chधरान/सद्भाव बढाउने पर्वको रुपमा विकसित हुँदै गएको छठ पहाड र मधेशलाई जोड्ने सेतु बनिरहेको छ । सूर्यको उपासना गर्दै मनाइने यो पर्व ४० को दशकको मध्यसम्म तराई केन्द्रित थियो तर त्यसपछिका वर्षहरुमा भने तलाउ र नदीकिनारहरुमा छठ पूजा गर्ने पहाडीहरुको बाहुल्यता पनि बाक्लिँदो छ ।रमा कार्की पनि तिनैमध्येकी एक हुन् । हुन त उनको परिवार मधेशको जनकपुरमै हुर्कियो । आमाहरुले व्रत नबसे पनि पूजा गर्थे तर आपूmले भने धरान आएपछि छठ मनाउन थालेको उनी बताउँछिन् । छठ परम्परामै हुर्किएकी कार्कीले छठ पूजा गर्न थालेकै दुई दशक नाघिसकेको छ ।

भन्छिन्, ‘२०–२५ वर्ष लागिसक्यो होला छठ मनाउन थालेको । भाकल पूरा भएर मनाउन थालेकी हुँ ।’यो पर्वको विशेषता नै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउँदै एकअर्काप्रति विश्वास जगाउनु रहेको छ । पारिवारिक सुखशान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्तिलगायतका मनोकाङ्क्षा राखेर सूर्यलाई अघ्र्य दिँदै पूजा गरिने पर्व हो, छठ । पछिल्लो समय धरानका नदी र तलाउ किनारमा छठी मैयाँको पूजा गर्नेहरुको लर्को लाग्ने गरेको छ । त्यसमा मधेशी समुदायको मात्रै हैन, पहाडी समुदायका व्रतालूहरु पनि उत्तिकै सहभागी हुने गरेका छन् ।कार्की भन्छिन्, ‘पहिला नेपाली (पहाडी) हरुले पूजा गर्दैनथे, अहिले गरिरहेका छन् ।’ धरानकी अनु श्रेष्ठ अर्की उदाहरण हुन् । उनी पनि १२ वर्षयता छठ पूजा गरिरहेकी छन् । फरक कति मात्रै भने उनी व्रत बस्दिनन् तर तलाउ वा नदीकिनार पुगेर धूपबत्ती बाल्नेसम्मको काम गर्छिन् । छठको महत्व बुझेर भन्दा पनि चिताएको कुरा पुग्ने विश्वासले छठी मैयाँको पूजा गरेको उनी बताउँछिन् ।

भन्छिन्, ‘व्रत बस्दिनँ, धूप बाल्ने काम गर्छु । रमाइलो लाग्छ ।’ मागेको कुरा पूरा भएकोले विश्वास लागेर पूजा गरेको उनको भनाइ छ ।२०६२÷०६३ को मधेश आन्दोलनले पहाडे र मधेशीबीचमा तीक्तता ल्याए पनि कालाकान्तरमा यस्तै सांस्कृतिक चाडहरुले जोड्ने काम गरिरहेको बुझाइ राख्छन् रामस्वरुप शर्मा । ‘मधेश आन्दोलनको बेला मधेशी र पहाडीबीचमा तीक्तता आएको थियो । त्यसलाई यो पर्वले धेरै हदसम्म कम गरेको भान भएको छ ।’ उनले भने । उनको बुझाइमा यो पर्व पछिल्लो समय समावेशी हुँदै गएको छ । सबैलाई यो पर्वले समेटेको उनी बताउँछन् । पहाडे मूलकाले पनि यो पर्व मनाउन थाल्नु मधेशका लागि राम्रो कुरा भएको शर्मा बताउँछन् ।केही अघिसम्म छठ पर्व मधेशी समुदायको मात्र भएको सोचाइ थियो तर अहिले यो बुझाइ तोडिँदै गएको छ । पछिल्लो ५–७ वर्षयता छठ पूजाले व्यापकता पाउन थालेको छ । धरानका सेउती र सर्दू किनार छठमा भरिभराउ हुने गरेका छन् । ‘५–७ वर्षयता यो पर्वले तराई र पहाडलाई वास्तवमै जोडेको देख्न सकिन्छ ।’ शर्मा भन्छन् ।अहिले छठ पूजा व्यवस्थापनका लागि समिति नै बन्ने गरेको छ । तीन दिनसम्म निराहार व्रत बसेर छठको पूजा गर्ने प्रचलन छ । षष्ठीका दिन अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा समापन गर्ने परम्परा रहेको छठ परम्पराबाटै हुर्किएका गोवद्र्धन साह बताउँछन् ।

उनका अनुसार पहिलो दिन व्रतीहरुले ‘नहा खा’ (नुहाएर खाने) गर्छन् भने दोस्रो दिन ‘खर्ना’ मनाउँछन् । खर्नाको रात छठी माताको व्रत बस्नेहरुले खीरलगायतका खानेकुरा खाँदै छठी मातालाई आगमनको निम्तो दिएर कुलदेवताको पूजा गरी निराहार व्रत बस्छन् । व्रतालुहरु छठी मैयाँको लोकगीत गाउँदै जलाशयमा निर्माण गरिएको घाटसम्म पुग्ने उनले बताए । त्यस बेला अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै आराधाना गर्ने चलन छ ।भोलिपल्ट बिहानै पुनः घाटमा पुगेर उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्वको समापन गर्ने चलन रहेको साहले बताए । उनका अनुसार यो पर्वले सम्पूर्ण धर्म, जाति र सम्प्रदायलाई जोडेको छ । ‘यो कुनै धर्मको पूजा होइन, सूर्यको पूजा हो । बुभ्mनेहरु जोसुकैले छठी मैयाँको पूजा गर्छन् ।’ साह भन्छन् ।

मधेशीहरुले मनाएको देख्दादेख्दै पछिल्लो समय पहाडीहरुले पनि मान्न थालेको बनारसी बाबु बताउँछन् । उनी भन्छन्, ‘चाडबाड सबैको हो । यसमा पहाडी र मधेशी भन्ने हुँदैन ।’सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रौपदीसहित पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्यपूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको एकथरी मत छ । सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनीकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको थालनी भएको अर्काथरीको भनाइ छ ।