dengueपथरीशनिश्चरे / छिमेकी जिल्ला झापाको दमक क्षेत्रमा डेंगु रोग महामारीका रुपमा फैलिएको अवस्थामा सिमानामा पर्ने मोरङको उर्लाबारी र त्यसको छिमेकी पथरीशनिश्चरेमा पनि सो रोग सार्ने लामखुट्े फेला परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका सिनियर अहेव डिल्लीराम श्रेष्ठको अगुवाईमा पथरी स्वास्थ्य चौकी प्रमुख मुरारी आचार्य, पथरीशनिश्चरे नगरपालिका प्रमुख विनोदकुमार भण्डारी, सुरक्षाकर्मी, राजनीतिक दल र संघ संस्थाका प्रतिनिधि सम्मिलित टोलीले विहीबार पथरीमा अनुगमनका क्रममा त्यसखाले लामखुट्टे फेला परेका हुन् । उर्लाबारीमा पनि सोही दिन अनुगमन टोलीले सोही प्रकारको लामखुट्टे र लार्भा फेला पारेको हो । पथरी बजारको पूर्वतर्फ रहेका अटो वर्कशपहरुमा रहेका टायरमा डेंगु सार्ने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे र त्यसका लार्भाहरु फेला परेको पथरी स्वास्थ्यचौकी प्रमुख मुरारी आचार्यले बताए  । उनले भने ‘त्यो जातको लामखुट्टे र लार्भा मात्रै भेटिदा डराइहाल्नु पर्ने हुँदैन, त्यसमा डेंगु संक्रमित भएको छ भनें चाँही डेंगु सार्ने हुँनाले सावधानी अपनाउनु पर्छ । लामखुट्टेको अवस्था परीक्षणपछि मात्र थाहा हुन्छ ।’ तर उनले यसखाले लामखुट्टे भेटिनुले डेंगुको जोखिम हुनसक्ने भएकाले बेलैमा सचेतता अपनाउन आवश्यक रहेको भन्दै बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका टायर हटाउँदै नगर क्षेत्रको समग्र सरसफाई गर्न नगरपालिकासँग मिलेर अभियान सञ्चालनको योजना बनाइने बताए । पथरी र उर्लाबारीमा फेला परेका लामखुट्टे र लार्भाहरु परीक्षणका लागि जिल्ला जनस्वास्थ्यमा लगिएको छ । उर्लाबारीमा भनें बुधबार समेत लामखुट्टेको अनुगमन गरिएको थियो । पथरी बजार तथा चोक क्षेत्रमा एडिस एजिप्टाइ लामखुट्टेको वासस्थानका रुपमा देखिएका प्रसस्त मात्रामा अव्यवस्थित रहेका पानी जमेका टायरहरु, पानी जमेका बोतल, टोक्री तथा स्थीर रुपमा पानी जमिरहेकास्थलहरु समेत फेला परेका छन् । अस्पताल क्षेत्रमा समेत फोहोर रहेकाले पथरी बजार क्षेत्र डेंगु मात्र नभएर लामखुट्टेजन्य सवैखाले रोगको उच्च जोखिममा रहेको क्षेत्रमा पर्दछ । पथरी र उर्लाबारी क्षेत्रमा देखिएको एडिस एजिप्टाइ लामखुट्टे रोगी अवस्थाको भए त्यहाँबाट आसपासका स्थानमा पनि रोग फैलिन सक्ने भएकाले यसबाट सचेत हुन सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका सिनियर अहेव डिल्लीराम श्रेष्ठले सुझाए दिए । ‘यसका लागि जिल्ला जनस्वास्थले पनि सचेतनाका कार्यक्रम अगाडि सार्छ ।’– उनले भने । झिसमिसे साँझ  मिर्मिरे विहानीमा सक्रिय हुने एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोक्दा डेंगु भई उच्च ज्वरो आएर ज्यान समेत जानसक्ने खतराबाट बच्न लामखुट्टेको नियन्त्रण नै प्रमुख उपाय हुने उनले सुझाए । बुधबार मात्र, उर्लाबारीको मंगलबारे अस्पताल र त्यसको छिमेकी पथरी स्वास्थ्य चौकीमा संघ संस्थाका अगुवाहरुमाझ सचेतनाका कार्यक्रम भएको थियो । फ्याँकिएका टोक्री, टायरमा जमेको सफा पानीमा एडिस एजिप्टाई यसको लार्भा पाइने भएकाले त्यस्ता बस्तुमा पानी जम्न दिनु नहुने तथा घरमा रहेको गमला, कुलर सहितको सफा पानीमा पनि त्यसप्रकारको लामखुट्टे बस्ने हुँदा त्यस्ता बस्तुको पानी पनि फेरिरहनु पर्ने मंगलबारे अस्पतालका डा.राज झाले बताए । उनले २ जना शंकास्पद अवस्थाको विरामीको परीक्षण गर्दा डेंगु फेला नपरेको सुनाउँदै मोरङमा हालसम्म चाँही त्यसखाले समस्या नरहेको उल्लेख गरे । डेंगु परीक्षणका लागि आवश्यक सामग्रीका रुपमा रहेको कीट मंगलबारे अस्पतालमा १० वटा ल्याइएको छ । दमकमा स्वास्थ्यकर्मी, पत्रकार सहित १ सय २५ जनामा डेंगु रोग देखापरेको छ । त्यहाँ यसबेला भनें दैनिक डेंगुका विरामीको संख्याको अनुपात घट्दै गएको जिल्ला जनस्वास्थ्य झापाका भेक्टर कन्टेल जीवन चम्लागाईले बताए । उनले २३ जनाबाट १३ जना हुँदै बुधबार १२ जना मात्र विरामी थपिएको जनाए । ‘दैनिक विरामीको संख्या घटिरहेकाले यो नियन्त्रणका क्रममा रहेको छ । धेरैजसो अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।’– उनले भने ।  जिल्लाका सुरुङगा, विर्तामोड, काकडभिट्टा र भद्रपुर क्षेत्रमा पनि डेंगुको संक्रमण देखिन सक्ने भन्दै सतर्कता अपनाउँदै सचेत रहनका लागि गोष्ठी एवम् छलफल गरिने पनि उनले बताए ।  जिल्लाका लागि पछिल्लो पटक ४ सयवटा कीट आएको छ ।