पाँचकन्या/पूर्वमा बहुसांस्कृतिक देउसी नृत्य कार्यक्रमले मन छोएको छ ।फल्गुनन्द लाफायङ बहुभाषिक पाठशाला निर्माण सहयोगार्थ आयोजित नृत्यले सबैको मन छोएको हो । पूर्वका सुनसरी, झापा, मोरङ र इलामका विभिन्न स्थानमा देउसी कार्यक्रम भएको हो । धरानस्थित नवोदय उच्च माविको प्राङ्गण अगाडि र पानबारी बहुसांस्कृतिक देउसी कार्यक्रम सम्पन्न भएको छ ।
कलाकारहरुले केलाङ्, माङ्लाङ, सेल्लो, चण्डी, देउडा, सङ्गीनी लगायतका विभिन्न जातजातिका लोक सांस्कृतिक नृत्य र गीतहरु पस्केका थिए । धरानमा आयोजित कार्यक्रममा विजयपुर एफएमकी अध्यक्ष हिमाल राई प्रमुख अतिथि थिइन् भने ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्की, बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटे विशेष अतिथि थिए । कार्यक्रममा युनिभर्सल पिस फेडेरेशनका प्रतिनिधि, व्यवसायी, सामाजसेवी, वुद्धिजीवीहरुको उपस्थिति थियो । बहुभाषिक पाठशालाका संस्थापक अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार अनेकतामा एकताको सन्देश छर्न, संस्कार संस्कृति लोप हुन लागेकोले उत्थानका लागि र पाठशाला निर्माणका लागि बहुसांस्कृतिक देउसी नृत्य पस्किएको बताए ।
‘भाषा हराए लिपी हराउँछ, लिपी हराए जाति हराउँछ, जाति हराए इतिहास हराउँछ , इतिहास हराए आफू हराउँछ’ भन्ने नाराका साथ पस्किएको बहुसांस्कृति नृत्यले पूर्वका जनताको मन जितेको बताए । यस्तै, मोरङको लेटाङमा पनि बहुसांस्कृतिक देउसी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ लेटाङ भोगेटेनी नगरपालिकाका पूर्व अध्यक्ष हिक्मत खड्का प्रमुख अतिथि थिए । पूर्व अध्यक्ष खड्काले अहिलेका युवाहरु जुवातासमा व्यस्त बन्दै गएको बताउँदै पाठशालाका सबै युवाहरुले यस्तो प्रतिभा पस्किनु गौरव विषय भएको बताए ।
‘उहाँहरुले नेपालीहरुको मौलिक संस्कार संस्कृति जगेर्ना गर्ने अभियानमा लाग्नुभएकोमा गर्व लागेको छ’, उनले भने । यस्तै, इटहरीमा पनि यस्तै कार्यक्रम भएको छ । समाजसेवी उद्यमी गोर्खा डिपार्टमेण्ट स्टोरका प्रबन्धक निर्देशक बलराम आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विक्रम श्रि, प्रेम तुम्बापो, पुस्कर थापा, पूर्व मेयर सर्वध्वज साँवा, प्राध्यापक ध्रुवकुमार मेन्याङ्बोलगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै विक्रम श्रिले अतुलनीय प्रतिभा र अनुकरणीय बहुसांस्कृति नृत्य पस्केको बताए । चतरामा पनि बहुसांस्कृतिक नृत्य देखाइएको छ ।
किरात हाङसाम माङखी चतराका अध्यक्ष धनबहादुर राईले अहिलेसम्मकै उत्कृष्ट नृत्य पस्किएकोमा धन्यवाद ज्ञापन गरे । राष्ट्रिय गानबाट सुरु भएको नृत्यमा कोही पूर्व, कोही पश्चिम घर बोलको स्वदेशगानदेखि पूर्वका लोकभाका, पश्चिमी संस्कारसंस्कृति झल्किने नृत्यहरु पनि प्रस्तुत भएको थियो । कार्यक्रमको सञ्चालन बलिभद्र कोइरालाले गरेका थिए भने कोरियोग्राफर दिनेश माङमु र प्रितम सम्वाहाम्फले गरेका थिए ।
पाठशालाका संस्थापक अध्यक्ष तुम्वापोका अनुसार यसपटकको कार्यक्रमबाट पाठशाला निर्माणका लागि करिब ६ लाख सङ्कलन भएको छ । उनका अनुसार १० हजारभन्दा माथि सहयोग गर्नेलाई शिलालेखमा लिपीबद्ध गरिने बताए । आउँदो मङ्सिर १० गते हुने वार्षिकोत्सव कार्यक्रममा उनीहरुलाई प्रशंसापत्रले सम्मान गर्ने कार्यक्रम राखिएको उनले बताए । उनले अब तत्कालै पाठशालाका लागि भवन निर्माण कार्यलाई अघि बढाइने जानकारी दिए ।