bpधरान/सरकारको निर्णयलाई चुनौती दिँदै यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र लाइफ केयर मेडिकल हलले बलजफ्ती फार्मेसी सञ्चालन गरिरहेको भए पनि व्यक्तिगत लाभका कारण सरोकारवालाहरुले मौनता साँधिरहेको पाइएको छ । सरकारी नियम र कानूनविपरीत झण्डै ६ वर्षबाट सञ्चालन भइरहेको फार्मेसीका विषयमा राजनीतिक दल, सञ्चारमाध्यम र सरोकारवाला निकाय कसैले पनि चासो देखाएका छैनन् ।

अवैध रुपमा सेटिङ मिलाएर चलिरहेकोे फार्मेसीका विषयमा आम जनतालाई झन् अत्तोपत्तोसमेत छैन । सानासाना विषयमा प्रतिष्ठानमा आन्दोलन गर्नेहरु पनि यति ठूलो घोटाला र अनियमितताको विषयमा मौन रहनु झन् शङ्कास्पद भएको प्रतिष्ठानभित्रकै कर्मचारी र चिकित्सकहरु बताउँछन् ।प्रतिष्ठानका एक चिकित्सक नाम नबताउने शर्तमा भन्छन्, ‘सरकारले गरेको निर्णय पालना नगरी मिलोमतोमा करोडौँ लाभ लिइरहेको विषयमा राजनीतिक दल, धराने जनता, प्रतिष्ठानका कर्मचारी र सञ्चारमाध्यमहरुले साँधेको मौनताले यो विषय थाहा भएकाहरु सबैसँगको सेटिङमा फार्मेसी चलिरहेको पुष्टि हुन्छ ।’धरानका नाम चलेका व्यवसायी चेतन अग्रवालले राजनीतिक दलका नेता सीपी दत्तसँगको साझेदारी र पहुँचवालाहरुको आडमा सरकारी निर्णयविपरीत फार्मेसी सञ्चालन गरिरहेको स्रोतले बताएको छ । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहेका दत्तको राजनीतिक शक्तिको उपयोग गर्दै अग्रवालले फार्मेसी चलाइरहेको स्रोतको भनाइ छ । दत्तले माओवादी केन्द्रसँग सेटिङ मिलाएको भए पनि अन्य दलले समेत यसबारे साँधेको मौनता रहस्यमय र शङ्कास्पद रहेको प्रतिष्ठानका कर्मचारी र चिकित्सकको भनाइ छ ।

दत्तबाहेक उनले सबै दलका स्थानीय नेता र बीपीको सिनेटका सदस्य समेतलाई रिझाएर बलजफ्ती फार्मेसी सञ्चालन गरिरहेको स्रोतको भनाइ छ । पूर्वमै सबैभन्दा बढी बिरामीको चाप हुने र मुनाफा हुने ठानिएको प्रतिष्ठानमा सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै विनाप्रतिस्पर्धा लाइफ केयरलाई फार्मेसी चलाउन दिइएको विषयमा अख्तियारमा समेत उजुरी परेको भए पनि सो विषयमा सुनुवाईसमेत भएको छैन ।अग्रवालले अख्तियारका पूर्व क्षेत्रीय कार्यालयका कर्मचारीलाई समेत सेटिङ गरेर फार्मेसी चलाइरहेको स्रोतले दावी गरेको छ । स्रोत भन्छ, ‘तीन वर्ष बितिसक्दा समेत अख्तियारले यो विषयमा किन हस्तक्षेप गरेको छैन ?’ सम्झौता सकिएको तीन वर्ष बितिसक्दा पनि प्रतिष्ठानभित्र फार्मेसी चलाइराख्न लाइफ केयरले प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार र अस्पताल निर्देशकलगायतका अधिकारीलाई लाखौँ रुपैयाँ मासिक नजराना बुझाउने गरेको स्रोतले बताएको छ ।गत वर्ष नै स्वास्थ्य क्षेत्र सुधार ऐन जारी गर्दै नेपाल सरकारले सम्पूर्ण सरकारी अस्पताल तथा प्रतिष्ठानहरुले आपैmँ औषधि बिक्री गर्नुपर्ने कानूनी व्यवस्था गरेको थियो । आपैmँ औषधि बिक्री गर्न भन्दै स्वास्थ्य मन्त्रालयले झण्डै एक वर्षअगाडि प्रतिष्ठानलाई पत्रसमेत दिएको थियो ।

प्रतिष्ठानले पनि हाल औषधि बिक्री गरिरहेको लाइफकेयरलाई वैशाख १ गते पत्र पठाएर सम्झौता सकिएकोले २०७२ साल असार मसन्त सम्ममा औषधि बिक्रीका लागि लिएका कोठाहरु खाली गर्न भनेकोे थियो ।प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले सम्झौता सकिएकाले औषधि बिक्री कक्ष हटाउन निर्देशन दिए पनि लाइफ केयरले नहटाएको बताए । लाइफ केयरले प्रतिष्ठानभित्र चार ठाउँमा औषधि बिक्री कक्ष राखेको छ । यी ठाउँ प्रयोग गरेबापत् लाइफ केयरले प्रतिष्ठानलाई मासिक ९ लाख मात्र तिर्दै आएको स्रोतले जनाएको छ । लाइफ केयरले छाडेपछि प्रतिष्ठान आपैmँले औषधि बिक्री कक्ष सञ्चालन गर्नुपर्ने छ । सर्वसाधारणले पनि औषधि खरिद गर्दा लाइफ केयरले कुनै छुट नदिने गरेको गुनासो गर्ने गरेका छन् । सामान्यतया औषधिमा ५ देखि १० प्रतिशतसम्म छुट दिने गरिन्छ तर लाइफ केयरबाट चिनेजानेकाबाहेक अरुलाई औषधिमा राहत नदिने गरिएको लाइफ केयरकै एक कर्मचारीले जनाए ।स्रोतका अनुसार लाइफ केयरलाई कोठा खाली गर्न निर्देशन दिँदै पठाइने पत्र २०७१ साल माघमै तयार गरिएको थियो तर उपकुलपतिले रोकेका थिए ।

पछि प्रतिष्ठानबाहिरका केही औषधि व्यवसायीले लाइफ केयरलाई हटाउन माग गरेपछि सिनेटको बैठकले पत्र पठाएर हट्न निर्देशन दिने निर्णय गरेको थियो । स्रोतले भन्यो, ‘प्रतिष्ठानलाई करोडौँ रुपैयाँको आम्दानी हुने विषयमा अहिलेसम्म सिनेटमा कुनै छलफल नै भएको रहेनछ, त्यो नै पहिलो रेकर्ड रहेछ ।’गत साउन ३० गते बसेको सिनेट बैठकले लाइफ केयरलाई हटाएर तीन महिनाभित्र आपैmँ औषधि बिक्री गर्न प्रतिष्ठान व्यवस्थापनलाई निर्देशन दिएको थियो । रजिष्ट्रार श्रेष्ठले आपैmँ औषधि बिक्री गर्न सके प्रतिष्ठानलाई वार्षिक ७ करोड जति नफा कमाउन सक्ने बताएका थिए । उनको भनाइलाई नै आधार मान्ने हो भने पनि ६ वर्षमा करीब ४२ करोड रुपैयाँ प्रतिष्ठानले गुमाएको छ । मिलोमतोमा प्रतिष्ठानलाई करोडौँ नोक्सान गराएर मुनाफा कमाउन सफल लाइफ केयरले नजरानाबापत मात्रै मासिक २० लाख रुपैयाँको हाराहारीमा वितरण गर्ने गरेको स्रोतको भनाइ छ । लाइफ केयरले २०६४ सालदेखि प्रतिष्ठानमा निरन्तर औषधि पसल चलाइरहेको छ ।लाइफ केयरले ०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट तीन वर्षका लागि फार्मेसी सञ्चालनको जिम्मा पाएको थियो । नियमतः ६७ सालमा फेरि खुल्ला प्रतिस्पर्धाका आधारमा फार्मेसी सञ्चालन गर्न दिनुपर्नेमा सेटिङ मिलाएर आजसम्म पनि लाइफ केयरले नै फार्मेसी सञ्चालन गरिरहेको छ ।

सार्वजनिक खरिद नियमावली र कानूनविपरीत ६ वर्षबाट फार्मेसी चलिरहँदा पनि सबैले आँखा बन्द गरी लाइफ केयरलाई करोडौँ मुनाफा दिलाउन सहयोग गरेर प्रतिष्ठानलाई डुबाउन लागेको प्रतिष्ठान क्षेत्रका औषधि बिक्रेताहरु बताउँछन् ।प्रतिष्ठानका उपकुलपति प्राडा बीपी दासले भने यी आरोपका विषयमा आप्mनो सरोकार नभएको बताए । उनले अनियमित रुपमा चलेको फार्मेसीका विषयमा आपूmलाई धेरै थाहा नभएको बताउँदै पन्छिने कोशिस गरे । उनले प्रतिष्ठानले नै फार्मेसी चलाउन समय लागेकाले लाइफ केयरलाई हटाउन पनि समय लागेको दावी गरे । ‘तीन वर्षका लागि दिइएको समय बितेपछि फेरि किन प्रतिस्पर्धा गराइएन ?’ भन्ने प्रश्नमा भने उनले समयबारे आपूmलाई थाहा नभएको जिकीर गरे ।रजिष्ट्रार तुलबहादुर श्रेष्ठको भनाइ पनि लगभग उस्तै छ । उनले प्रतिष्ठानले फार्मेसी सञ्चालनका लागि तयारी गर्न लागेकाले ढिला हुन गएको दावी गरे तर प्रतिष्ठानले लाइफ केयरलाई पटकपटक पत्राचार गरेको जनाए । एक अर्को प्रश्नको जवाफमा भने उनले छिट्टै हटाउने दावी गरे । फार्मेसी सञ्चालक अग्रवालले भने करोडौँ बक्यौता रहेकाले बक्यौता मिलाएर प्रतिष्ठान छाड्ने दावी गरे । उनले प्रतिष्ठानले पत्राचार गरे पनि बक्यौताका कारण छाड्न नसकेको जिकीर गरे ।