामा सो रोग देखिएको छ । प्रसाईंलाई दशैंअघि नै डेंगूले सङ्क्रमण गरेको थियो ।

पत्रकार महासङ्घ झापा शाखाका सहसचिव गोपाल झापाली यो रोगबाट सङ्क्रमित बनेर आम्दामा सामान्य उपचारपछि घरमै आराम गरिरहेका छन् । छाला सम्बन्धीको डेल्फी अस्पतालका प्रमुख एवं साहित्यकार समेत रहेका प्रकाश बुढाथोकीमा पनि यो रोग देखा प¥यो । कमलपुर जेसीजका अध्यक्ष रुपनारायण न्यौपाने समेत डेंगूको सङ्क्रमणबाट एडभान्स हेल्थ केयरमा उपचाररत् छन् । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य महेन्द्र भट्टराई एड्भान्समा जाँच्दा डेंगू ठहर भएपछि बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचाररत् छन् । दमकमा डेंगू देखा पर्नेहरु दमक, तोपगाछी र लखनपुरका बिरामी छन् ।कसैले नचलाउने अवस्थाको जमेको सफा पानी यसको रोग सार्ने एडिज एजिप्टाइ जातको पोथी लामखुट्टेका लागि सबैभन्दा सहज घर बन्छ ।

जसका कारण लामुखुट्टेबाट घरमा बस्दा मात्रको सावधानीले नपुग्ने तथा कार्यालय, पसल र सडकको वातावरण अनुसार सम्पन्न र सचेत वर्गलाई पनि यसको सङ्क्रमण हुने देखिन्छ ।टायरमा जमेको, गमलामा लामो समय जमिरहेको पानी, भेन्टिलेसन लगायतका स्थानमा सो लामखुट्टेले लार्भा उत्पादन गर्ने हुनाले सरसफाइ सबैभन्दा महत्वपूर्ण हुने दमक अस्पतालका स्वास्थ्यकर्मी भट्टराईको भनाइ छ । साथै उनले भाइरसको सङ्क्रमण भएपछि लक्षण (सिम्ट्रम) का आधारमा उपचार हुने सो रोगको रगतमा प्लेटटेस घट्यो भने केही जटिल हुने तर सामान्य अवस्थामा भने सिटामोल र झोल पदार्थ खाँदा जाति हुने जनाए ।

तर अन्यखाले इन्टिवायोटिक औषधि खाँदा यसको समस्या बढ्दै जाने पनि जानकारी गराए । यहाँ फेला परेको डेंगूको सङ्क्रमण जटिल खालको नभएको उनले बताए ।दमकका अस्पतालहरुमा दुई प्रकारका किटबाट डेंगू परीक्षण गरिएकोले किटकै समेत परीक्षण गरिने नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले सामान्य अवस्थाबाट शुरु हुने डेंगूको सामान्य उपचारमै निको हुने बताउँदै यसबाट आतङ्कित नहुन समेत अनुरोध गरेका छन् । सो क्रममा उनले अनुरोध गरे, ‘सरकारी अस्पतालमा त निःशुल्क जाँच र उपचार भइहाल्छ । तर यस क्षेत्रमा यसखाले रोगको बढ्दो अवस्था हेरेर निजी अस्पतालले पनि परीक्षण निःशुल्क गर्ने जमर्काे गरौं ।’लामखुट्टे मार्नका लागि दमक क्षेत्रका पानी जमेका ठाउँमा मालाथिन विषादि छर्किने काम बिहीबारबाट भएको छ । बजारका टायरहरु हटाउन उर्दी गर्दै हटाउन थालिएको भनिएपनि टायरहरु जहींकातहीं देखिएका छन् । मालाथिनले फोक्सोका रोगी तथा बालबालिकालाई असर पु¥याउन सक्ने भएकाले सबैभन्दा उत्तम उपाय चाहिँ वातावरण सरसफाइ नै रहेको त्यस क्षेत्रका जानकार बद्री बरालले सुझाए ।

लाइफलाइन अस्पतालका अध्यक्ष स्वास्थ्यकर्मी बालचन्द्र सुब्बाको भनाइलाई जोड्दै बरालले थपे, ‘सधैं सावधानी अपनाएर घर, कार्यालय, व्यावसायिक प्रतिष्ठान, सडक क्षेत्र सफा राखियो भने यसको सङ्क्रमणबाट जोगिन सकिन्छ ।’दमकका अस्पतालमा दुई प्रकारका किट्सले जाँच गरेको आपूmलाई जानकारी आएको बताउँदै जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल जीवन चम्लागाईंले भने, ‘डेंगू जाँचका लागि एनएसवान एन्टिजेन किट्सले मात्र जाँच्नु पर्ने हुन्छ । अन्यले जाँचेको अवस्थामा यथार्थ रिपोर्ट आउँदैन । जाँचेको किटसहित बिरामीको रिपोर्ट पठाउन माग गरेको छु ।’उनले जिल्ला जनस्वास्थ्यले प्राविधिक सल्लाह दिएर लामखुट्टे नियन्त्रणका लागि दमक अस्पताललाई सक्रिय बनाएको बताए ।

भरसक मालाथिन छर्कनु नपरी पानी जम्ने ठाउँ नराख्न सबैका लागि सञ्चारमाध्यमबाट पनि सूचित गरिरहेको प्रसङ्ग उल्लेख गरे । दशैं लाग्नैलाग्दा दमक क्षेत्रका केही ठाउँमा विषादि छर्किने काम भएको थियो । ‘विषादि छिट्नु नियन्त्रणको अन्तिम उपाय हो । विषादिले वातावरणमा केही असर त गर्छ नै ।’ जिल्लामा किटको सङ्ख्यामा कमि भएकाले केन्द्रबाट किट तथा विशेषज्ञ टोली माग गरेको पनि सुनाए ।एडिज एजिप्टाइ पोथी लामखुट्टेले टोक्दा उच्च ज्वरो आउने, बान्ता हुने, जोर्नी दुख्ने तथा लामो समयसम्म सही उपचार नभएमा शरीरमा नीलो तथा रातो डाम देखापर्दै बिरामीको ज्यान समेत जान सक्छ ।