denguविजयपुर/एक विशेष प्रजातिका लामखुट्टेको टोकाइबाट हुने डेंगूको सङ्क्रमण पैmलन थालेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । सावधानी अपनाउँदा यसको सङ्क्रमणबाट जोगिन सकिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा डेंगूका बिरामी आउने गरेका भए पनि धरानमै भने सङ्क्रमण देखिएको थिएन तर बिहीबार धरान–१६ की १३ वर्षीया बालिका जिना राईमा डेंगूको सङ्क्रमण पाइएको थियो ।

पछिल्लो एक महिनायता पूर्वी नेपालका विभिन्न शहरहरुमा डेंगू तीव्र रुपले देखिन थालेको छ । ‘भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई जातका पोथी लामखुट्टेको टोकाइबाट यो रोग देखिन्छ ।’ बीपी प्रतिष्ठानका चिकित्सक डा. अरुणकुमार सिंह बताउँछन् । सिंहले डेंगूबारे प्रष्ट्याउँदै भने, ‘डेंगू रोग मानिसबाट मानिसमा सोभैm सर्दैन र सबै खालका लामखुट्टेले पनि यसलाई सार्दैन । डेंगू ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज) मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ ।’ डेंगू ज्वरोका रोगीको रगत अरुलाई चढाउँदा र अङ्ग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना हुने उनले बताए ।यसको सङ्क्रमण ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइन्छ ।

डेंगू भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन् । समयमा उपचार हुन सकेन भने बिरामीको ज्यान पनि जान सक्ने डा सिंहले बताए ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारीअनुसार गत साउनयता मात्रै देशभरमा ५ सय ८५ जना डेंगूबाट ग्रसित भएका छन् । पूर्वी नेपालमा पनि डेंगूको सङ्क्रमण बढ्दै जान थालेको छ तर कुनै पनि निकायसँग यसको आधिकारिक तथ्याङ्क भने छैन ।

अहिले झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरीलगायतका जिल्लामा डेंगूको सङ्क्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगू नियन्त्रणको प्रयास भइरहेको जनाएको छ । बीपी प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक प्राडा पशुपति चौधरीले लामखुट्टेको टोकाइबाट जोगिन सामान्य लक्षण देखिनासाथ तुरुन्त नजीकको स्वास्थ्य केन्द्रमा जान सर्वसाधरणलाई अनुरोध गरेका छन् ।