doबालबालिकालाई उपहारस्वरूप गुडिया तथा खेलौना दिनेहरूलाई थाहा नहुन सक्छ, यसले रोगको जोखिम पनि बढाउँछ भन्ने । बजारमा पाइने कुनै पनि खेलौनामा मिसाइएको रसायनबारे थाहा पाउन जरुरी छ । ग्रिनपिस तथा आईपेन नामक संस्थाले सन् २०११ मा चिनियाँ बजारमा पाइने पाँच सय खेलौनाको नमूना परीक्षण गर्दा यस्ता खेलौनामा हानिकारक रसायनको मात्रा बढी रहेको पाइएको थियो । सो अध्ययनले गुडिया, सिसाकलम, बल, गाडी, रिङ आदिमा ७५ प्रतिशतभन्दा बढी लिड, मर्करी, क्याडमियमजस्ता हानिकारक रसायन मिलाएर निर्माण गरिएको देखाएको छ । अमेरिकी उपभोग्य वस्तु उत्पादन समितिको प्रतिवेदनअनुसार सन् २००७ मा गरिएको अध्ययनमा बजारमा पाइने एक सय ५७ किसिमका खेलौनामध्ये ९९ प्रकारका खेलौनामा लिडको मात्रा अत्यधिक थियो । त्यस्तै, सन् २०११ मा गरिएको अर्को अध्ययनमा ४५ प्रकारका खेलौनामा लिडको मिश्रण पाइएको उल्लेख छ ।

वासिङ्टनको वातावरणीय स्वास्थ्य परियोजनाद्वारा १२ सय गुडियामा गरिएको अध्ययनले पनि दुई तिहाइभन्दा बढी खेलौनामा कुनै न कुनै किसिमको रसायन भेटिएको देखायो । सन् २०१२ मा फिलिपिन्समा करीब चार सय ३५ वटा खेलौनामा गरिएको रसायनहरूको अध्ययनमा घातक धातुहरू एन्टिमनी, आर्सेनिक, लिड, मर्करी, क्याडमियम आदि पाइएको थियो । यस्ता रसायन स्वास्थ्य एवम् बालबालिकाको सुरक्षाका लागि अति खतरनाक हुन्छन् ।

रङ्गीचङ्गी खेलौनामा प्रयोग हुने रसायन लिड (सिसा) श्वासप्रश्वास, खाने कुरा तथा छालाको माध्यमबाट शरीरमा प्रवेश गरी विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । रक्तनलीमा यसले रातो रक्तकोषिकाहरूलाई मार्दछ । फलस्वरूप विभिन्न अङ्ग तथा तन्तुमा रगतको कमी भई आवश्यक अक्सिजन पुग्न सक्दैन । लिडले मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध पु¥याउँछ । रक्तअल्पता यसको साधारण लक्षण हो । टाउको दुख्ने, सिक्ने क्षमतामा ह्रास आउने, दिमागी सन्तुलन बिग्रने, शरीर वृद्घिमा कमी आउने, बानी–व्यहोरामा परिवर्तन आउने, श्रवण शक्ति गुम्ने साथै अचेत अवस्थामा पुग्ने जस्ता लक्षण पनि देखा पर्छन् ।

लगातार लामो समयसम्म लिडको सम्पर्कमा आयो भने यसले मृगौलाको कार्यमा असर पु¥याउँछ । नपुंसक बनाउन सक्छ । लिड अत्यधिक मात्रामा विषालु हुने भएकाले केवल एक डोज लिडको सेवनले पनि धेरै रोगका आकस्मिक लक्षणहरू देखा पर्न थाल्छन् । पाचन प्रणालीमा असर, उच्च रक्तचाप, स्मरणशक्ति गुम्ने, मृगौलामा खराबी, मस्तिष्कमा असर, मांसपेशी तथा जोर्नीको समस्या, नशामा असर र मांसपेशीसँगको सामन्जस्यता बिग्रने आदि रोगहरू लिडकै कारण लाग्छन् । लिडजस्तै गुडियामा प्रयोग हुने मर्करी वातावरणमा विभिन्न जीवाणुसँग मिलेर परिवर्तन हुने सबैभन्दा खतरनाक रसायन हो । मर्करी एकपटक हावा, पानी तथा माटोमा मिसिएपछि धेरै समयसम्म एक अवस्थाबाट अर्कोमा परिणत भई वातावरणलाई प्रदूषित गरिरहन्छ । साथै, वातावरणमा भएका अन्य जीवजन्तुलाई समेत असर गर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मर्करीले स्नायु प्रणाली, पाचन प्रणाली, श्वासप्रश्वास प्रणाली तथा मृगौला, फोक्सोलगायतका अङ्गमा असर पु¥याउँछ । यसले सुन्ने र हेर्ने शक्तिमा ह्रास ल्याउनुका साथै बच्चाहरूको बौद्घिक एवम् शारीरिक विकासमा समेत असर गर्छ । सबैभन्दा आश्चर्यको कुरा त के छ भने मर्करीले हाम्रो शरीरको रोगसँग लड्ने क्षमताको सबैखाले प्राकृतिक बाधा जस्तैः गर्भनाल, मस्तिष्क रक्तकोषिका तथा छालालाई पार गरेर शरीरलाई हानि पु¥याउँछ । मर्करीको असरले रिसाउने, लजाउने, काँप्ने, हेर्ने र सुन्ने शक्तिमा नकारात्मक परिवर्तन आउँछ । यस्तै, स्मरण शक्तिसम्बन्धी समस्या, वाकवाक लाग्ने, रक्तचाप तथा छातीको धड्कन बढ्ने, छालामा दाग आउने, आँखा पोल्नेजस्ता रोग पनि देखा पर्छन् ।खेलौनामा हुने हानिकारक रसायनको समस्या न्यूनीकरण गर्न विभिन्न मुलुकले आवश्यक ऐन–कानून र मापदण्ड बनाएका छन् ।

जस्तैः युरोपियन युनियनले सन् १९९९ देखि २०११ सम्ममा ६ वटा फ्याथालेट्सका खेलौनाको प्रयोग बन्द गरेको छ भने अमेरिका र अस्ट्रेलियामा पनि केही खेलौनामा बन्देज लगाइएको छ । खेलौनाबाट भयावह अवस्था आउने देख्दादेख्दै पनि नेपालमा सरोकारवाला निकायबाट कुनै चासो दिइएको छैन । पछिल्लो वर्षको तथ्याङ्कअनुसार नेपालमा २० करोड रुपैयाँ बराबरका खेलौना आयात गरिएको थियो । बालबालिकाको स्वास्थ्य र सुरक्षामा ध्यान दिने हो भने यस विषयमा गम्भीर हुने कि †