चतरा/प्राचीन तथा ऐतिहासिक महत्व बोकेको औलिया बाबाधाम अहिले संरक्षणको पर्खाइमा छ ।संरक्षण र संवद्र्धनको अभावमा मठ दिन प्रतिदिन जीर्ण बन्दै गएको अवस्थामा स्थानीय निकायहरू नै मौन रहँदा औलिया बाबाधामको दुर्दशा हुन पुगेको हो । औलिया बाबाधाम गुठी संस्थानको नाममा रहे पनि गुठीले यसको संरक्षण र संवद्र्धनमा खासै चासो नदिएको स्थानीय बताउँछन् ।
औलिया बाबा मठभित्र रहेका पुरातात्विक र ऐतिहासिक वस्तुको संरक्षण नभएकाले ती वस्तुहरू काम नलाग्ने अवस्थामा पुगेका छन् ।कुनै बेला औलिया बाबाको मठमा भक्तजनहरूको घुइँचो लाग्ने गरेको भए पनि यसको प्रचारप्रसार र जीर्णोद्धार नहुँदा भक्तजनहरूको उपस्थिति न्यून हुँदै गएको छ । औलिया बाबा मठ परिसरभित्र आजभोलि स्थानीयका गाईवस्तु र बाख्रापाठाहरू चरेको देख्न सकिन्छ । दुई वर्षअगाडि मात्रै सुनसरी मोरङ सिँचाइ आयोजनाले आफ्नो जमीनको भागमा पर्खाल रहेको भन्दै परिसरको दक्षिणपट्टिको पर्खाल भत्काइदिएपछि मठ झनै स्थानीयको गोठ बनेको छ ।
वार्षिक रूपमा थुप्रै धार्मिक मेलाहरू वराहक्षेत्रमा लाग्ने गरे पनि औलिया बाबाधामका रूपमा परिचित औलिया मठ परिसरभित्र कुनै धार्मिक मेला देख्न सकिन्न । यसको विकासमा न त औलिया मठका पदाधिकारीहरूले नै चासो दिएका छन्, न गुठी संस्थानले नै विकासमा चासो दिएको छ । विभिन्न समयमा गुठी संस्थानले ऐतिहासिक र पुरातात्विक मठमन्दिर, पाटीपौवाको संरक्षण र प्रचारप्रसारमा कार्यक्रमहरू गरे पनि औलिया बाबाधामका लागि केही गर्न नसकेकोमा स्थानीय गुनासो गर्छन् । औलिया मठभित्र दरिलो आर्थिक स्रोत भए पनि यसको समुचित प्रयोग नहुँदा मठको उचित व्यवस्थापन र संरक्षण हुन सकेको छैन ।
ऐतिहासिक र पुरातात्विक क्षेत्रका रूपमा स्थापित औलिया मठको सबैले संरक्षण गर्नु जरूरी रहेको स्थानीय युवक अमित साह बताउँछन् ।औलिया गुठीको नाममा रहेको झण्डै १५÷१६ सय बिघा जग्गाजमीन सुनसरी, सप्तरी, उदयपुर, मोरङ, सिरहालगायतका स्थानमा रहे पनि त्यसका सबै आम्दानी संस्थानले लाने गरेको औलिया बाबा गुठीका महन्थ मुकुन्द भारतीले जानकारी दिए । बेलाबेलामा पुराना आँपका रूखहरू मन्दिर परिसरमा ढल्ने गरेको छ ।त्यसरी लडेका आँपका रूखहरूलाई औलिया गुठीले नै स्थानीयलाई मन्दिर सरसफाइ तथा रङ्गरोगन गरिदिने शर्तमा दिँदै आएको छ ।
आँपका रूखमा पलाएको बहुमूल्य जडीबुटी सुनाखरीको जात पहिचान गरी संरक्षण र प्रशोधन गर्न सके राम्रो आर्थिक स्रोत हुनसक्ने स्थानीयहरू बताउँछन् । औलिया मन्दिर परिसरको रेखदेख र पूजापाठका लागि भनेर पुजारीसहित तीनजना कर्मचारी खटाइएको भए पनि कर्मचारीको न्यून तलब सुविधाले उनीहरूसमेत काम गर्न उदासीन देखिएका छन् ।