बदलिरहेको मौसममा बालबालिकाहरुको स्वास्थ्यको शत्रु रुघाखोकी हो । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी र इमर्जेन्सी कक्षमा आजभोलि दिनहुँ रुघाखोकीका बिरामीहरु आउने गरेका छन् । बदलिँदो मौसमका साथ बच्चामा शारीरिक समस्याहरु बढ्छन् । चिसोले ढोका ढकढक्याइसकेको छ । यी दिनहरुको असर रुघाखोकीका रुपमा घरघरमा देखिन लागेको छ । केही बालबालिकामा नाक बन्द हुने समस्या देखिन थाल्छ, केहीका नाकबाट पानी बग्न थाल्छ र केहीलाई त रुघा पनि लाग्छ भने केहीलाई ज्वरोले पनि सताइहाल्छ ।हरेकपटक मौसम बदलिनेबित्तिकै साधारण समस्याले ती बालबालिकालाई सताउँछ, जुन बालबालिकाको रोगप्रतिरोधक शक्ति कमजोर हुन्छ ।
रुघाखोकी यस्ता साधारण समस्याहरु हुन् जसले सबैलाई दुःख दिइरहेको हुन्छ । लापरवाहीको कारणले अनेक रोग लाग्न थाल्छन् । चिसो र खोकी, भाइरल, ब्याक्टेरियाहरुलाई बढ्न चिसो वातावरण र कम भएको तापमान एक खास माध्यम बनेको हुन्छ । मौसममा हुने परिवर्तनलाई हेरेर विशेष सतर्कता अपनाउनु जरुरी छ । साना बच्चाहरुमा रुघाखोकीका साथै निमोनियाको समस्या सम्भव हुन सक्छ । सबैभन्दा जरुरी चिसो हावाबाट जोगिनु हो, बच्चाहरुमा निमोनिया पनि हुन सक्छ ।तपाईंको प्यारो बच्चा जब बिरामी हुन्छ, बालबालिका कहिले बिरामी भयो भनेर पत्ता लगाउन प्रायः आमाबुबालाई मुश्किल हुने गर्छ । झन् शिशु बिचारा त आप्mनो कठिनाइ बताउन पनि सक्दैन । यसैले तपाईंले बिरामीको लक्षण र केही जानकारी हासिल गर्नुपर्छ । सर्दी र रुघाको चिरपरिचित लक्षण घाँटीमा खसखस र नाकबाट पानी बग्नु हो । यस्तो अवस्थो रेस्पिरेटरी सिनसिटिअल भाइरसको कारण पैदा हुन्छ, जसलाई बर्कोलायिट्स भनिन्छ । यसमा एन्टीबायोटिक औषधिहरुको असर नै पर्दैन । यसैले स्वयम् शरीरको प्रतिरक्षातन्त्र प्रणाली त्यस भाइरससँग लड्न योग्य नभएसम्म औषधिहरुले केही गर्न सक्दैन । साना शिशुहरुलाई चिसो र रुघाबाट धेरै हैरानी वास्तवमा नाक बन्द हुनुबाट शुरु हुन्छ किनकि यस्तोमा दूध खाँदा वा सुत्दा सास लिन मुश्किल हुन थाल्छ । डाक्टरसँग शिशुको बन्द नाक खोल्ने तरिका सिकिहाल्नुपर्छ ताकि तपाईंको शिशुले कम्तीमा सजिलैसँग सास लिन सकोस् ।उल्टी हुने, ज्वरो आउने वा भोक नलाग्ने समस्या पनि छ भने यसले शरीरको पानी सकिन लाग्छ, जुन ज्यान लिनेसम्मको पनि हुन सक्छ ।
यदि निमोनिया छ भने एन्टीबायोटिक औषधिहरु प्रयोग गर्नुपर्छ । छाती घ्यारघ्यार भए डाक्टरसँग सल्लाह लिएर वाफ लिनुपर्ने हुन्छ ।बदलिँदो मौसमसँगै तराईका धेरैजसो ठाउँ (जस्तै ः जनकपुर, सिरहा, राजविराज, वीरगञ्ज, भरतपुर, विराटनगर, धरान आदि) मा लामखुट्टेको प्रभाव बढ्दै गइरहेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा मलेरिया, डेङ्गी, चिकेनगोनियाका रोगी बालबालिका पनि आउने गरेका छन् । हुन त लामखुट्टे २० देखि ३० डिग्री सेल्सियस तापक्रममा बढी सक्रिय हुन्छ । धरानमा डेङ्गुपीडित ३५ जनाको उपचार भएको छ ।
बीपी प्रतिष्ठानमा अघिल्लो साता धरान–१६ की १३ वर्षीया जिना राईमा डेङ्गु देखिएपछि भर्ना गरिएको थियो । उपचारपछि निको भएर उनी घर गइसकेकी छन् । त्यस्तै भरतपुरमा त डेङ्गीबाट दुईजनाको ज्यान नै गइसकेको समाचार हामी सबैलाई अवगत नै छ । डेङ्गीबाट जोगिन लामखुट्टेका वासस्थानहरू नष्ट गर्नुपर्छ र लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावश्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा सकेसम्म शरीरका धेरै भाग ढाक्ने कपडा लगाउने गर्न सकिन्छ । बदलिरहेको मौसममा यदि तपाईंका बालबालिकामा कुनै समस्या भएमा समयमै डाक्टरको सल्लाह लिनुपर्छ । (लेखक धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत् बालरोग विशेषज्ञ हुन् ।)