चतरा/धार्मिक क्षेत्र वराहक्षेत्रमा वर्षेनी लाग्ने मेलामध्ये हरिबोधनी एकादशी ‘कात्तिके’ मेला यस वर्ष पनि धुमधामका साथ सम्पन्न भएको छ ।गत बिहीबार शुरू भएको धार्मिक मेलामा एकादशीदेखि तेस्रो दिनसम्म तीर्थालुको भीड खासै नदेखिए पनि चतुर्दशीको दिन भने तीर्थालुको चाप एक्कासी बढेको हो । मेलामा विशेष गरी छिमेकी भारत, भुटानलगायतका स्थानबाट डेढ लाखभन्दा बढी तीर्थालुको आगमन भएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष नरबहादुर राईले बताए । आन्तरिक भक्तजनको पनि उत्तिकै उपस्थिति रहेको उनले बताए । ‘बन्दको असर पर्छ कि जस्तो लागेको थियो तर बन्दले कुनै असर परेन’, अध्यक्ष राईले भने, ‘धार्मिक आस्थालाई केहीले छेक्दैन रहेछ, सोचेभन्दा बढी नै सङ्ख्यामा उपस्थिति भयो ।’
हिन्दू धर्मावलम्बीका पवित्र चार धाममा पर्ने वराहक्षेत्र धाममा हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म स्नान गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।सवारी साधन व्यवस्थापनमा भने हम्मेहम्मे परेको सुरक्षामा खटिएकाहरूले बताए । गाडीहरू आउने र जाने उत्तिकै भएकाले केही सहज भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाट खटिएका असइ गोविन्दबहादुर कार्कीले जनाए । उनले भने, ‘मेलामा आएका सबै सवारी साधनहरू एक दिन मात्र बस्नुपर्ने अवस्था भएको भए व्यवस्थापन गर्न गाह्रो पथ्र्यो ।’वर्षेनी आधा दर्जनभन्दा बढी मेला लाग्ने यो धार्मिक क्षेत्रमा लाखौँ सवारी साधन आउने भए पनि यो क्षेत्र अभैm बसपार्कविहीन छ जसको कारण यातायात व्यवसायी र यात्रु दुवै सास्ती व्यहोर्न बाध्य छन् । बृहत्तर वराहक्षेत्र विकास समितिको व्यवस्थापनमा सम्पन्न मेलामा तीर्थालुहरूको सुविधाका लागि प्राथमिक उपचारदेखि खानेपानी, शौचालय, सुरक्षालगायत सम्पूर्ण व्यवस्था मिलाइएको समितिका अध्यक्ष विष्णु भट्टराईले जनाए । मेला अवधिभर कुनै पनि अप्रिय घटना नभएको चतराको इलाका प्रहरी कार्यालयका प्रमुख सइ रामदेव चौधरीले बताए ।
तीर्थालुहरू किन आउ छन् यहा ? वराहक्षेत्र मन्दिरका प्रमुख पुजारी किरण भण्डारीका अनुसार हरिशयनी एकादशीका दिन शयन गर्ने नारयण भगवान् हरिबोधनी एकादशीका दिन जागा हुने साथै कोकाहा–कौशिकी सङ्गममा स्नान गरी गरूडमा बसेर वराहमा आई एकादशीदेखि पूर्णिमासम्म मन्दिरमा मूर्तिका रूपमा प्रतिष्ठित हुने विश्वास रहिआएको छ । यो मेला कुन समयदेखि शुरू भयो भनेर भन्न नसकिए पनि किरातकालीन इतिहासको आधारमा दोस्रो किराँती राजाले यस क्षेत्रमा यस मेलामा स्नान गर्न जाने तीर्थालुहरूले कुनै दुःखकष्ट व्यहोर्नु नपरोस् भनेर आफ्ना सैनिकहरूलाई खटाएको र मेलालाई सुव्यवस्थित गर्दै लगेको बूढापाकाहरूले बताउँछन् । पुराणअनुसार कोकाहा–कौशिकी सङ्गम स्नान र वराह भगवान्को दर्शन जीवात्मालाई सहजै मुक्ति दिलाउने साधन हुन् । पुजारी भण्डारीले भने, ‘सङ्गमको जल वराह भगवान्लाई चढाउने भक्तले कहिल्यै नरक हेर्नु पर्दैन भनेर वराह पुराणमा उल्लेख छ ।’ कोकाहा मुख (कोकाहा–कौशिकी सङ्गम) क्षेत्र वराहक्षेत्रको दर्शन गर्दै कोकाहको जल पितृलाई अर्पण गर्नाले जस्तोसुकै अगतिमा परेका पितृहरूको निश्चित उद्धार हुनेछ ठोकुवा स्कन्द पुराणमा गरिएको पुजारी भण्डारीले बताए ।