धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुविधासम्पन्न र सेवा प्रवाह बिस्तार गर्ने काममा प्रतिष्ठानकै विभागीय प्रमुखहरुले असहयोग गर्ने गरेको पाइएको छ ।प्रतिष्ठानको सेवा प्रवाहमा सबैभन्दा बढी आलोचित रेडियोलोजी विभागकै कारण विभिन्न परीक्षण गर्न आवश्यक उपकरण ल्याउन नसकेको प्रतिष्ठान प्रशासनका कर्मचारीहरु बताउँछन् ।

bp

उनीहरुले घाटामा रहेको प्रतिष्ठान मुनाफामा गएपनि सो विभागको सेवा प्रवाह भने जहाँको त्यहीं रहेको जानकारी दिएका छन् ।नयाँ उपकरण भियाउँदा हुने कमिशनको खेल र बाहिर परीक्षणका लागि पठाउँदा निजी स्वास्थ्य संस्थाबाट पाइने कमिशनको लोभका कारण लामो समययता रेडियोलोजी विभाग सम्हालिरहेका डा. राजकुमार रौनियारसहितका पदाधिकारीले गर्दा विभाग निकम्मा बनेर सेवा प्रवाह चुस्त हुन नसकेको विभागमै कार्यरत् एक कर्मचारीले बताएका छन् ।उनले सेवा प्रवाह चुस्त नबनाएर सेवाग्राहीलाई झन्झट र दुःख दिने काम गरिएको जिकीर गर्दै थपे, ‘झन्झटिलो हुँदा बिरामी परीक्षणका लागि निजी स्वास्थ्य संस्थामा पठाउँदा पाइँदै आएको कमिशन गुम्छ भनेर नयाँ उपकरण भियाउन न त विभागले प्रयास नै गर्छ न त प्रतिष्ठान पदाधिकारीले थालेको प्रयासमा सहयोग नै गर्छ ।’

सामान्यतया एक्सरेको रिपोर्ट केही घण्टामै तयार हुन्छ, तर पनि लामो समयपछि मात्रै सेवाग्राहीलाई वितरण गर्ने गरिएको उनी बताउँछन् । एक्सरे त उदाहरण मात्रै हो, अन्य परीक्षणमा समेत त्यस्तै गरिने भएकाले सेवाग्राहीले छिटो सेवा लिन निजी स्वास्थ्य संस्था जाने गरेपनि त्यस्तो प्रवृत्ति रोक्न विभागले केही प्रयास नगरेको ती कर्मचारीको भनाइ छ । सबैभन्दा बढी मुनाफाको सम्भावना बोकेको रेडियोलोजी विभाग र प्रयोगशालालाई लथालिङ्ग बनाएर बाहिर निजी स्वास्थ्य संस्थामा पठाएर कशिसन खान पल्किएकाले नै सो विभागको सेवा आधुनिक र चुस्त बनाउन नसकिएको प्रतिष्ठान प्रशासनका कर्मचारीको भनाइ छ ।

यसरी प्रतिष्ठान नै डुबाउन लाग्ने विभागीय प्रमुखहरुलाई किन कारवाही गरिँदैन भन्ने प्रश्नमा कारवाही गर्न खोजे राजनीतिक दलको आडमा उल्टै दुःख दिइने उनीहरु बताउँछन् ।लाखौं व्यक्तिको उपचार हुने संस्थालाई आधुनिक र चुस्त सेवा दिने कुरामा धरानमा बसेर जनताको लागि भन्दै राजनीति गर्नेहरु चुँ सम्म पनि नबोल्नु झन् बिडम्वना भएको उनीहरुको गुनासो छ । एक कर्मचारी भन्छन्, ‘मेरो बिरामीलाई निःशुल्क उपचार गराइदे, छिटो गरीदे र मेरो मान्छेलाई जागिर लगाइदे भनेर सिफारिस गर्न आउन बाहेक कुनै दलका कुनैपनि नेता सेवालाई आधुनिक र चुस्त बनाऊ भनेर दबाव दिन आएको मेरो सम्झनामा छैन ।’

नेताहरुका विषयमा थप स्पष्ट पार्दै उनी भन्छन्, ‘अहिले प्रतिष्ठानभित्र सुरक्षा व्यवस्था सम्हालिरहेको केटीएम सेक्युरिटीमा कार्यरत् दुई मजदुरलाई हटाउने र राख्ने विषयमा दैनिक आएर आप्mनो दलनिकटका पदाधिकारीलाई दबाव दिइरहेका छन्, तर उनीहरु यो विभाग या त यो सेवालाई व्यवस्थित र चुस्त बनाऊ भनेर भन्न कुनै दिन आउँदैनन् ।’ प्रतिष्ठानले करीब दुई महिनाअघि अति आवश्यक एमआरआई मेसिन एक थान र अल्ट्रासाउण्ड मेसिन दुई थान खरिदका लागि खुल्ला प्रतिस्पर्धाका आधारमा टेन्डर आह्वान गरेको थियो ।

मेसिन उपलब्ध गराउन चाहनेहरुमध्ये छानिएको कम्पनीको उपकरण खरिदका लागि सम्बन्धित विभागको राय मागिएको थियो । एक साताको समयभित्र राय पठाउन भनेर प्रतिष्ठान प्रशासनले विभागको राय मागेपनि विभागीय प्रमुख डा. रौनियारले नियमबमोजिम राय नपठाएर खरिद प्रक्रिया रोकिदिएको रेडियोलोजी विभाग स्रोतले जानकारी दिएको छ ।सो विषयमा विभाग प्रमुख डा. रौनियारसँग जिज्ञासा राख्दा उनले राय पठाउन ढिलो भएको स्वीकार गरे । उनले आपूm दुई साता बिदामा बसेका कारण ढिलो भएको जिकीर समेत गरेका छन् । तर ६ साता ढिलो भएको छ नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘किन हतार गर्नु, अन्य टेण्डरमा महिनौं लागेको उदाहरण छ, मेरोमा चाहिँ किन मलाईमात्रै ढिलो गरिस् भनेर सोध्नु हुन्छ ?’

उता प्रतिष्ठानका उपकूलपति डा. बीपी दासलाई बिरामीका लागि अति आवश्यक उपकरण खरिद प्रक्रिया किन रोकियो भनेर सोधिएको प्रश्नमा सम्बन्धित विभागले तोकिएको समयमा राय नदिएकाले खरिद प्रक्रिया अवरुद्ध बनेको बताए । तोकिएको समय र नियमबमोजिम काम नगर्नेलाई कारवाहीको दायरामा किन ल्याइन्न भन्ने प्रश्नमा उनले आपूmले तत्काल नै विभागीय प्रमुख डाकेर खरिद प्रक्रिया अघि बढाउने बताएका छन् ।