डाडाबजार (धनकुटा)/सिचाई अभावका बीच धनकुटा डाँडाबजारका ३९ वर्षीय महेन्द्र घिमिरे मनग्यै तरकारी फलाउने कृषकमा दरिन्छन् । [caption id="attachment_19161" align="alignnone" width="1024"]mahendra copy आफ्नो बारीमा फलेको बन्दाकोपीको पात टिप्दै घिमिरे । तस्बिरःब्लाष्ट/भोजराज[/caption] सिचाई अभावका कारण आठ महिना मात्रै उनी तरकारी खेतीमा तल्लिन हुन्छन् । दुई पटक बैदेशिक रोजगारीका लागि मलेसिया पुगे । पहिलो पटक सन् २००१ मा मलेसिया पुगेका उनी साढे ३ वर्षमा जेनतेन ऋण तिरोभरो मात्रै गरे । फेरि सन् २००७ मा गएका उनी करिव साढे ४ वर्ष बसेर फर्किएपछि कमाएको पैसाले घर र केही जग्गा बन्दकी लगाए । अहिले त्यही बन्दकी लगाएको खेतमा उनी तरकारी खेती गर्ने गरेका छन् । त्यसो त परम्परागत तरकारी खेती थालेको वर्षौं भइसक्यो । परम्परागत खेतिले खासै मुनाफा दिएको थिएन् । जव विदेशबाट फर्किए । त्यसपछि व्यवसायिक तरकारी खेति थालौं न त भनेर खेति थालेको पनि ४ वर्ष बढी वितिसकेको छ । डाँडाबजारमा सिचाईको अभाव छ । तर, पनि उनी आठ महिना तरकारी बालीको लागि तल्लिन हुन्छन् । उनले ५ रोपनी खेतमा फूलकोपी, बन्दाकोपी, हरियो मटर, धनिया खेती गर्ने गरेका छन् । त्यसबाट उनी वार्षिक ३ लाखको हाराहारीमा आम्दानी गर्छन् । विदेश जानु अघिसम्म बारीमा मकै, कोदो, मूला लगाउने चलन रहेको उनी बताउँछन् । तर, जव उनी फर्किए । त्यसपछि वर्षेनी मूलासँगै बन्दाकोपी, फूलकोपी, हरियो मटर र धनियाको खेती गर्ने गरेका छन् । यसवर्ष ३० क्विन्टल कोपी, २५ क्विन्टल मूला उत्पादन गरेको बताउँछन् । ‘गतवर्ष जस्तो यसपटक सिजन भएन् । कोपी मात्रै ६०–७० क्विन्टल उत्पादन गरिएको थियो ।’ उनी भन्छन् । बाटोघाटोको सुविधा हुन थालेपछि नगदेबालीमा डाडाबजार प्रख्यात हुँदै गएको छ । त्यसैको फाइदा लिन उनी तरकारी खेतीमा लागेको बताउँछन् । एकवर्षदेखि घरमै पसलसमेत सञ्चालनमा ल्याएका छन् । पसल श्रीमतीले हेर्छिन् । उनी खेतीमा तल्लिन हुन्छन् । बाख्रा, गाईसमेत पालेका छन् । बाख्राबाट पनि वार्षिक ६०–७० हजार रुपैया आम्दानी लिन्छन् । ‘सुख्खा सुरु भएपछि बाख्रापालनमा ध्यान दिइन्छ ।’ उनी भन्छन् । गाउँमै बसेर पौरख गर्न रुचाउने घिमिरेलाई पहिले पनि विदेश जान मन लागेको त कहाँ हो र । तर, बाध्यता आइलागेपछि घरमा ऋण लागेपछि साथीभाइको लहैलहैमा विदेश हानिए । कमाई पनि लोभलाग्दो नभएकैले होला । उनी अहिले विदेशको कुरै गर्न चाहादैनन् । भन्छन्, ‘उता जति कमाइन्छ । यता पनि त्यति कमाईहालिन्छ । खटाई उस्तै हो । अझ यहाँ कम खटाई हुन्छ । परिवारको साथ हुन्छ ।’ उनले परिवारसँग बसेर अढाई तीनलाख रुपैया वार्षिक कमाई भइरहेकाले सन्तुष्ट रहेको बताए । उनलाई चिन्ता सिचाईको मात्रै छ । आकाशेभरको खेतीका कारण कुनै वर्ष उत्पादन बढ्छ कुनै बर्ष घट्छ । सिचाई भइदिने हो भने फल्नलाई जे पनि फल्ने उनी बताउँछन् । र, निरन्तर सिचाई हुँदा एकनासले उत्पादन गर्न सकिनेमा उनी ढुक्क छन् । तर, त्यसका लागि राज्यले नै सिचाईको व्यवस्था नगरेसम्म डाँडाबजारमा सिचाईको सम्भावना न्युन छ । भन्छन्, ‘खानेपानी त लिफ्टिङ गरेर खानु पर्छ । सिचाईको त कुनै नगरौं । यसका लागि राज्य नै अघि सर्नुपर्छ ।’ उनी भरपर्दो बजारको नभएकोमा चिन्तित छन् । ढुवानीको लागि समस्या छ । उत्पादन गरेको सामग्री धरानसम्म पुर्याउनको लागि चर्को मूल्य तिरेर लानु पर्ने बाध्यता त एकातिर छदैछ । अर्कोतिर कृषकहरुले आफ्नो मूल्य नपाउँदा दोहोरो मारमा परिने गरेको उनी बताउँछन् । ‘किशानले उचित मूल्य पाइदैन्, व्यपारीहरुको भरमा हामी परिरहेका छौं ।’ उनी दुखेसो गर्छन्, ‘उनीहरुको मोलमोलाइमा चल्नुपर्छ । यति मूल्य दिन्छु हैन भने छाड्दे भन्दै भन्छन् ।’ उन्नत जातको विउविजन नपाइने उस्तै समस्या भएको उनी बताउँछन् । ‘राम्रो खाल्को विउविजन भइदिए हुन्थ्यो ।’ उनी थप्छन् । राज्यले कृषकहरुको लागि उन्नत जातको विउविजनको व्यवस्था नगरिदिएसम्म कृषकहरुको एकोहोरो मेहनतले मात्रै केही हुन नसक्ने उनको बिचार छ । भन्छन्, ‘कृषकले त राम्रो उत्पादन होस् भनेर मरुञ्जेल दुःख गरेका हुन्छन् । तर, विउ राम्रो परिदिएन भने उत्पादन सोत्तर हुन्छ ।’ राज्यप्रति उनको एउटै अपेक्षा छ, सिचाई र उन्नत जातको विउविजन । यो कार्यमा राज्य लाग्ने हो भने डाँडाबजार तरकारीको भण्डार बन्न सक्नेमा दुईमत नरहेको उनी बताउँछन् । र, अर्को व्यापारीहरुको सिण्डिकेटलाई तोड्नका लागि राज्यका निकायहरु नै लाग्नु पर्ने उनी बताउँछन् । यि दुई तिन कुरामा राज्यको ध्यान जाने हो भने डाँडाबजारबासी मात्रै हैन, देशमा कृषि क्रान्ति हुनेमा उनी विश्वस्त छन् ।