[caption id="attachment_3718" align="alignleft" width="206"]arun डा.अरुणकुमार सिंह[/caption]

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्षमा १५ दिनको बच्चालाई ल्याएर कसैले ‘कब्जियत भयो डाक्टर साब, पेटको भिडियो एक्स–रे गरेर हेरिदिनुस् न त’ भन्छन् भने कसैले ‘सर्जरीको डाक्टरलाई देखाइदिनुस्’ भन्छन् । त्यसैले यहाँ ब्लाष्टका पाठकलाई बालबालिकामा हुने कब्जियतबारे जानकारी दिने प्रयास गरिएको छ । बिहान निश्चित समयमा छिटो र पूरा दिसा नलाग्नुलाई नै कब्जियत भनिन्छ । दिसा सारो र गोटा परेको हुन्छ । तीन दिनदेखि बढी समय दिसा हुँदैन ! दिसा गर्दा बच्चालाई पीडा हुन्छ । बच्चाले लामो समय शौचालयमा बिताउँछ । दिसाले गर्दा मलद्वार च्यातिएर रगत आउन सक्छ । पेट नराम्ररी दुख्छ, दिसा गरेपछि पेटको दुखाइ सञ्चो हुन्छ ।सामान्य बच्चाले दिनको तीनपटकदेखि दुई दिनमा एकपटक दिसा गर्नुपर्छ । दूधबाहेक सामान्य खाना खान थालेपछि वयस्कजस्तै दिसाको तालिका हुन थाल्छ । प्रत्येक ४–५ दिनमा दिसा गर्ने बच्चालाई बढी पीडादायी हुन्छ । सामान्यतया दिसा गर्दा पीडा हुनु हँुदैन । बच्चाले दुखाइको गुनासो गर्नेबित्तिकै उपचार शुरु गर्नुपर्छ । स्तनपान गर्ने एक महिनामाथिको बच्चाले ४–७ दिनमा दिसा गर्छ र दिसा गर्ने बेलामा कुनै दुखाइविना नरम र धेरै मात्रामा दिसा निकाल्छ भने त्यो सामान्य मान्नुपर्छ ।थुप्रिएर बसेको दिसालाई पूर्ण रुपमा बाहिर निकाल्ने, दिनहुँ पेट खलास पारेर दिसा बाहिर निकाल्ने, दिनहुँ शौच बस्ने बानी लगाउने, फाइबरयुक्त आहार र तरल पदार्थ सेवन गर्ने बानी बसाउने गर्नुपर्छ । प्रायः बच्चामा खाना र दैनिक जीवनशैली परिवर्तन गर्दैमा कब्जियत ठीक हुन्छ । एकपटक कब्जियत शुरु भएपछि यो निको हुन लामो समय लाग्ने भएकोले यसको उपचार गर्न परिवार र विद्यालयबाट धैर्य, सहकार्य र प्रतिबद्धताको आवश्यकता पर्दछ । औषधिको प्रयोग यदि खाना परिवर्तन गर्दा वा शौचको तालिम दिँदा पनि कब्जियत सुधार भएन भने औषधिको प्रयोग गरिनुपर्छ । कब्जियतको बिरामीलाई दिसा पातलो गर्ने औषधि फाइदाजनक हुन्छ । पहिलोपटक मुखबाट खान मिल्ने औषधि प्रयोग गर्दा राम्रो हुन्छ । मलद्वारबाट हाल्ने औषधि हाल्नुपरेमा चिकित्सकको निगरानीमा हाल्नुपर्छ । धेरैजसो बच्चामा लामो समयसम्म उपचार गर्नुपर्ने हुन्छ । यदि बच्चालाई बढी नै दुखाइ छ, हरियो वान्ता गर्छ, बच्चाको पेट फुलेको छ, बच्चा २ महिनाभन्दा मुनिको छ र १२ महिनाभन्दा मुनिको बच्चाले दूध चुस्न छोडेको छ भने चिकित्सकलाई तुरन्त भेट्नुपर्छ । (लेखक धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत् बाल रोग विशेषज्ञ हुन् ।)